कोशी


प्रदेश महामन्त्री राईले भने- पुल बनाउनुस्, कोशीमा चोबल्ने दिन नआओस्

प्रदेश महामन्त्री राईले भने- पुल बनाउनुस्, कोशीमा चोबल्ने दिन नआओस्

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १९:१९, काठमाडौँ

खोटाङका प्रदेश सांसद एवम् कांग्रेसका कोशी प्रदेश महामन्त्री भुपेन्द्र राईले पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाएका छन्। सडक पूर्वाधार कार्यालय पुल शाखा धरानका प्रमुख प्रदीप भण्डारीलाई भेटेर महामन्त्री राईले धाप्लाङ घाटको पुलमा अत्याधिक ढिलासुस्ती भएको भन्दै ध्यानाकर्षण गराएका हुन्। 

सांसद राईले भण्डारीलाई भने, ‘खालि चिठ्ठि आदान प्रदान मात्रै नगरौँ, व्यवहारमा देखिने गरी काम गर्नु परो, फाइल मिलाउने मात्रै काम भइरहेको छ। खोटाङ्गे जनताको धैर्यताको बाँध नटुटोस्। हाम्रो धैर्यताको बाँध टुटेर तपाईहरुलाई कोशीमा चोबल्ने दिन नआओस्।’

पुल नबने आफूहरुले निर्माण व्यवसायीसँग नभई ठेक्का दिने कार्यालयसँग हिसाबकिताब खोज्ने सांसद राईले चेतावनी दिए।

‘खोटाङलाई अहिलेसम्म सौतेनी व्यवहार भयो। यसबाट खोटाङका नागरिक पीडामा छन्। अब पनि पुल बनेन भने सम्बन्धित निकायका मान्छेलाई लगेर कोशीमा चोबल्छौं। याद गर्नु होला। अब पनि म्याद थप्दै जाने नसोच्नु होला’, राईले भने।

पुल शाखा प्रमुख भण्डारीले भने ठेक्काको म्याद थप नियमानुसार भएको दाबी गरेका थिए। सरकारले सार्वजनिक खरिद ऐन संशोधन नगरे अब म्याद थप नहुने भण्डारीको जवाफ छ।

सांसद राईले भने अहिलेसम्म पुल नबनाउने कम्पनीलाई कालो सूचीमा राखेर कारबाही गर्न माग गरेका छन्। म्याद सकिन दुई महिना मात्रै बाँकी छ। तर पुल शाखा डिजाइन परिवर्तन गर्ने तयारीमा रहेको भन्दै उनले आपत्ति जनाए। 

म्याद थप्ने मनसायले डिजाइन परिवर्तन गर्ने खेल भइरहेको भन्दै निर्माण व्यवसायीसँग कर्मचारीको मिलेमतोमा यसरी खोटाङ्गे जनतालाई दुख दिने काम अब सह्य नहुने उनले चेतावनी दिए। 

खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल २०७३ असार ३० गते सम्झौता भएको थियो। २०७६ असार २९ गते सम्पन्न गर्ने गरी सम्झौता भए पनि पुल निर्माण नै सुरु भएको छैन। बरु पटक पटक डिजाइन परिवर्तन भइरहेको छ। 

खोटाङको सुन्तले र उदयपुरको साउने जोड्ने सुनकोशी नदीको पक्की पुल निर्माणको ठेक्का रसुवा एसएनएस पप्पु जेभीले पाएको थियो। 

पुल २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका थिए। तर शिलान्यासको साढे ५ वर्ष बित्दा पनि पुल निर्माण हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .