कोशी


उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै ओखलढुङ्गा एमाले पार्टी कार्यालयमा तालाबन्दी

उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै ओखलढुङ्गा एमाले पार्टी कार्यालयमा तालाबन्दी

नेपालखबर
माघ ४, २०८२ आइतबार १९:४७, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले) केन्द्रीय कमिटीले गरेको उम्मेदवार चयनप्रति ओखलढुङ्गा जिल्ला कमिटी र भातृ संगठनहरूले कडा आपत्ति जनाएका छन्।

केन्द्रको निर्णय विधान विपरीत र स्वेच्छाचारी भएको भन्दै रुष्ट बनेका नेता कार्यकर्ताहरूले जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी समेत गरेका छन्।

आइतबार जिल्ला कमिटी र विभिन्न चार भातृ संगठनले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रको निर्णय नसच्चिएसम्म आन्दोलन जारी राख्ने बताएका हुन्।

एमाले ओखलढुङ्गाका जिल्ला अध्यक्ष ज्ञान बहादुर खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला कमिटीले सर्वसम्मत रूपमा सिफारिस गरेका कमरेडहरूको विपरीत र चुनावमा उठ्ने इच्छा समेत नदेखाएको व्यक्तिलाई केन्द्रीय सचिवालय बैठकले उम्मेदवार बनाएकोप्रति हाम्रो गम्भीर आपत्ति छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जिल्लाको विधिगत निर्णयलाई उल्टाएर केन्द्रीयताको नाममा व्यक्तिगत गुट व्यवस्थापनका लागि गरिएको निर्णय हामीलाई स्वीकार्य छैन। यस्तो अवस्थामा जिल्ला कमिटीले ती उम्मेदवारलाई सहयोग गर्न नसक्ने व्यहोरा जानकारी गराउँदछौं।’

भातृ संगठनद्वारा तालाबन्दी 
​पार्टीका चारवटा प्रमुख भातृ संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै तत्कालै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

​संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला कमिटीको छलफल र सिफारिसमा नपरेका उम्मेदवारलाई व्यक्तिगत आधारमा केन्द्रले लादेको छ। यो निर्णय नसच्चिएसम्म ओखलढुङ्गास्थित जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ।’

विज्ञप्तिमा युवा संघका अध्यक्ष विवेक तामाङ, अनेरास्ववियुका अध्यक्ष अर्जुन गिरी, महिला संघकी अध्यक्ष पशुपति गुरुङ र खेलकुद महासंघका अध्यक्ष राजकुमार राईले हस्ताक्षर गरेका छन्।

जिल्ला तहका नेता–कार्यकर्ताहरूको यो विद्रोहले आसन्न निर्वाचनमा एमालेभित्र ठूलो चुनौती सिर्जना हुने देखिएको छ।  

नेकपा एमालेले ओखलढुंगामा प्रतिनिधि सभाका लागि लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad