ad ad

कोशी


द्वन्द्वमा लागेको गोली निकाल्ने खर्च जुटाउन नसक्दा अस्पतालमै बाबुराम

१८ वटा युद्ध लडेका कमाण्डर ९ पटक जेल परे
द्वन्द्वमा लागेको गोली निकाल्ने खर्च जुटाउन नसक्दा अस्पतालमै बाबुराम

ध्रुव भट्टराई
पुस १८, २०७९ सोमबार ९:३९, विराटनगर

ज्यान जोखिममा राखेर संखुवासभाका बाबुराम राई (विवश) पार्टीका लागि युद्धमा होमिए।

सशस्त्र द्वन्द्वको क्रममा माओवादी लडाकु रहेका बाबुराम पूर्वी नेपालमा भएका सिन्धुलीको भिमान, मोरङको जाँते लगायतका दर्जन बढी ठूला भीडन्तमा अग्रपंक्तिमा थिए।

र, तत्कालीन शाही नेपाली सेनासँगको भिडन्तमा उनी कयौँ पटक घाइते भए।

जुन पार्टीको निर्देशनमा उनले ज्यानको बाजी लगाए, त्यही पार्टी अहिले झन् ठूलो शक्तिसहित सरकारको नेतृत्व गरिरहेको छ।

तर, घाइते जीवन बिताइरहेका बाबुराम माथि अर्को पीडा थपिएको छ। १८ वटा युद्ध लडेका कमाण्डर ‘विवश’ विराटनगरको न्यूरो अस्पतालको बेडमा छटपटिँदै छन्।

आर्थिक अभावले उनको उपचारमा समस्या परेको छ। तत्काल टाउकोको अप्रेशन गर्नुपर्ने चिकित्सकले बताएपनि रकम जोहो गर्न नसक्दा बाबुराम यतिखेर अस्पतालको शय्यामा मृत्युसँग लडिरहेका छन्।

जनयुद्धकालमा १८ वटा मोर्चामा लडाईं लडेर घाइते भएका बाबुराम सिकिस्त बिरामी परेका छन्। बाबुरामलाई केही दिनदेखि टाउकोबाट लगातार पिप बग्न थालेपछि उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो। 

त्यहाँ उपचार हुन नसकेपछि प्रतिष्ठानले विराटनगरस्थित न्यूरो अस्पतालमा रेफर गरेको हो।

‘तीन दिन अगाडि विपी प्रतिष्ठान इमरजेन्सीमा भर्ना हुनुभएको थियो, आज बिहान न्यूरो रेफर गरेको हो,’ उनका सहयोगी लविन्द्र खड्काले भने, ‘अपरेशन गर्नुपर्छ भनेको छ, उहाँसँग सिटी स्क्यान गर्ने पैसा समेत नभएर हामीले केही रकम जम्मा गरेर सिटी स्क्यान चाहिँ गरेका छौँ। दैनिकको बेडचार्ज बुझाउने पैसा पनि उहाँसँग छैन, टाउकोबाट पिप बगिरहेको छ।’ 

जनयुद्धकालमा पटक-पटक उनले मृत्युलाई नजिकबाट देखेका छन्। जनयुद्धकाल र शान्तिकालमा गरी उनी ९ पटक जेल परेका छन्। उनी माओवादीका तर्फबाट प्रदेश १ प्रदेशसभामा समानुपातिक तर्फको बन्दसूचीमा थिए। 

युद्धकालमै टाउकोमा एटिवानको मोर्टार लागेर शक्त घाइते भएका उनी त्यसबेला २६ दिनको उपचारपछि होसमा आएका थिए। सोही कारण उनी औषधि सेवन गरिरहेका थिए। 

माओवादीले थालेको सशस्त्र युद्धमा २०५७ मंसिर देखि लागेका उनले तेह्रथुमको पोक्लाबङ, पाँचथरको गोपेटार, संखुवासभाको चैनपुर, सिन्धुलीको भिमान, ओखलढुङ्गाको रुम्जाटार, सिरहाको लहान, काभ्रेपालान्चोकको भकुण्डेवेसी, मोरङको बेलबारी, जांते, झापाको विर्तामोड चेकपोष्ट आक्रमण, सुनसरीको दुहवी चेकपोष्ट, भोजपुरको रिपीटर टावर आक्रमण, संखुवासभाको तुम्लिङ्टार भीडन्त, इलामको मंगलबारे भिडन्तमा लडेका थिए। 

उनकी श्रीमती विमला चौहान (सीमा) जनयुद्धकै बेलामा सहीद भएकी थिइन् भने बहिनी पनि जनयुद्धमा सहभागी भएकी थिइन्। उनी ०६१ सालको फागुनमा मोरङको जाँतेमा भएको भीडन्तमा परी गम्भीर घाइते भएका थिए।

त्यसबेला उनको भारतको सिलिगुढी लगेर उपचार भएको थियो। एक्कासी एमएमको मोटार्रले लागेका उनी २६ दिनपछि होसमा आएका थिए। 

भारतको जलपाइगुडी र कलकता गरी ३ वर्ष जेल बसेका उनी झापाको भद्रपुर, काठमाडौं हनुमान ढोका, जावलाखेल, खाँदबारी, ललितपुर, विराटनगर, पथरी, चैनपुर, उदयपुरलगायतका ठाउँमा उनी ९ पटक जेल परेका छन्।

घरको आर्थिक अवस्था निकै नाजुक रहेको भन्दै बाबुरामको उपचारका लागि उनका सहयोगी लविन्द्र खड्काले सहयोगको याचना गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .