कोशी


कोसी प्रदेशका २२ ठाउँबाट साढे २ करोडको ट्रान्सफर्मर चोरी, गिरोहका १३ जना पक्राउ

कोसी प्रदेशका २२ ठाउँबाट साढे २ करोडको ट्रान्सफर्मर चोरी, गिरोहका १३ जना पक्राउ

नेपालखबर
साउन २०, २०८२ मंगलबार १६:४०, विराटनगर

कोसी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा गत माघदेखि सुरु भएको विद्युत् ट्रान्सफर्मर चोरीको शृङ्खलाबद्ध घटनामा संलग्न समूहलाई पक्राउ परेसँगै सार्वजनिक गरेको छ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार पत्रकार सम्मेलन गरी चोरीमा संलग्न ७ जनालाई र चोरीका सामान किन्ने ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रदेशभरको किसान र सर्वसाधारणलाई प्रत्यक्ष असर पार्ने गिरोहलाई प्रादेशिक अनुसन्धान समूह विराटनगरको टोलीले समन्वयात्मक रूपमा नियन्त्रणमा लिन सफल भएको प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

घटनामा ७ जना प्रत्यक्ष संलग्न व्यक्ति र ५ जना चोरीको तामाको तार किन्ने व्यवसायीहरू पक्राउ परेका छन्। घटनामा झन्डै २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन प्रहरीले गरेको छ। चोरीमा प्रयोग भएका औजार, सवारीसाधन, मोबाइल र झन्डै ३७० किलो तामाको तारसमेत प्रहरीले बरामद गरेको उनले जानकारी दिए।

माघ १५ देखि सुरु भयो चोरीको क्रम
२०७८ माघ १५ गते मोरङको बुढीगंगा गाउँपालिकाबाट सुरु भएको ट्रान्सफर्मर चोरीको घटना क्रमशः सुनसरी र झापासम्म फैलिएको पाइएको छ। चोरीका घटनाहरू मोरङमा ८ स्थान, सुनसरीमा १२ स्थान र झापामा २ स्थान गरी कुल २२ स्थानमा ट्रान्सफर्मर चोरी भएको प्रहरी तथ्याङ्क छ।

अधिकांश ट्रान्सफर्मरहरू खानेपानी तथा डिप बोरिङ योजनासँग सम्बन्धित छन्। चोरीले कृषकको रोपाइँ प्रभावित भएको जनगुनासो व्यापक रहेको समेत प्रहरीले उल्लेख गरेको छ।

ट्रान्सफर्मर पोलमै पक्राउ परे अर्जुन थारु
२०७८ साउन ९ गते राति करिब १२ः३० बजे मोरङको रंगेली नगरपालिका–९ इटाभट्टा टोलस्थित खानेपानी आयोजनाको ट्रान्सफर्मर नजिकै शङ्कास्पद अवस्थामा दुई मोटरसाइकलमा आएका ३ जना देखिए। ट्रान्सफर्मरको छेउमा उभिए।

सोही क्रममा ट्रान्सफर्मर पोलमा चढिरहेका ग्रामथान गाउँपालिका–४ का अर्जुन कुमार थारु पक्राउ परे। प्रारम्भिक सोधपुछबाट ट्रान्सफर्मर चोरीमा सङ्गठित गिरोह संलग्न रहेको थाहा पाएपछि प्रादेशिक अपराध अनुसन्धान समूहको नेतृत्वमा ३५ भन्दा बढी सादा पोसाकका प्रहरी परिचालन गरी अनुसन्धान अघि बढाइएपछि अहिले रिजल्ट देखिएको प्रहरी नायव महानिरीक्षक कार्कीले जानकारी दिए।

यी व्यक्ति पक्राउ
प्रहरीले सार्वजनिक गरेको चोरीमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा ग्रामथान ४ का अर्जुन कुमार माझी (४२ वर्ष) , ग्रामथान ५ का  इरज धामी (३१ वर्ष), लविपुर, दुहबी–३, सुनसरी अनुज विश्वास (३५ वर्ष),बेलवारी ४ का अर्जुन चौधरी (२६ वर्ष), भारत घर, हाल मलाटी, दुहबी–४, सुनसरीका आलम मिया (३४ वर्ष), बेलवारी ३ का रञ्जित तामाङ (२७ वर्ष) र  दुहबी–२, सुनसरी प्रयाग कुमार खाँ चौधरी (३९ वर्ष) का रहेको प्रहरीले जनाएको छ।

चोरीको सामान किन्ने व्यवसायीहरू विराटनगरका लक्ष्य प्रधान, कृष्ण गोपाल ताम्राकार, अजय कुमार साह, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट, सुनसरी इटहरीका सिताराम राई रहेका छन्।

प्रयोग गरिएका सवारी साधनहरू ५ वटा मोटरसाइकल ९प्र १-०२-०५० प ७०९५, प ५५८०, प ३०४९, को२प ९२९०, को २९ प ४५४४०,१ थान पिक अप गाडी (को१ च ७७२९) गाडी समेत प्रयोग गरी समान ढुवानी भएको पाइएको कार्कीले बताए। विभिन्न स्थानबाट  ३६८.५ केजी तामाको तार बरामद गरेको छ।

सबै चोरीको घटनाबाट करिब २ करोड ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान प्रहरीले  गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad