कोशी


कोसी प्रदेश सभा सञ्चालन गर्न स्थानको खोजी

कोसी प्रदेश सभा सञ्चालन गर्न स्थानको खोजी

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १६:०, विराटनगर

कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेश सभाको आगामी बैठक मङ्सिरको दोस्रो हप्तासम्म बोलाउने तयारी भइरहेको जानकारी दिएका छन्। जेनजी आन्दोलनमा हाल आगलागीका कारण क्षतिग्रस्त भएको प्रदेश सभा भवनको पुनर्निर्माण गर्नुपर्ने भएकाले अस्थायी स्थानको खोजी भइरहेको छ।

मन्त्री भण्डारीका अनुसार, प्रदेश सभा सञ्चालनका लागि कटहरी गाउँपालिकास्थित एकीकृत कृषि तरकारी थोक बजारलाई प्रयोग गर्ने बारे अनौपचारिक छलफल भइरहेको छ। यो स्थानलाई प्रदेश सरकारको आफ्नै संरचनाको रूपमा विकास गर्ने योजना रहेको छ।

नयाँ स्थानको व्यवस्थापन, निर्माण र बजेटको लागि प्रदेश मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्नेछ। यसका लागि प्रदेश सभाले कटहरीलाई नै उपयुक्त स्थान भएको बारेमा सरकारलाई प्रस्ताव पठाएको छ। मन्त्री भण्डारीले दुई चार दिनभित्रै मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गर्ने जानकारी दिए।

अहिले रहेको प्रदेश सभा भवनबाट सभा सञ्चालन हुन नसक्ने भएकाले अब नयाँ संरचना नै बनाएर जानू पर्ने सरकारको योजना छ ।

नयाँ भवनको निर्माणमा ढिलाइ भएमा केही समयका लागि वीरेन्द्र सभा गृहलाई पनि प्रयोग गर्न सकिने विकल्पबारे छलफल भइरहेको छ।

आगलागीले क्षतिग्रस्त भएका अन्य मन्त्रालय र कार्यालयहरूको हकमा भने प्राविधिक र इन्जिनियरहरूको रिपोर्टको आधारमा मर्मत सम्भार गर्ने वा पुनर्निर्माण गर्ने भन्ने निर्णय गरिने सरकारले जनाएको छ।

यससम्बन्धी मोटामोटी रिपोर्टहरू सम्बन्धित कार्यालयहरूलाई प्राप्त भइसकेको र एकीकृत प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा आउने क्रममा रहेको मन्त्री भण्डारीले बताए ।

बिहीबार मात्रै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहितको जनप्रतिनिधिहरूका टोलीले कटहरीमा रहेको एकीकृत तरकारी थोक बजार सञ्चालनका लागि निर्माण भएका संरचनाको अनुगमन गरेको थियो।

अनुगमनको क्रममा सञ्चालनमा ल्याउन मिल्ने बनाउनको लागि केही संरचना निर्माणको काम गर्नु पर्ने निष्कर्ष निकालेको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad