नेपाली कांग्रेसकी नेत्री सरिता प्रसाईंले पार्टीको क्रियाशील सदस्य रहेका व्यक्तिहरूले नै निर्वाचनमा घात गरेको बताएकी छन्।
झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा पराजित प्रसाईंले आफूलाई पार्टीले सर्वसम्मत टिकट दिएको र चुनावको समयमा हरेक वडामा सयौं कार्यकर्ता परिचालित हुँदा पनि परिणाम आउँदा क्रियाशील सदस्यको संख्याभन्दा कम मत पाउनुले पार्टीभित्रको चरम अन्तर्घातलाई पुष्टि गरेको बताइन्।
चुनावको भोलिपल्टै कांग्रेसका सक्रिय सदस्यहरूले नै अन्य दलका नेतालाई माला लगाएर सामाजिक सञ्जालमा तस्बिर राखेको प्रमाण आफूसँग सुरक्षित रहेको भन्दै उनले यस्ता व्यक्तिहरू नै अहिले पुनः क्रियाशील सदस्यता नवीकरण गर्न तँछाडमछाड गरिरहेकोमा नेतृत्वलाई सचेत गराइन्।
पार्टीका महामन्त्री गगन थापा र अन्य शीर्ष नेताहरू सहभागी कार्यक्रममा प्रसाईंले क्रियाशील सदस्यता नवीकरणको अवधिलाई लिएर पनि प्रश्न उठाइन्।
उनले भनिन्, ‘कांग्रेस गरिब, धनी सबैको पार्टी हो, तर अहिले पार्टीभित्रको असहयोगले गर्दा सिनियर नेताहरू समेत बोल्न नसक्ने अवस्थामा पुगेका छन्।’
विगतमा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच बोलचाल नहुँदा आफूहरू जस्ता तरुण कार्यकर्ताले नेताहरूलाई एक ठाउँमा ल्याएर पार्टी बचाएको स्मरण गराउँदै उनले अहिलेको युवा नेतृत्वलाई पनि पार्टी एकढिक्का बनाउने जिम्मेवारी पूरा गर्न आग्रह गरिन्।
सोही कार्यक्रममा उदयपुर क्षेत्र नम्बर १ बाट पराजित नेता बिदुर बस्नेतले पनि निर्वाचनको निर्मम समीक्षा गर्दै कांग्रेसको संगठन एमाले र अन्य दलको भन्दा बलियो हुँदाहुँदै पनि हार व्यहोर्नुपरेको पीडा सुनाए। चार पटकसम्म लगातार जितेको क्षेत्रमा यसपटक रास्वपा जस्ता नयाँ शक्तिहरूको प्रभावलाई अन्तिम समयसम्म पनि आकलन गर्न नसक्नु कमजोरी रहेको उनको ठम्याइ थियो।
प्रशासन, सेना र गुप्तचर सबैले कांग्रेसले जित्ने रिपोर्ट दिइरहँदा मतदाताले भने भित्रभित्रै ‘मौन’ रूपमा मत बदलिसकेको कुरा आफूहरूले पत्तै नपाएको बताए। अब संगठन सुधारेर मात्र नभई पार्टीको नीति र नेतृत्वको कार्यशैलीमै परिवर्तन नगरे आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन असम्भव हुने दुवै नेताको साझा निष्कर्ष थियो।
Shares

प्रतिक्रिया