सरकारले विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा निर्माण गरेको आपत्कालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपाल सरकारको गृह मन्त्रालयले विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो।
गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई चाबी नवनिर्मित भवनको चाबी हस्तान्तरण गरे।
गृहमन्त्री लेखकले गोदामघर हस्तान्तरण संघीयताको कार्यान्वयनका लागि एउटा महत्त्वपूर्ण काम भएको बताएका छन्। उनले विपद् व्यवस्थापनमा सहकार्य गरिरहेको जानकारी दिए।
संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर रहेको बताएका गृहमन्त्री लेखकले अब सरकारले शिक्षा विधेयक, निजामती विधेयक, नेपाल प्रहरीसम्बन्धी विधेयकहरू पास गरेर संघीयताको अभ्यासलाई प्रभावकारी रूपमा अघि बढाउने तयारी भइरहेको जानकारी दिए।
औद्योगिक वातावरण निर्माण गरेको छ, मुद्रा सञ्चिति बढाएको छ र समग्र आर्थिक सूचकाङ्कमा पनि वृद्धि भएको को दाबी छ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले विपद् व्यवस्थापनमा प्रदेशले गरेका कार्यको चर्चा गर्दै संघीय सरकारले दिनुपर्ने अधिकार तुरुन्त दिनुपर्नेमा जोड दिए। संघीय सरकारले दिनुपर्ने अधिकारहरू अझै पनि प्रदेश सरकारले प्राप्त गर्न नसक्दा संघीयता कार्यान्वयनमा केही जटिलताहरु सिर्जना भएको उनको भनाइ छ।
गोदाम घरको हस्तान्तरणसँगै गोदाम घरमा टेन्ट, त्रिपाल, शेल्टर किट, स्लीपिङ ब्याग, ब्लाङ्केट लगायत ११ प्रकारका सामग्रीहरू उपलब्ध गराइएको छ।
नेपाल सरकारले हरेक प्रदेशमा यस्ता गोदामहरू निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्दै आएको कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेश भट्टले जानकारी दिए।
गोदामहरूमा दातृ निकायहरूले उपलब्ध गराएका विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सामग्रीहरू भण्डारण गरिएका छन्।
अबदेखि विराटनगर भन्सार क्षेत्रमा रहेको सो गोदाम घर र त्यसको क्षेत्र प्रदेश सरकारको मातहत रहने भट्टले जानकारी दिए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अहिलेको सरकार गठन भएपछिमात्रै प्रदेशलाई अधिकार हस्तान्तरण हुने प्रक्रिया सुरु भएको बताए। संघीय सरकारबाट अधिकार हस्तान्तरणमा भएका प्रयासहरू सकारात्मक रहेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार संवैधानिक र कानुनी रूपमा अघि बढिरहेको जानकारी दिए।
कतिपय कर्मचारीको साँघुरो सोच र ज्ञानको अभावले समस्या भएको समेत मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।
Shares

प्रतिक्रिया