कर्णाली


कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १८:१३, काठमाडौँ

जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशस्थित सुरक्षानिकायहरूसँग छलफल गरेका छन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकोले आश्वस्त पार्ने गरि काम गर्न चारैवटै सुरक्षा निकायलाई आग्रह गरे।
  
मुख्यमन्त्री कँडेलले उदेश्य राम्रो भएपनि आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति व्यहोर्नु परेको र नागरिक अझैपनि भयवित अवस्थामा रहेकोले जनजीवन सामान्यकृत हुनेगरी आफना गतिविधि सञ्चालन गर्न चारैवटै सुरक्षा निकायलाई सुझाव दिए। 

मुख्यमन्त्री कँडेलले भने, ‘जेन्जी पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरूको अनुसन्धान र कारबाहीका कामहरू हुन्छन नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन्, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाइँहरू लाग्नुस्।’ 

यस्तै, मुख्यमन्त्री कँडेलले थप शान्ति सुरक्षा बिग्रन नदिन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने सुरक्षा प्रमुखहरूलाई आश्वस्त पारे। उनले भने, ‘तपाईंहरूको तालुकदार निकाय संघीय सरकार होला तर प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्ने सन्दर्भमा तपाइँहरूलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार छ। ’                                                                                     
साथै, उनले शान्तिपूर्ण प्रर्दशनबाहेक हिंसात्मक गतिविधि नियन्त्रणमा राज्यले आवश्यक पहल लिनुपर्ने भन्दै माथिल्लो तहको आदेशको अन्यौलले जिल्लाका सुरक्षाकर्मीले भोगेको अवस्थाबारे आफू जानकार रहेको बताए।  

उनले भने, ‘नहुनुपर्ने क्षति भयो, सुर्खेतमा सिमित जनशक्तिले आफ्नो मेहनतले थप क्षति रोक्नु पनि भयो तर जसले तपाइँहरुलाई परिचालन गर्नुपर्ने थियो उसैले लत्ता छाडेपछि तपाइँहरुको नियन्त्रणमा रहेन।’ 

मुख्यमन्त्री कँडेलले अन्यत्रभन्दा क्षति कम गराउन सफल भएकोमा सुरक्षाकर्मीहरूलाई धन्यवाद पनि दिए। मुख्यमन्त्री कँडेलले यतिबेला आग्रह, पूर्वाग्रह र प्रतिशोध भन्दा संयम र धैर्यताको खाँचो रहेकोले सुरक्षाकर्मी संयमका साथ अगाडि बढ्नुपर्ने बताए। 

छलफल कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिशश्वर आचार्यसहित प्रदेशस्थित ४ वटै सुरक्षा प्रमुखहरूको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad