ad ad

कोशी


कोशी सरकार गठन गर्ने आज अन्तिम दिन, गठबन्धनबाट उद्धव थापाले दाबी पेस गर्ने

कोशी सरकार गठन गर्ने आज अन्तिम दिन, गठबन्धनबाट उद्धव थापाले दाबी पेस गर्ने

कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा


नेपालखबर
असार २१, २०८० बिहिबार ९:३९, काठमाडौँ

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज अपराह्न ५ बजे सकिँदै छ। 

विश्वासको मत पाउन नसकी एमाले नेतृत्वको सरकार यही असार १५ गते ढलेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले १७ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि आज (असार २१ गते) अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आहृवान गरेका थिए। 

उक्त समयभित्र गठबन्धनका तर्फबाट नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी गरेका छन्। उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा सरकार नेतृत्वको दाबी पेस गर्न लागेका हुन्। 

९३ सदस्य रहेको कोशी प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ मत चाहिन्छ। तर गठबन्धनमा रहेका चार दलको बहुमत सभामुखसमेत जोड्दा मात्रै पुग्छ। प्रदेशसभामा कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। यी सबै जोड्दा ४७ नै पुग्छ। तर मुख्यमन्त्रीमा नियुक्त भइसकेपछि विश्वासको मत पाए मात्र सरकार टिक्नेछ। अन्यथा संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका नेताको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ।

विश्वासको मत विभाजन गरिँदा दुवैतर्फ बराबरी संख्या भएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउने प्रावधान छ। यस अवस्थामा ६ सांसद रहेको राप्रपाले सघाएको खण्डमा मात्र गठबन्धनको सरकार टिक्ने निश्चित देखिन्छ। त्यसो त राप्रपाले यसअघि सरकारविहीनताको अवस्था रहन नदिने बताएको थियो। तर उसले अहिलेसम्म निर्णय गरिसकेको छैन। 

आफ्नो पार्टी एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको १ जना गरी ६० सांसदको समर्थनमा २०७९ पुस २४ गते हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए। तर माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि उनले असार १५ गते प्रदेशसभामा विश्वासको मत लिएका थिए। तर बहुमत नपुगेपछि एमाले नेतृत्वको सरकार ढलेको थियो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .