कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशन विपरीत यातायात व्यवस्था कार्यालय कोसीले निजी व्यक्तिको घरमा सेटिङ मिलाएर नयाँ सवारी दर्ता गरेको खुलासा भएको छ।
भदौ २४ गतेको आन्दोलनका क्रममा सुनसरीस्थित यातायात कार्यालयमा तोडफोड र आगजनी भएपछि सेवा अवरुद्ध भएको थियो। त्यसपछि मन्त्रालयले मातहतका सबै यातायात कार्यालयलाई सेवा स्थगित गर्न परिपत्र जारी गरेको थियो। तर कार्यालयका प्रमुख बाबुराम लुइँटेलले निजी गाडी कम्पनीसँग मिलेमतो गरी असोज ५ र ७ गते नयाँ सवारी दर्ता गरेका छन्।
मन्त्रालयका अनुसार असोज ५ गते मात्रै करिब ५०० वटा र असोज ७ गते १०० वटा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी दर्ता भएका छन्। यस क्रममा राजस्व भने बैंकमार्फत जम्मा भएको छ। तर दर्ता प्रक्रिया पूरा गर्न प्रयोग भएको सफ्टवेयर रिम्स र भिआरएस कार्यालयकै युजर आइडी प्रयोग गरेर गरिएको देखिएको मन्त्रालय स्राेतले जनाएको छ।
प्रमुख लुइँटेलले पनि दुबै सफ्टवेयर प्रयाेग गरेर नयाँ सवारी दर्ता भएको स्वीकार गर्दै गाडी कम्पनीले बैंकमा राजस्व बुझाएकाले प्रक्रिया अघि बढेको दाबी गरेका छन्। तर सफ्टवेयर कसरी, कहाँबाट सञ्चालन भयो भन्ने प्रश्नमा भने उनले प्रत्यक्ष जवाफ दिन अस्वीकार गर्दै भने `भोलि भेटेर कुरा गरौँला।´
यसअघि बिर्तामोड कार्यालयमा महिला कर्मचारीलाई दुर्ब्यवहार गरेकाे र धनकुटा कार्यालयमा रहेकाे बेला उनलाई माेसाे दलेपछि लुइँटेल पटक पटक विवादमा तानिएका थिए। अहिले इटहरी कार्यालयमा कार्यरत उनले पुनः गाडी कम्पनीसँग मिलेमतो गरेको आरोप लागेको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रालयले यस विषयमा जवाफ मागिसकेको बताए। उनका अनुसार, कुन स्थानबाट, कसले, कुन युजर आइडी प्रयोग गरेर दर्ता गरियो भन्ने विवरण स्पष्ट गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ। असाेज ९ गते कार्यालय समयभित्र मन्त्रालयमा जवाफ पेस गर्न भनिएको छ।
Shares

प्रतिक्रिया