कोशी


ओलीको आलोचना गर्दा अर्का नेतामाथि डण्डा, पूर्वसांसद कार्की एमालेबाट निलम्बित

रावल, पाण्डे र तिम्सेनामाथि कारबाहीको विपक्षमा थिए कार्की
ओलीको आलोचना गर्दा अर्का नेतामाथि डण्डा, पूर्वसांसद कार्की एमालेबाट निलम्बित

सुमन सुस्केरा
माघ १, २०८१ मंगलबार २०:५७, विराटनगर (मोरङ)

कोसी प्रदेश सभाका पूर्वसांसद एवं एमाले नेता विमल कार्कीलाई पनि पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ।

पार्टी नेतृत्वको आलोचना गरेको आरोपमा उदयपुरका नेता कार्कीलाई कोसी प्रदेश कमिटीले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको हो।

पुस २७ र २८ मा विराटनगरमा बसेको कोसी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि पार्टीका जिम्मेवारीबाट मुक्त गरेको एमाले कोसीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

कार्कीसहित अरू दुई जनालाई अभिव्यक्तिकै विषयलाई लिएर स्पष्टीकरण सोधिएको खतिवडाले बताए।

‘बैठकबाट कार्कीलाई ६ महिना निलम्बन गरिएको छ,’ उनले भने, ‘अरू २ जनालाई स्पष्टीकरण सोधिएको छ। चित्तबुझ्दो जवाफ आउन सक्ने भएकोले नाम सार्वजनिक गरिएको छैन।’

निलम्बनमा परेका कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्दै आएका थिए।

कार्कीलाई मंसिर १६ मा एमाले कोसीका अध्यक्ष खतिवडाले नै स्पष्टीकरण सोधेका थिए। पत्रमा तीन दिनभित्र जवाफ दिन भनिएको थियो ।

‘तपाईँको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरुद्ध लगातार अभिव्यक्तिहरू आइरहेको छ। त्यो फेसबुक आइडी तपाईँको हो कि होइन, हो भने तपाईँलाई किन कारबाही नगर्ने,’ अध्यक्ष खतिवडाले कार्कीलाई सोधेका थिए।

कार्की वर्तमान मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र राई र शेरधन राईहरूसँगै अनेरास्ववियुमा काम गरेका एमालेका सक्रिय नेता हुन्।

उनी २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका थिए। पहिलो कार्यकालमा उनी जनसरोकारका सवालमा सक्रिय र प्रश्न उठाउने सांसदमा गनिन्थे।

एमाले उदयपुरको उपाध्यक्ष भइसकेका कार्की २०८० असोजमा भएको एमाले प्रदेश कमिटीको निर्वाचनमा सदस्यमा पराजित भएका थिए।

त्यसपछि उनले एमाले अध्यक्ष ओलीकै विरुद्धमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदै आएका छन्।

भीम रावल, बिन्दा पाण्डे र उषा किरण तिम्सेनालाई स्पष्टीकरण सोध्ने पार्टी केन्द्रको विपक्षमा उभिएका कार्की पनि निलम्बनको कारवाहीमा परेका हुन्।

प्रदेशले उनीमाथि कारबाही गर्ने निर्णय गरेको भए पनि त्यसबारे आफूले अहिलेसम्म लिखित रूपमा जानकारी भने नपाएको कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad