कोसी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबिचको सहकार्यलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ उद्योग सङ्गठन मोरङले ‘कोसी कनेक्ट’ व्यावसायिक मिसन प्रारम्भ भएको छ।
माघ २ गते (आज)देखि ४ गतेसम्म सञ्चालन हुने यस तीन दिने अभियानले औद्योगिक विकास, क्षेत्रीय साझेदारी र व्यवसाय–व्यवसाय (बीटूबी) बीचको आपसी सम्बन्ध अभिवृद्धि गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने लक्ष्य राखेको छ।
यस मिसन अन्तर्गत सङ्गठनको उच्चस्तरीय प्रतिनिधि मण्डलले उदयपुर, खोटाङ र भोजपुर जिल्लाको भ्रमण गरी त्यहाँका स्थानीय उद्योगी, व्यवसायी र सरोकारवालाहरूसँग लगानीका अवसर तथा आपसी सहकार्यका विषयमा विस्तृत अन्तरक्रिया गर्ने सङ्गठनका अध्यक्ष नन्द किशोर राठीले जानकारी दिए।
निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा, विपिन कावरा र सुबोध कोइराला, कोषाध्यक्ष पारस लुनिया तथा विभिन्न कार्यसमिति सदस्यहरू, उद्यमीहरू र महिला एवं युवा उद्यमीहरू सहभागी हुनेछ।
सङ्गठनका अध्यक्ष नन्द किशोर राठीका अनुसार, यो व्यावसायिक मिसनले क्षेत्रीय व्यापारलाई सुदृढ गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र साझा समृद्धिको मार्ग निर्माण गर्न महत्त्वपूर्ण टेवा पुर्याउन छ।
उद्योग सङ्गठन मोरङले यस अभियानमार्फत पहाड र तराईलाई साझा विकासको यात्रामा जोड्ने र आर्थिक एजेन्डामा एउटै लक्ष्य निर्माण गर्ने विश्वास व्यक्त गरेको उनले बताए।
अध्यक्ष राठीले कोसी प्रदेश सरकारले घोषणा गरेको ‘कोसी पर्यटन वर्ष २०८२’ लाई समर्थन गर्दै पर्यटन प्रवर्द्धन र प्रादेशिक रूपमा सम्बन्ध विस्तारमा समेत यस मिसनले योगदान दिने उल्लेख गरे।
‘कोसी कनेक्ट’ मिसनले मुख्य गरी अन्तर–जिल्ला व्यापारिक सञ्जालको स्थापना, लगानीका अवसरहरूको प्रचार–प्रसार र ‘मेरो देश मेरै उत्पादन’ अभियानमार्फत स्वदेशी वस्तुको बजार विस्तार गर्ने लक्ष्य लिएको छ।
टोलीले माघ २ गते त्रियुगा उद्योग वाणिज्य सङ्घ (गाईघाट), ३ गते खोटाङ उद्योग वाणिज्य सङ्घ र ४ गते भोजपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा स्थानीय व्यवसायीहरूसँग अन्तरक्रिया हुने जनाइएको छ।
Shares

प्रतिक्रिया