ad ad

कोशी


आजदेखि विराटनगरमा गर्ने भनिएको पहिचानवादी आन्दोलन रोकियो

प्रदेशको पुनः नामकरण गराउनेगरी ‘निर्णायक आन्दोलन’को तयारी
आजदेखि विराटनगरमा गर्ने भनिएको पहिचानवादी आन्दोलन रोकियो

फाइल तस्बिर


ध्रुव भट्टराई
बैशाख ११, २०८० सोमबार १०:८, विराटनगर

‘कोशी प्रदेश’ नाम खारेजी माग गर्दै आन्दोलनरत ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले आजदेखि विराटनगरमा गर्ने भनेको आन्दोलन स्थगन गरेको छ। 

आइतबार साँझ बसेको संघर्ष समितिको बैठकले पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गराउनेगरी आन्दोलनलाई निर्णायक बनाउन भन्दै आज विराटनगरमा सुरु गर्ने भनिएको आन्दोलन केही समयका लागि रोकेको हो। 

विज्ञप्ति जारी गर्दै संघर्ष समितिले भनेको छ– ‘...वैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलनलाई प्रदेशसभाको बैठक केन्द्रित गरी सो बैठकबाट प्रदेशको ‘कोशी’ नाम खारेज गराउने गरी र प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानसहितको पुनः नामकरण गर्ने गराउनेगरी निर्णायक आन्दोलन गर्ने रणनीति बनाउँदै आन्दोलन केही समयका लागि सारिएको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौँ।’

यस अवधिमा अर्थात् वैशाख ११ देखि २१ गतेसम्म अब संघर्ष समिति गठन हुन बाँकी रहेका प्रदेशका हरेक वडावडामा समिति गठन गरिसक्ने, पूर्वघोषित कार्यक्रमहरू प्रदेशको मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, ८२ जना प्रदेश सभा सदस्यहरूलाई कालो झण्डा देखाउने, सरकारी कार्यालयहरूमा ‘कोशी’ लेखिएको बोर्ड, लेटरप्याड, स्ट्याम्प नचलाउने, हटाउने र पालिकाहरूमा ‘कोशी’ नाम विरुद्धका कार्यक्रमहरू निरन्तर गर्ने समितिले जनाएको छ। साथै ‘कोशी’ प्रदेश नाममा मत दिएका प्रदेश सांसदहरूलाई भेटेर हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने, ८२ सांसदको विरुद्धमा विरोधसभा गर्ने, विराटनगरमा ती सांसदहरूलाई कोठा भाडामा नदिन घरवालाहरूलाई अनुरोध गर्ने कार्यक्रम गरिने समितिले विज्ञप्तिमा उल्लेख गरेको छ। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संघर्षरत संगठनका नेताहरू गाउँगाउँ गएर ‘कोशी’ नाम खारेजी अभियान’ सञ्चालन गर्दै निर्णायक आन्दोलनको तयारी गर्ने यसै विज्ञप्तिमार्फत सबैमा जानकारी गराउँदै छौँ।’ 

यस क्रममा संघर्ष समितिले वैशाख ९ गते पहिचानको प्रथम सहिद लाजेहाङको शव यात्राका क्रममा विराटनगरको रोडशेष चोकमा प्रहरीले गरेको अवरोध र आक्रमणमा परी किरात याक्थुङ चुम्लुङ सङ्घीय अध्यक्ष प्रेम एक्तेन, किरात राई यायोक्खा संघीय उपाध्यक्ष देवान राई, सचिव नगेशचन्द्र राई, चन्द्रकुमार राई, डेनिस राई, दया राई, शन्तकुमार शेर्मा, मनिता याक्खा, मोमु केछाङ, खगेन याक्खालगायत घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचानवादीहरु आन्दोलित छन्। उनीहरुले कतिपय पालिकाका बोर्ड हटाइदिएका छन्। पहिचानवादीहरुले विराटनगरमा चैत ५ गते बृहत् प्रदर्शन गरेका थिए। त्यही आन्दोलनमा सहभागी बेलबारीका पदम लिम्बू लाजेहाङ प्रहरीसँगको झडपमा परी घाइते भएका थिए भने उपचारका क्रममा चैत १० गते उनको निधन भएको थियो। त्यसपछि आन्दोलनकर्ताहरु झनै आक्रोशित भएका छन्। यसबीच आन्दोलनकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढेको गाडी तोडफोड गर्ने प्रयाससमेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .