कोसी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले)का प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले प्रदेश सरकारलाई अधुरा योजनाहरू सम्पन्न गर्ने दिशामा गम्भीर बन्न र विपद् व्यवस्थापनमा सक्रियता देखाउन सुझाव दिएका छन्।
सोमबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लामो समयदेखि अधुरा रहेका आयोजनाहरू समयमै सम्पन्न नहुँदा राज्यको लगानीले उचित परिणाम दिन नसकेको उल्लेख गरे। उनले आगामी वर्षहरूमा सालवसाली योजनाहरूको बोझ नरहने गरी सतर्कतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराए।
निर्माण कार्यको सन्दर्भमा बोल्दै सांसद भण्डारीले हाल देखिएको इन्धन अभावका कारण बहुवर्षीय आयोजनाहरू प्रभावित भइरहेको बताए। यस्तो परिस्थितिमा पनि विकास निर्माणलाई निरन्तरता दिन र प्रभावकारी वातावरण बनाउन सरकारले ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिए।
यसका साथै वर्षायाम सुरु भइसकेकाले सम्भावित प्राकृतिक विपद्को सामना गर्न प्रदेश र स्थानीय तहले पूर्वतयारीका कार्यमा तीव्रता दिनुपर्ने उनको भनाइ थियो। विकासका आयोजनाहरूलाई पूर्णता दिँदै जनताको जीउधनको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने सन्देश उनले बैठक मार्फत दिएका थिए।

प्रतिक्रिया