एक लाख रुपैयाँ घुससहित प्रकाउ परेका दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
प्रवक्ता राजेन्द्रकुमार पौडेलले डुङ्गेश्वर गाउँपालिकामा कार्यरत सातौँ तहका वरिष्ठ लेखा अधिकृत कार्कीले सडक स्तरोन्नति तथा निर्माण योजना सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीमा घुसमागेपछि पक्राउ परेका थिए।
केही महिना पहिला सुर्खेतदेखि टंगालस्थित अख्तियार मुख्यालय र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा कार्कीले डुङ्गेश्वर गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक–देउली–जडी सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गर्ने बहानामा घुस मागी लिएको प्रमाणित भएको आयोगले जनाएको छ।
आयोगले कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर कायम गरी बिगो रकम १ लाख र सो बराबरको जरिवाना तथा कैद सजायको मागसहित आरोपपत्र दायर गरेको छ।
Shares

प्रतिक्रिया