कोशी


कोसीमा उपधारा ५ अनुसारै सरकार गठन आह्वान

कोसीमा उपधारा ५ अनुसारै सरकार गठन आह्वान

नेपालखबर
बैशाख २६, २०८१ बुधबार २२:३२, काठमाडौँ

कोसी प्रदेशमा नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेका छन्। 

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेश सभाका कुनै सदस्यलाई २०८१ वैशाख २८ गते शुक्रबार अपरान्ह ५:०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेको उनको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो।

तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा पनि त्यसैअनुकूलका समीकरण बन्न थालेका हुन्। 

२०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए।

कोसी प्रदेश सभा सचिवालयले २०८१ वैशाख १० गते प्रदेश सभाबाट बहुमतले संकल्प प्रस्ताव पारित गरेको र वैशाख २६ गतेको पत्रमार्फत संवैधानिक व्यवस्थाबमोजिम समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव दर्ता हुन नआएको जानकारी प्राप्त भएको जनाउँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

यसअघि एमाले र माओवादी संसदीय दलका नेताहरुले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएका थिए।

प्रदेश प्रमुख खापुङले संघीय सरकारका महान्यायाधिवक्ता डा दीनमणि पोखरेलसँग कानुनी परामर्श पनि लिएका थिए। 

पोखरेलसँगकाे परामर्शपछि उपधारा २ मा फर्किने र दुई वा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई दाबी पेस गर्न आह्वान गर्ने तयारी भएको थियो।

तर अन्तिम समयमा उपधारा ५ बाटै दोस्रोपटक सरकार आह्वान गर्ने निष्कर्षमा प्रदेश प्रमुख पुगेका हुन्। 

एमाले र माओवादीले पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई नै मुख्यमन्त्री बनाउने तयारी गरेको तर उनी यसअघि उपधारा २ र ३ मा नियुक्त भएर विश्वासको मत लिन असफल भइसकेका कारण विभिन्न प्रश्न उठ्न सक्नेतर्फ पनि छलफल भएको थियो।

 

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .