मोरङ उद्योग व्यापार संघले आगामी पुस ९ देखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ। संघले विराटनगरमा पत्रकार सम्मेलन गर्दै २४० स्टलहरू रहने जानकारी दिइएको छ।
संयोजक अमित कुमार सारडाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सुरक्षाको पूर्ण प्रत्याभूति भएपछि मात्र एक्स्पो संचालन गर्न लागिएको हो। कोसी महोत्सवदेखि विभिन्न औद्योगिक व्यापार मेलासम्म सफल आयोजनाको अनुभव राख्दै आएको संघले यसवर्ष पनि अन्तर्राष्ट्रिय स्तरीय प्रदर्शनीको तयारी तीव्र बनाएको जनाएको हो।
संघका अनुसार जेनजी आन्दोलनपछि सुस्त बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने, वस्तुहरूको बजार विस्तार गर्दै अन्तर प्रदेश तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापारिक सहकार्य निर्माण गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको जानकारी दिए।
यस पटकको एक्स्पोमा जर्मन प्रविधिको ह्याङगर र अक्टानम सहितका २४० स्टलमार्फत घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन–सेवाका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, कला–संस्कृति तथा औद्योगिक सामग्री प्रदर्शन गरिनेछ। भारत, बंगलादेश र पाकिस्तानका उत्पादनकर्ता पनि सहभागी हुने सारडाले जानकारी दिए।
स्टार्टअप, पर्यटन, सूचना प्रविधि, कर–लेखा र महिला उद्यमशीलता सम्बन्धी विभिन्न गोष्ठी, तालिम र अन्तरक्रिया कार्यक्रम समावेश गरिने संघले जनाएको छ। नयाँ उद्यमीलाई व्यवसाय सुरु गर्ने अवसरका लागि विस्तार रणनीति तथा डिजिटल अर्थतन्त्र र साइबर सुरक्षासम्बन्धी ज्ञान प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
मनोरञ्जनका लागि राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिनेछन्। साथै, किड्स जोन, सेल्फी जोन, फिस तथा जलपरी टनेल र नेपाली कलाकृतियुक्त विशेष प्रवेशद्वार आकर्षणको केन्द्र रहने संघले जनाएको छ।
मेलामा करिब दुई लाख दर्शक आउने अनुमान गरिएको छ। एक्स्पोले कोशी पर्यटन वर्ष २०८२ लाई प्रभावकारी ढंगले प्रवर्द्धन गर्ने विश्वास संघले लिएको छ। यो अवधिमा करिव ३० करोडको कारोवार हुने जानकारी दिएको छ।

प्रतिक्रिया