कोशी


आठ ट्रक सुपारीमा उच्च राजनीतिक ‘कनेक्सन’, भन्सार र प्रहरीको दोहोरी

आठ ट्रक सुपारीमा उच्च राजनीतिक ‘कनेक्सन’,  भन्सार र प्रहरीको दोहोरी

नेपालखबर
साउन १२, २०७९ बिहिबार १९:१६, काठमाडौँ

गत साउन ५ प्रहरीले बरामद गरेको ८ ट्रक सुपारीबारे अनुसन्धानमा माथिल्लो निकायको दबाबले राजश्व अनुसन्धान इकाई कार्यालय इटहरी समस्यामा परेको छ। 

उच्च अधिकारीहरुले उक्त सुपारीमा आफ्ना इन्ट्रेष्ट देखाउँदा राजश्व अनुसन्धान कार्यालयले तीन दिन बित्दा पनि अनुसन्धान शुरु गर्न सकेन। 

बुधबारबाट अनुसन्धान शुरु गरे पनि टुङ्गोमा पुर्याउने कुरामा राजश्वलाई समस्यामा परेको छ। बरामद सुपारीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्मको कनेक्सन देखिएको छ। 

स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा उक्त सुपारी प्रहरीले बरामद गरेको हो। तर, अहिले  उक्त सुपारीलाई लिएर प्रहरी र भन्सार कार्यालयबीच दोहोरी चलिरहेको छ। 

भन्सारले आफूले सबै कागजात हेरेर निकासी गरेको तर्कसहित प्रहरीले अनावश्यक हस्तक्षेप गरेको जिकिर गरेको छ।
प्रहरीले भने गलत ढङ्गले सुपारी निकासी भएकाले सूचनाका आधारमा अनुसन्धानका लागि सहजीकरण गरेको दाबी गरेको छ। 

भन्सारले नेपालबाट निकासी भएर भारतीय भन्सार कार्यालयले पैठारी अनुमति दिइसकेको अवस्थामा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको बताएको छ।

यी दुई सरकारी निकायबीचको विवाद चलिरहँदा राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीले अनुसन्धान थालेको छ। 

साउन ५ मा बरामद ती सुपारीका ट्रक मोरङ प्रहरीले साउन ८ मा राजस्व अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो। 

दुई सरकारी कार्यालयको विवादका कारण अनुसन्धान इकाई कार्यालयले तीन दिनसम्म प्रक्रिया अघि बढाएन।

प्रहरीले जिम्मा लगाएका ८ वटा ट्रकमध्ये २ वटा अनुसन्धान इकाई कार्यालयभित्र राखिएको छ। बाँकी ६ वटा ट्रक कार्यालय परिसर बाहिर छन्। 

राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालले अनुसन्धान थालेको बताए। उनले सुपारीबारे सरोकारवाला निकायहरूलाई पत्र पठाइएको जानकारी दिए। 

सबै निकायलाई आवश्यक जानकारी माग गर्दै पत्र पठाइएको उनले बताए। प्रहरी र भन्सार कार्यालयले आ–आफ्नै दाबी गरिरहँदा वास्तविकता पत्ता लगाउन अनुसन्धान थालिएको बताए। 

इटहरीस्थित कार्यालयले भन्सार कार्यालय विराटनगर, सुपारी निकासी गर्ने फर्म मनकामना इन्टरप्राइजेज र नेपाल सुपारी खेती विकास संस्थालाई पत्र पठाएको छ।  

राजस्व अनुसन्धान कार्यालय स्रोतका अनुसार भन्सार कार्यालयलाई पठाएको पत्रमा उक्त आठ ट्रक सुपारी निकासी गरिएको हो कि होइन? हो भने के के कागज हेरेर निकासी गरिएको भनेर सोधिएको छ।

यस्तै सुपारी खेती विकास समितिलाई पनि नेपाली उत्पादन हो भन्ने आधार के हो भनेर पत्रमा सोधिएको छ। 

