जिल्ला प्रहरी कार्यालय, मोरङले बिल बिजकभन्दा बढी र न्यून मूल्यांकन गरिएका सामग्री लोड गरिएका दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको छ।
विराटनगर महानगरपालिका-१४ स्थित रानी रोडशेष सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेका ट्रकलाई विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-९ का ४९ वर्षीय ऋषिराम पौडेल र रामेछापको मन्थली नगरपालिका-१० बस्ने ३७ वर्षीय कुमार बुढाथोकीलाई नियन्त्रणमा लिएको हो। पौडेलले प्र ३-०१-००५ ख ९४२५ नम्बरको ट्रक र बुढाथोकीले प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रक चलाएर ल्याएका थिए।
दुवै ट्रकमा रहेका कपडा लगायतका सामान करिब एक करोड ८१ लाख २६ हजार ८७ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका दुवै ट्रक, चालक र सामानलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाइएको मोरङका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए।
Shares

प्रतिक्रिया