कोशी


उद्योगमैत्री नीति कार्यान्वयन गर्न सीएनआईको माग

उद्योगमैत्री नीति कार्यान्वयन गर्न सीएनआईको माग

नेपालखबर
असोज ९, २०८२ बिहिबार १७:४४, विराटनगर

नेपाल उद्योग परिसंघ (सीएनआई) कोसी प्रदेशले उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधान र नीति सुधारका लागि सरकारलाई ध्यानाकर्षण गराएको छ।

परिसंघले कर प्रणालीको जटिलता, उत्पादन लागतको वृद्धि, कच्चा पदार्थमा उच्च आयात शुल्क, पूर्वाधारको अभाव र निर्यात प्रवर्द्धनमा देखिएको कमजोरीलाई उद्योगी–व्यवसायीका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेको हो।

परिसंघका पदाधिकारीहरूले नेपालमा उद्योग सञ्चालन गर्दा दिनप्रतिदिन लागत बढ्दै गएको तर कर प्रणाली अझै असहज र बहु आयामिक झन्झटपूर्ण रहेको कारण व्यवसायी हतोत्साहित हुने गरेको बताएका छन्।

आयातमा अत्यधिक निर्भरता र नीतिगत अस्थिरताले देशको उत्पादन क्षमता कमजोर बनाइरहेको भन्दै उनीहरूले दिगो अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सरकारले तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा बोल्ने उद्योगीहरूले जीएसटी प्रणालीको अभ्यास, भ्याट र टीडीएस  जस्ता कर प्रशासनलाई सहज बनाउनुपर्ने, इस्पात, तार, रड लगायत कच्चा पदार्थमा लगाइएको उच्च शुल्क पुनरावलोकन गर्नुपर्ने बताए। उनीहरूले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्यातको वातावरण निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गरे।

यस्तै, सुनचाँदी उद्योगलाई कच्चा पदार्थ आयातमा सहज सुविधा दिनुपर्ने, ऊर्जा र यातायात पूर्वाधारमा लगानी बढाउनुपर्ने र उद्यमशीलता प्रोत्साहन गर्ने स्पष्ट नीतिको माग गरिएको उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरेले जानकारी दिए। 

परिसंघले उद्योगी व्यवसायीलाई बलियो बनाउन सरकारले तत्काल उद्योग–व्यवसायमैत्री नीति कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ। घिमिरेले भने, ‘उद्योगलाई सहज वातावरण उपलब्ध गराइए मात्र उत्पादनशीलता र प्रतिस्पर्धात्मकता बढ्छ, अर्थतन्त्रको दिगो आधार यही बाटो हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad