कोशी


जेनजी आन्दोलनमा अनारमनी इप्रका जलाउने ८ जना जेल चलान

जेनजी आन्दोलनमा अनारमनी इप्रका जलाउने ८ जना जेल चलान

अनारमनी इप्रकामा आगजनी गरिएको बेलाको तस्बिर


नेपालखबर
मंसिर २०, २०८२ शनिबार ९:३६, विराटनगर

जेनजी आन्दोलनका क्रममा झापाको बिर्तामोडस्थित अनारमनी इलाका प्रहरी कार्यालयमा गरिएको आक्रमण, तोडफोड र आगजनी प्रकरणमा पक्राउ परेका ८ जनालाई कारागार चलान गरिएको छ।

झापा जिल्ला अदालतले थुनछेक बहसपछि शुक्रबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे हाे।

झापा जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतका अनुसार आपराधिक उपद्रव, थुनुवा भगाउने तथा हातहतियारसम्बन्धी मुद्दामा ५ प्रतिवादीविरुद्ध जेल चलानको आदेश जारी भएको हो।

अदालतले सुनसरी हरिनगर-१ का २२ वर्षीय साहिद हुसेन अन्सारी, बिर्तामोड-५ का ४५ वर्षीय नवराज राई र बिर्तामोड-३ का २१ वर्षीय बादल राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। 

बिर्तामोड-५ की २४ वर्षीय पूजा मगर र अर्जुनधारा-७ का २८ वर्षीय सुरज राईलाई जनही ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भए पनि रकम बुझाउन नसकेकाले उनीहरू पनि कारागार चलान भएका छन्।

यसअघि बिर्तामोड-५ का २० वर्षीय राजन चौधरी, १६ वर्षीय आयुष धिमाल र बिर्तामोड-६ का २४ वर्षीय अनीश मण्डल जेल चलान भइसकेका छन्।

इप्रका दमक जलाउने १३ जना कारागारमा

जेनजी आन्दोलनकै क्रममा इप्रका दमकमा भएको आक्रमण प्रकरणमा पनि १३ जनालाई यसअघि नै पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

तीन दिनअघि अदालतले दिएको आदेशअनुसार पाँचथर, इलाम र झापाका गरी १३ जना जेल पठाइएका हुन्।

जसमा पाँचथर मिक्लाजुङ-५ का २१ वर्षीय साजन लुहागुन, इलाम चुलाचुली-३ का २२ वर्षीय नकुल अधिकारी, दमक-७ का २४ वर्षीय लोमस कटुवाल, गौरव भुजेल, सुशील फियाक, शिव मल्लिक, इलामका दर्शन लिम्बू, गौरादहका सुन्दर गिरी, गौरीन्ज-३ का रमेश पासवान र उनका १९ वर्षीय छोरा सोनु पासवान छन्।

यस्तै इलामका सुजल राई, दमक-९ का अरुण रोका र गणेश शर्मा पनि थुनामा परेका छन्। दमक क्षेत्रका चार नाबालकलाई भने अभिभावकको जिम्मा लगाइएको छ। 

त्यही घटनामा दमक-९ का ३४ वर्षीय सन्तबहादुर मोते र दमक-८ का ३६ वर्षीय उमेश थापा भने जनही १ लाख ५० हजार धरौटीमा रिहा भएका छन्। दमक-३ का २१ वर्षीय केदार बस्नेत ३० हजार धरौटी बुझाएर छुटेका छन्।

पक्राउ परेका ४६ जनामध्ये २१ व्यक्ति जेल चलान

प्रहरीका अनुसार झापामा जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आक्रमण तथा अराजक गतिविधिमा संलग्न आरोपमा जम्मा ४६ जना पक्राउ परेका थिए।

तीमध्ये अहिलेसम्म २१ जना पुर्पक्षका लागि जेल चलान भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार ४ जना नाबालक अभिभावकको जिम्मा लगाइएको छ भने ३ जना धरौटीमा र ७ जना हाजिरी जमानीमा छुटेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad