कोशी


प्रतिनिधि छनोटमा भीम आचार्यका स्वकीयमाथि हातपात

प्रतिनिधि छनोटमा भीम आचार्यका स्वकीयमाथि हातपात

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १६:१२, विराटनगर

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा उत्पन्न विवादका क्रममा पूर्व मुख्यमन्त्री भीम आचार्यका स्वकीय सचिव अनिल राजधामीमाथि हातपात भएको छ।

एमाले धरान कार्यालय नजिकै हिजो बेलुका युवा संघ कोसी इन्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राई सहितको समूहले राजधामीलाई हातपात गरेका हुन्।

धरानमा प्रदेश तथा केन्द्रका लागि प्रतिनिधि छान्ने काम भइरहेका बेला युवा प्रतिनिधि चयनमा विवाद चर्किएपछि राजधामीमाथि आक्रमण भएको थियो। उनी पार्टीभित्र उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहसँग नजिक मानिन्छन्।

युवातर्फ १ जना प्रतिनिधि छान्ने प्रक्रियामा राजधामीसहित पाँच जनाले उम्मेदवारी दिएका थिए। नेतृत्वले सर्वसम्मत बनाउने प्रयास गरेको भए पनि राजधामीले उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि विवाद तीव्र बनेको पार्टी स्रोतले जनाएको छ।

संस्थापन पक्षका कार्यकर्ताले राजधामीलाई जबरजस्ती बैठकस्थलबाट निकाल्दै कुटपिट गरेका थिए। कुटपिटपछि पार्टी नेतृत्वले गरेको निर्णय मान्य गर्ने कागजमा सहीछाप गराइएको थियो।

हिजो बेलुका अस्पतालमा भर्ना भएलगत्तै डिस्चार्ज भएका राजधामी आज पुन: अनुहार र घाँटीका ग्रन्थी सुन्निएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए। उनका अनुसार, छाती र पछाडितिर समेत चोट लागेको छ।

प्रतिनिधि छान्ने प्रक्रियामा सर्वसम्मत बनाउने नाममा आफूलाई दवाव दिइएको र अन्ततः केही नेताका निर्देशनमा साथीहरूले कुटपिट गर्दै जबर्जस्ती हस्ताक्षर गराएको आरोप लगाएका छन्।

राजधामीले प्रतिस्पर्धामा आफू बलियो रहेको र निर्वाचन भएमा जित्ने आत्मविश्वास भएकाले उम्मेदवारी फिर्ता नलिएको बताए।

घटना बारेमा नेकपा एमाले धरान नगर समितिका सचिव योगेशबाबु काफ्लेले सामान्य भनाभन भएको विषयलाई अतिरञ्जित बनाउन खोजिएको छ।  

छलफल पछि दुई जनाको बिचमा धाप मारेर बाहिर निस्केको विषयमा अर्को विरोधी पार्टीले गलत हल्ला चलाएको समेत आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad