कर्णाली


जेनजीको तालाबन्दीपछि हुम्लामा जहाजको टिकट भागबण्डा गर्ने सहमति

जेनजीको तालाबन्दीपछि हुम्लामा जहाजको टिकट भागबण्डा गर्ने सहमति

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार ६:३६, काठमाडौँ

सिमकोट-नेपालगञ्जको हवाई टिकट वितरणमा भागबण्डा गरिएपछि जेनजीको तालाबन्दी खुलेको छ।

हवाई टिकट वितरण सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एअरलाइन्सका कार्यालयमा सिमकोट गाउँपालिका-५ का युवाले तालाबन्दी गरेका थिए। हवाई टिकट वितरणमा पारदर्शी नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिठ्ठाका आधारमा टिकट वितरण गर्दा झन् समस्या भएको भन्दै विरोध गरेका थिए।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले टिकट भागबण्डा गर्ने सहमति गरेको हो। सहमतिपछि एअरलाइन्सका कार्यालयमा लगाएको ताला खुलेको छ। 

जिल्लामा उपलब्ध राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसहित जनप्रतिनिधिको उपस्थितिमा सम्पन्न बैठकले प्रत्येक उडानमा दुई हवाई टिकट बिरामीलाई वितरण गर्ने सहमति गरेको छ। त्यस्तै, तीन वटा टिकट सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिश गर्ने तथा तीन टिकट एअरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइन माध्यमबाट वितरण गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए। 

त्यसैगरी, सिमकोट गाउँपालिका वडा नं. ५ र ६ का स्थानीय बासिन्दाका लागि वडा कार्यालयको सिफारिशमा एक–एक टिकट वितरण गर्ने सहमति बनेको छ। बाँकी टिकट एअरलायन्सले प्राथामिकता र सहजताका आधारमा वितरण गर्ने निर्णय भएको रेग्मीले जानकारी दिए। 

पन्ध्र सिट भएको जहाजमा यसअघि भनसुनका आधारमा टिकट वितरण हुँदै आएको थियो। यो तालिका सिमकोट विमानस्थलमा उडान भर्ने सीता, समिट, तारा र नेपाल एअरलाइन्सका सम्पूर्ण उडानमा लागू हुने बताइएको छ। (रासस) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad