नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको बजेट ढङ्ग नपुर्याई ल्याएको आरोप लगाएका छन्।
आङ्बोले कोसी प्रदेश सभाको सातौँ अधिवेशनको तेह्रौँ बैठकमा विशेष समय लिएर बोल्दै बजेट लेख्न पनि ढङ्ग चाहिने बताए। यो पटकको बजेटमा प्रदेशले बजेट लेख्दा बेढङ्गी तरिकाले लेखेको आरोप लगाए।
‘आजसम्मको बजेट पल्टाएर हेर्नुस् मन्त्रीज्यू’, आङबोले कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलाई लक्षित गर्दै भने, ‘सबै बजेटमा पुँजीगत खर्च बढी छ, पहिलो पटक यो प्रदेशमा चालु खर्च बढी हुने गरी यो बजेट पेस भएको छ।’
उनले बजेटमा विनियोजन दक्षता नदेखिएको र बजेट लेख्ने क्रममा ढङ्ग पनि नपुगेको भन्दै सरकारको आलोचना गरे।
वित्तीय हस्तान्तरणको त्यही ४ अर्ब ७० करोड ७२ लाख बजेटको १.८ प्रतिशत हुन आउने रकम लगेर पुँजीगतमा जोड्दा पनि करिब ५० दशमलव ५ प्रतिशतको हाराहारी देखिँदा चालु खर्च ५० प्रतिशत नाघ्नु भनेको सुखद नभएको टिप्पणी गरे।
‘प्रहरी आउने बित्तिकै सङ्घीय सरकार जस्तै ६० प्रतिशत चालुमा जाने र ४० प्रतिशत मात्रै पुँजीगतमा जाने सङ्केत देखिन्छ’, आङ्बोले भने, ‘सरकारको चालु खर्च बढ्नु सुखद कुरा हैन, यो कुरालाई गम्भीर रूपमा लिन आग्रह गर्दछु।’
सरकारले प्राथमिकतामा राखेको सुशासन सेवा प्रवाह र कानुनी शासनको विषय नै कार्यान्वयनमा जान नसकेको बताए।
उनले प्रदेश सरकार भित्र बेथितिको चाङ रहेको बताए। प्रदेशको सुशासन कायम राख्ने विषयमा सरकारले प्रदेश प्रहरी ऐन समेत कार्यान्वयन गर्न नसकेको बताए।
‘प्रदेशमा प्रहरी ल्याउने कुरामा कोही बोल्नु छैन, यहाँ आएर फुर्ती गरेर हुन्छर?’ आङ्बोले भने, ‘हामी केन्द्रसँग लड्दै छौँ, प्रदेश सभाले सघाओस् रे, यस्ता नाटक गर्नु पर्दैन यहाँ, पुलिस ल्याउने प्रयास गर्नुस् नि।’
भौतिक पूर्वाधारमा १० अर्ब ५७ करोडको हाराहारी बजेट विनियोजन गरिएको भए पनि सिलिङको नियन्त्रण मन्त्रालयले नै राखेकोले यो निक्कै गम्भीर विषय भएको बताए। उनले भने, ‘बहुवर्षीय र ठूला आयोजना कार्यान्वयन गर्नु भन्दा पनि कनिका छरेको जस्तो गरी बजेट विनियोजन गरिएको छ, हामी प्रतिपक्षले भन्दा पनि सत्ता पक्षकै माननीयज्यूले यो कुरा राख्नु होला।’
उनले प्रदेशमा कृषिको लागि दिइएको ब्याज अनुदान १४ करोड कार्यान्वयनमा जान नसक्ने दाबी गरे।
Shares

प्रतिक्रिया