कोसीका सांसदहरूले प्रदेश सभामा उठेका समसामयिक विषयलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गरेका छन्।
कोसी प्रदेश सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले नागरिकका प्रतिनिधिहरूले उठान गरेका विषयलाई सम्बोधन गर्नु पर्ने बताए।
राप्रपाकी सांसद सविना बजगाईँले हात्तीको बिगबिगी रोक्न सरकारको योजना माग गरिन्। उनले पटक पटक उठ्दै आएका हात्तीको समस्यालाई सरकारले योजनाबद्ध समाधान गर्नुपर्ने भएकोले तत्काल योजना सार्वजनिक गर्न माग गरिन्।
लम्कीस्कीन रोक्नको लागि खोप कार्यक्रम लागु पर्नु पर्ने, एसियन हाईवेले जसरी तीव्र काम हुनु पर्ने हो त्यो अनुसारको काम नभएको जानकारी गराउँदै हुलाकी राजमार्ग अन्तरगत कटहरीमा जनताले सडकमा नै धान रोपेको विषय समेत उठाइन्।
कांग्रेस सांसद विनोद राईले भोजपुरमा कुकुरको टोकाइको लागि आवश्यक पर्ने रेबिज विरुद्धको खोप र सर्पको डसाईको लागि आवश्यक पर्ने एन्टी भेनम भ्याक्सिन जिल्ला अस्पतालबाट नै उपलब्ध गराएर उपचार हुने व्यवस्था गर्न माग गरे। रेबिज विरुद्धको भ्याक्सिन नभएको कारण विराटनगर आउँदा पनि उपचार नपाएको उनको गुनासो छ।
टाढाबाट आएका बिरामीले कोसी अस्पतालमा आउँदा २ बजे नै ओपिडी बन्द हुँदा उपचार नै नपाएको जानकारी गराए।
भोजपुरकै ट्याम्केमैयुका सम्राटजंग विष्टको समयमै उपचार नपाएर सर्पको डसाइबाट मृत्यु भएको सदनलाई जानकारी गराए। जिल्ला अस्पतालमा एन्टी भेनम नभएको कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचार गर्न ल्याउँदै गर्दा उनको उपचारमा ढिला हुँदा मृत्यु भएको बताए।
यस्ता साना साना समस्यालाई पनि सरकारले सम्बोधन गर्न नसक्दा नागरिकले अकालमा ज्यान गुमाउनु परेको राईले बताए। कुकुरले टोकेको रेबिजको भ्याक्सिन र सर्पको डसाइबाट हुने उपचारलाई जिल्ला अस्पतालमा नै सहज सेवा प्रदान गर्न उनले सरकारलाई आग्रह गरे।
नेकपा माओवादीका सांसद गणेश उप्रेतीले कोसी प्रदेशको कामकाजी भाषा लिम्बु र मैथिली हुने भन्ने गैर सरकारी विधेयक प्रदेश सभाबाट अस्वीकृत भएको विषयमा सबै सांसदहरूलाई लाञ्छित गरेपछि नेकपा एमालेका प्रमुख सचेतक विदुर लिङथेपले नियमापत्ति गरेका थिए। लिङ्थेपले प्रदेश सभाबाट प्रक्रिया पुरा गरेका विषयलाई सांसदहरूलाई लाञ्छित गरिएको विषय प्रदेश सभाको रेकर्डबाट हटाउन माग गरेका थिए।
नेपाली कांग्रेसकी सांसद शोभा चेम्जोङले स्वतन्त्र सञ्चार माध्यमलाई नियमन गर्ने अधिकार स्वतन्त्र निकायमा नै हुनु पर्ने बताइन्। उनले अनलाइन मिडियालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी अङ्कुश लगाउने प्रयास भएको भन्दै स्वतन्त्र मिडिया माथिको हस्तक्षेप गर्ने प्रयास भएको र स्वतन्त्र मिडियालाई कुण्ठित बनाउने काम नगर्न सरकारलाई आग्रह गरिन्।
खगेश्वरी पौडेलले सांसदहरूले उठाएका धेरै विषयहरू उठान मात्रै हुने तर सरकारले सम्बोधन नै नगरेको तितो यथार्थ सुनाइन्।
‘प्रदेश सभामा हामी आएको ३२।३३ महिना भइसकेको छ, हामीले उठान गरेका विषयहरू सम्बोधन भएको छैनन्,’ उनले भनिन्, ‘हामी बजेट लिनका लागि मात्रै आएका त हैनौँ भन्ने लाग्न थालेको छ, हामीले बोलेका कुरा सरकारले पुरा गरेको छकी छैन भन्ने जवाफ अहिलेसम्म आएको छैन।’
उनले गाउँघरमा देखिएको बाँदर आतङ्क नियन्त्रण गर्नकोलागि आग्रह गरिन्।
एमाले सांसद किशोरचन्द्र दुलाल, नम्बरलाल धिमाल तथा नेकपा माओवादीका सांसद गम्बु शेर्पाले समसामयिक विषय राखेका थिए।
धिमालले थान संस्कृति संरक्षणकोलागि सबै सरोकारवालालाई एकै ठाउँमा राखेर संवाद गरिएको र सबैले कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएकोले तत्काल कानुन निर्माण गरेर जानुपर्ने माग गरे।
Shares

प्रतिक्रिया