कोशी


दोस्रोपटक कसरी भित्रियो मानव कंकाल? दुवैपटक पक्राउ पर्ने व्यक्ति एउटै

शिवरात्रीमा साधुहरूले मानव कंकाल मगाउने गरेको बयान
दोस्रोपटक कसरी भित्रियो मानव कंकाल? दुवैपटक पक्राउ पर्ने व्यक्ति एउटै

सुमन सुस्केरा
माघ २०, २०८१ आइतबार १८:१७, विराटनगर

नेपाल भारत सीमा क्षेत्र जोगवनीबाट आइतबार बिहान करिब ७ः४० बजेतिर एउटा रिक्सा  नेपालतर्फ आउँदै थियो। सिटी रिक्सामा दुई जना व्यक्ति थिए। 

बिहानी समय भएकोले नाकाबाट आउजाउ कमै हुन्छ। त्यो समय रेलबाट आउने मान्छेहरूको निक्कै भिडभाड नै थियो। सामान किन्न आउजाउ कम भएकोले पनि सीमा जोगवनीतिर जाने भन्दा पनि नेपाल आउनेको सङ्ख्या धेरै थियो। 

आउँदै गरेको त्यो सिटी रिक्सा तर्फ सशस्त्र प्रहरीको ध्यान गयो। त्यो सिटी रिक्सालाई सशस्त्र प्रहरीले रानी भन्सार नजिकैको २ नम्बर ढाटमा रोक्यो। 

सशस्त्र प्रहरीले खोजतलास गर्न थालेपछि रिक्सा चढेर आएका एक पुरुष अलमलिए। उनले आफूसँगै रिक्सामा आएकी महिलालाई यसमा चिनी छ भन्नु भन्दै कर गर्न थाले। महिलाले पनि त्यही भनिन्। सशस्त्र प्रहरीले कपडाको भिर्ने झोला खोल्न लगायो। झोला भित्र फरक प्रकृतिको सामान फेला पार्‍यो। 

त्यो झोला खोजतलास गर्दा सशस्त्र प्रहरीले ठूलो मात्रामा मानव खप्पर र नली खुट्टाहरू फेला परेको थियो। भारतबाट नेपालतर्फ ल्याएको उक्त मानव कंकाल देख्ने बित्तिकै सशस्त्र प्रहरीका जवानहरू नै एक पटक तर्सिएका थिए। 

टिमको नेतृत्व सशस्त्र प्रहरी नायव निरीक्षक (सई) प्रकाश दाहालले गरेका थिए। उनीसहितका अन्य ७ जनाको टोली त्यहाँ परिचालित थियो। अनुसन्धानको क्रममा सशस्त्र प्रहरीले ३८ थान मानव खप्पर र १० वटा नली खुट्टा फेला परेको थियो।  

महिलालाई सोधी खोजी गर्दा आफूलाई त्यही पुरुषले समाना नाका कटाइदिन भनेको र आफूले सहयोग गरेको बयान प्रहरीलाई दिएकी थिइन्। त्यसपछि सशस्त्र प्रहरीले ती महिलालाई छाडेको बताएको छ। पक्राउ परेका पुरुष विराटनगर–१७ का विनोद रायलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ।  

रायले पनि ४ हजार रुपैयाँ लिएर जोगवनीदेखि विराटनगर बसपार्कसम्म सामान पुर्‍याउने भरियाको काम गरेको प्रहरी समक्ष दाबी गरेका छन्। उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान सुरु भएको छ। 

अनुसन्धानको क्रममा पक्राउ परेका राय २०७८ सालमा पनि यसैगरी मानव कंकालसहित पक्राउ परेको पाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।  

त्यतिबेला उनलाई सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाट नजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डीसहित बरामद गरेको थियो। तर, त्यतिबेला रायलाई कारबाहीको लागि कानुनी आधार नभएको भन्दै छाडिएको थियो।  

शिवरात्रीमा साधुहरूले माग गर्ने गरेकोले मानव खप्पर र हड्डीहरू ल्याएको उनले प्रहरीसँग बताएका छन्।  त्यस्तै नली खुट्टा बेला–बेला धामी (लामा)हरुले पनि मगाउने गरेको  रायकाे भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad