नेकपा एमाले विराटनगर महानगर कमिटीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
एमाले महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएपछि निर्वाचन प्रक्रिया सुरु भएको हो।
महानगरको नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी नवीनको बीचमा दुईवटा समूह तयार भएका छन्।
कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्रशेखर विश्वासले उम्मेदवारी दिएका छन्।
त्यस्तै गिरी समूहबाट उपाध्यक्षमा सुभाष प्रसाद न्यौपाने सचिवमा विज्ञान शर्मा चापागाई उपसचिवमा हिमा मैनाली पोखरेल र हमित आजादले मनोनयन दर्ता गरेका छन्।
यी दुई समूह संस्थापन र इत्तर समूह भनेर खडा भएका छन्। नेकपा एमाले मोरङ जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व आएपछि जिल्लामा दुईवटा समूह स्पष्ट देखिएको छ।
संस्थापन समूहबाट कोइराला उम्मेदवार भएका छन् भने इत्तर समूह अर्थात् विनोद ढकाल समूहबाट गिरीलाई अघि सारिएको छ। निर्वाचन कमिटीले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मतदान गर्ने गरी तालिका प्रकाशन गरेको छ।
निर्वाचन तालिका अनुसार आज राति ११ बजे मतदान कार्यक्रम राखिएकोप्रति प्रतिनिधिहरूले भने असन्तुष्टि जनाएका छन्। विराटनगर महानगर कमिटी ९१ सदस्य हुने भनिएको छ।
त्यसका लागि अधिवेशनमा १५ जनालाई मनोनितसहित ३१४ प्रतिनिधि सहभागी छन्।
उद्घाटन सत्रमा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले जिल्लाको जस्तो गतिविधि महानगर कमिटीमा पनि देखिएको र त्यसैगरी वडाहरूमा समेत खेल्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए।
उनले सर्वसम्मतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका थिए।
Shares

प्रतिक्रिया