कोसी प्रदेशका मुख्यमन्त्रीको कार्यकक्षमा बसेको दुई दलीय संयन्त्रको बैठकले मन्त्रीहरूको काम कारबाहीको समीक्षा गरेको छ।
बिहीबार बसेको बैठकमा मन्त्री परिवर्तनको विषय अनौपचारिक रूपमा उठे पनि आधिकारिक एजेन्डामा प्रवेश पाएन।
मन्त्रीहरूको कार्यशैली, कामका गति, मन्त्रालयहरू बिचको समन्वय लगायतका विषयहरू बैठकमा छलफल भएका थिए। बैठकको मुख्य एजेन्डा भने सरकारी कामकाजी भाषा सम्बन्धी विधेयकको छलफलमा केन्द्रित भएको थियो।
बैठकमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री एवम् नेपाली कांग्रेस कोसी प्रदेशका महामन्त्री भूपेन्द्र राईले विधेयकमा लिम्बु भाषासहित अन्य भाषाहरूलाई कसरी समावेश गर्ने भन्नेबारे दलहरूबिच छलफल भएको बताए।
दलहरूबीच प्रदेश सभामा संशोधन प्रस्ताव हाल्ने समय बाँकी रहेकोले संशोधनमा आएका विषयहरूलाई समावेश गरिने विषयलाई सम्बोधन गरेर जाने बारेमा पनि छलफल भएको थियो।
बैठकमा प्रदेश सरकारको समग्र कार्यसम्पादनबारे पनि चर्चा भएको छ। पर्यटन वर्ष अभियान र हालै सम्पन्न लगानी सम्मेलनका कार्यक्रमहरूको मूल्याङ्कनसमेत भएको बैठकमा सहभागी नेकपा एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।
मन्त्री फेर्ने बारेको चर्चा अनौपचारिक भए पनि यसलाई आगामी राजनीतिक छलफलमा महत्त्वपूर्ण विषयका रूपमा प्रस्तुत गरिने गरी बैठक सकिएको उनले बताए।
दुई दलीय संयन्त्रको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हाल देखिएका समसामयिक समस्या र सरकार सञ्चालनको स्थिति बारे ब्रिफिङ गरेका थिए।
बैठकमा दुई दलीय सरकारलाई अझ ‘गतिलो र कसिलो’ बनाएर प्रभावकारी ढङ्गले अघि बढाउने बारेमा छलफल भएको खतिवडाले बताए।
Shares

प्रतिक्रिया