दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी र प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीबीच विवाद भएको छ। विवादमा अध्यक्ष बिसीले आफूमाथि सिसाको गिलास प्रहार गरेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले दाबी गरेका छन्।
अध्यक्ष विसी र घर्तीबीच वैशाख २१ गते दिउँसो सरकारी कामकाजका विषयमा विवाद भएको थियो।
अध्यक्ष विसीको कार्यकक्षमा प्रशासकीय अधिकृत घर्ती र अध्यक्षबीच विवाद भएको हो।
उक्त घटना बाहिरिपछि प्रमुख प्रशासकीय अधिकृत घर्तीले अध्यक्ष बिसीले आफूमाथि सिसाको गिसाल प्रहार गरेको दाबी गरेका छन्।
‘सञ्चार माध्यममा आए जस्तो कार्यपालिकाको कामकाजको विषयमा गापा अध्यक्षसँग सवाल–जवाफ हुँदा मलाइ लक्षित गरी अध्यक्षले सिसाको गिलास टेबलमा हान्दा मलाई सिसाको टुक्राले सामान्य चोटपटक लागेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उक्त घटनाको सम्बन्धमा श्रीमान प्रमुख जिल्ला अधिकारी, श्रीमान सहायक प्रमुख जिल्ला प्रशासन सेवाको साथै प्रमुख जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको छु।’
घर्तीले कार्यालयमा आफूलाई असुरक्षित महसुस गरेको उल्लेख गरेका छन्। घर्तीले सामाजिक सञ्जाल फेसबुकमा गरेको उक्त पोष्ट अहिले हटाएका छन्।
यस्तै, गाउँपालिकाका प्रवक्ता दिपेन्द्र ओलीले कुनै सरकारी कामकाजका विषयमा विवाद भएको हुनसक्ने बताए। उनले भने, ‘म काम विषेशले पालिका बाहिर छु। सरकारी कामकाजका विषयमा केही समस्या भएको हुनसक्छ भन्ने मेरो अनुमान हो। अन्य कुरा जानकारी छैन।’
पालिका स्रोतले अनियमित इन्धन प्रयोग, अध्यक्षले होटेलमैत्री कार्यक्रम सञ्चालन गर्न खोजेको विषय तथा विभिन्न असम्बन्धित व्यापारिक व्यक्ति र संघ संस्थासँगको सम्बन्धबारे प्रमुख प्रशासकीय अधिकृत घर्तीले असहमति जनाउँदै आएको जनाएको छ।
त्यस्तै अध्यक्षले कार्यालय प्रयोजनका सामान आफैँ खरिद गर्ने गरेको, अध्यक्षकै दराजमा हालसम्म विभिन्न सामग्री रहेको तथा ती सामग्रीको बिल भुक्तानीसमेत नभएको अवस्था रहेको स्रोतको दाबी छ।
घटनापछि प्रमुख प्रशासकीय अधिकृत घर्ती कार्यालय नगएको र उनले सुरक्षाको कारण उक्त स्थानमा रही काम गर्न नसक्ने जानकारीसमेत मन्त्रालयलाई गराइएको बताइएको छ।
पालिका स्रोतका अनुसार अध्यक्ष विसीले यसअघि पनि प्रमुख प्रशासनिक अधिकृत तथा शिक्षा शाखा प्रमुखमाथि रजिस्टर ढड्डा प्रहार गरेका थिए। यस विषयमा अध्यक्षसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।
Shares

प्रतिक्रिया