राजश्व स्रोतले ती सबै ट्रक भारतीय भन्सार कटेर फर्किएका जनाएको छ। ती ट्रक मिरगञ्ज पुलको समस्याका कारण पैठारीका लागि राजश्व काटेर शिल गरि पुन ट्रक कोसी ब्यारेजको बाटो हुँदै जान नेपाल आएका खुलेको छ। 

सिल भएका ट्रक खोलेर अनुसन्धान गर्न नमिल्ने भन्दै राजश्वका कर्मचारीहरु तीन दिनसम्म पन्छिएका थिए। तर प्रधानमन्त्री कार्यालयबाटै दबाब आएपछि छानबिन थालिएको श्रोतको दाबी छ। 

बरामद सुपारीको ट्रकको भिडिओ

प्रहरीले युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, युपी ५० एटी ३१५८, युपी ६२ सीटी ०६२७, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१ र युपी ५४ टी ६४२९ गरी ८ ट्रकमा लोड गरिएका सुपारीलाई प्रहरीले साउन ५ गते नियन्त्रणमा लिइ ८ गते राजस्व अनुसन्धान इकाई कार्यालय इटहरीलाई बुझाएको थियो। 

ट्रकमा २ लाख १९ हजार ५९६ किलो सुपारी फेला पर्यो‍। जसको मुल्य ८ करोड ६३ लाख ८१ हजार ५६८ रुपैयाँ मूल्य बराबरको छ। 

सुपारी निकासका लागि दिइएको उत्पादनसम्बन्धी पत्र

प्रहरी र भन्सार दोहोरी 
प्रहरीले बरामद सबै सुपारी तेस्रो देशबाट आयत गरिएको जनाएको छ। नेपालमा उत्पादनको प्रमाण पत्र बनाएर भारत लगेको दाबी प्रहरीको छ। 

प्रदेश १ का प्रहरी प्रमुख डिआइजी सुदीप गिरीले गलत तरिकाले सुपारी भारततर्फ लैजाँदै गरेको सूचनाका आधारमा अनुसन्धानका लागि प्रहरीले सहजीकरण गरेको बताए।

उनका अनुसार वैद्य अवैद्य छुट्याउन अनुसन्धान गर्ने काम राजश्व विभागको भएकाले त्यहीँ बुझाइएको हो। ‘सही गलत पत्ता लगाउने काम राजश्व अनुसन्धानको हो प्रहरीको होइन’, उनले  भने, ‘राजश्वलाई सजिलो होस् भनेर नेपाली सुपारीसमेत नमुनाका लागि पठाइएको हो।’

भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी रामचन्द्र प्रसाद ढुङ्गानाले सबै प्रक्रिया पूरा गरेर भन्सारले निकासी अनुमति दिएको बताए। उनले आवश्यक सबै कागजातका आधारमा निकासी अनुमति दिइएको उनले दाबी गरे। 

सुपारी निर्यात गर्ने कम्पनीले भारतीय भन्सारमा पैठारीका लागि राजश्वसमेत तिरेको अवस्थामा प्रहरीले बरामद गरेको उनले दाबी गरे। 

मिरगञ्ज पुलको समस्याका कारण भारतीय भन्सारबाट सबै प्रक्रिया पूरा गरि कोसी ब्यारेजस्थित भाण्टाबारी नाकाबाट सुपारी ढुवानी भइरहेको बेला प्रहरीले बरामद ढुंगानाको दाबी छ। 

उनले सिल भइसकेको सुपारी के कति कारणले बरामद गरियो? यसको अनुसन्धानपछि खुल्ने बताए। डीआईजी गिरीले भने त्रिपालले छोपेको सुपारीको सिलको विधिबारे अनभिज्ञ रहेको बताए। 

‘हामीले नेपाली भूमिमा सुपारी नियन्त्रणमा लिएका हौँ’, उनले भने, ‘सिलबन्दी भएको विषयमा मलाई जानकारी छैन। ’ 

सुपारीमा आयात र निकासीमा एकछत्र राज 
बरामद सुपारी मनकामना इन्टरप्राइजेजले निकासी गरेको थियो। झापामा उत्पादन भएको सिफारिस नेपाल सुपारी खेति विकास संस्था अर्जुनधाराले दिएको छ। 

संस्थाले झापामा उत्पादन भएको सुपारी २०७१ सालदेखि निकासी हुन नपाएर स्टकमा रहेको कागज जिल्ला कृषि कार्यालयबाट प्रमाणित गराएको छ।

यसैका आधारमा मनकामना इन्टरप्राइजेजले भन्सारबाट निर्यात अनुमति लिएको कागज राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा पेश गरेको छ। 

मनकामना इन्टरप्राइजेजको प्रोप्राइटर नवीन घिमिरे हुन्। विराटनगरमा होटल व्यवसाय गर्ने घिमिरेको नाममा उक्त फर्म दर्ता रहे पनि सुपारीको कनेक्सन भने सुपारी किङका रुपमा चिनिने दीपक पोखरेलको भएको बताइन्छ। 

पोखरेलको नातामा नवीन साला पर्ने देखिएपछि बरामद सुपारी  पोखरेलकै भएको  दावी छ। तर यसबारे नवीन र दीपक दुवैले केही बोलेका छैनन्। 

नवीनले असारमा मात्रै ८० ट्रक सुपारी निर्यात भइसकेको बताएका थिए। बरामद ८ ट्रकबाहेक उनको फर्मका नाममा नेपाल सुपारी खेती विकास संस्थाले ९६ मेट्रिक टन सुपारी निकासीको सिफारिस बनाइदिएको छ। उक्त कागज नेपालखबरले फेला पारेको छ। 

साउन ४ गतेको सिफारिस पत्रमा मनकामना ट्रेडर्सले पीएन ट्रेडर्स वाराणसीलाई बेचेको उल्लेख छ। संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडा र महासचिव शेखरनाथ अधिकारीले हस्ताक्षर गरेको पत्रमा ९६ मेट्रिक टन सुपारीको मूल्य ३ करोड ८७ लाख ७२ हजार रहेको उल्लेख छ। 

विराटनगरका होटल व्यवसायीले सुपारीको कारोबार गर्ने भन्दा उनलाई प्रयोग गरेर दीपकले भारत निर्यात गरेको श्रोतको दाबी छ। 

अनुमति पाएका सुपारीमध्ये केही ४ वटा ट्रकमा लोड भएर विराटनगर भन्सारमा जाँचपासका लागि आएका छन्। तर बरामद सुपारीको विवाद नमिलेकाले जाँचपास भएर पनि भन्सारबाट बाहिर ल्याइएको छैन।  

राजनीतिक कुरा नमिल्दा सुपारीमा लफडा
तेस्रो देशबाट सुपारी आयात गरि भारत पठाउने खेलमा दीपक पोखरेल र उनको समूहको एक छत्र राज छ। सौर्य एयरलाइन्सका सञ्चालक समेत रहेका पोखरेलको नेतृत्वमा सुपारीको लाइन चल्ने गरेको सुपारी व्यापारमा संलग्नहरु नै बताउछन्। 

तर पछिल्लो समय भने राजनीतिक कारणले उनको कारोबारमा रोक लगाउन खोजिएको श्रोतको दावी छ। 

उनी पछिल्लो समय एमालेनिकट भएका छन्। केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनी एमालेनिकट भएका थिए। 

उनको समूहमा झापाका प्रदीप मित्तल, शंकर अग्रवाल, श्याम अग्रवाल, तान्वी ट्रेडर्स, श्यामजी सप्लायर्स तथा सांघाई ग्रुप छन्।

यस्तै पोखरेलको समुहमा विराटनगरका प्रदीपकुमार मुरारका, दिनेश राठी, मोती दुगड झापाका गोविन्द सरिया लगायत छन्। मोती दुगड एमाले भएपछि राजनीतिक प्रतिशोधका कारण सुपारी बरामद गरिएको कारोबारमा संलग्नहरु बताउँछन्। 

तेस्रो देशबाट आयात गरि नेपालमा उत्पतिको प्रमाण पत्र बनाउने काममा दीपक पोखरेलले अगुवाइ गर्ने गरेका कारोबारमा संलग्नहरु नै बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .