मोरङ जिल्लाको बूढीगंगा गाउँपालिका–६ स्थित नहरको किनारमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ। अन्दाजी ३०–३५ वर्ष उमेरकी देखिने महिलाको शव पहिचान नभएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शव असार २८ गते फेला परेको हो। महिलाको नाम, थर र वतन खुल्न नसकेको जनाइएको छ। शव सडिसकेको अवस्थामा भेटिएकाले घटना केही दिनअघि भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घटनास्थलमा मृतक महिलाले प्रयोग गरेको केही लुगा पनि फेला परेको प्रहरीले जनाएको छ। ती कपडाका आधारमा मृतकको पहिचानमा सहयोग हुने विश्वास गरिएको छ। प्रहरीले लुगा सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले मृतकको पहिचानमा सहयोग गर्न आम सर्वसाधारणसँग आग्रह गरेको छ।
'शवको पहिचान खुलाउन मद्दत पुग्ने कुनै जानकारी वा फेला परेका लुगा चिन्ने कोही भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क राख्न हुन अनुरोध छ,' प्रहरीले भनेको छ।
हाल शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल, विराटनगरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
Shares

प्रतिक्रिया