कर्णाली


मकैमा रोग लागेको गुनोसोपछि कर्णालीका कृषिमन्त्री विज्ञसहित अनुगमनमा

मकैमा रोग लागेको गुनोसोपछि कर्णालीका कृषिमन्त्री विज्ञसहित अनुगमनमा

नेपालखबर
भदौ १५, २०८२ आइतबार १६:५, सुर्खेत

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहलाई किसानले मकैमा रोग लागेको भन्दै फोन गरेका छन्।

दैलेखेको गुराँस गाउँपालिका-४ साल्तडाका किसानले फोन गरेर मकैमा रोग लागेको भन्दै फोन गरेका हुन्। किसानले फोन गरेको २४ घण्टाभित्रै मन्त्री शाहले आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा रोगको पहिचानको लागि अनुगमन गरेका छन्। 

साल्तडामा मकैको बीउ उत्पादनका लागि ५ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैमा रोग देखिएपछि किसान चिन्तित छन्। किसान तेजबहादुर शाहीले ८ हेक्टर भन्दा बढी क्षेत्रफल रहेको साल्तडामा ५ हेक्टरमा मकै, आँप र केराको खेती गरिएको बताए। उनले ५ हेक्टर जग्गामा लगाइएको मकैमा रोग लागेर सखाप पारेको गुनासो गरे।

वार्षिक ८ टन भन्दा बढी मकैको बीउ उत्पादन हुने क्षेत्रमा गत वर्ष र यस वर्ष रोग किरा लागेर ५० प्रतिशत बढी बाली नष्ट भएको किसान शाहीले बताए। 

मन्त्री शाहसँगै फिल्ड अनुगमनमा पुगेका एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली विकास अधिकृत यामबहादुर रानाले उक्त मकैमा कम्प्लेक्स टाइपको रोग देखिएको बताए। 

रानाले उक्त मकैमा थेग्ले, घोगा कुइने र काण्ड कुइने रोग देखिनुका साथै खाद्य तत्वको पनि कमी भएको बताए। 

साथै रानाले रोगको उपचार गर्नका लागि आवश्यक प्रयत्न गरिनुका साथै कृषकले खेती गर्दा अबका दिनमा बाली चक्र प्रणाली अपनाउनु पर्ने, रोग सहन सक्ने क्षमता भएका जातका बाली लगाउने, खेतबारीको सरसफाई गर्ने र पर्याप्त सिँचाइ व्यवस्था गरी खेती प्रणाली परिवर्तन गर्ने गरेमा रोगबाट बच्न सकिने सुझाव दिए। 

अनुगमनपछि मन्त्री शाहले दैलेखको साल्तडा कृषि उत्पादनको लागि सम्भावना बोकेको क्षेत्र भएको बताए। 

उनले भने, ‘किसानलाई समस्या भएको मन्त्रालयलाई जानकारी हुने बित्तिकै किसानको बारीमा प्राविधिकहरूसँग सरकार उपस्थित भएर समस्या समाधानका लागि अनुगमन गरिएको छ।’ 

उनले थपे, ‘सरकार किसानको पक्षमा छ। समस्या असिमित छन्। सबै सरकारले गरिदिओस् भन्ने मनोविज्ञान छ। तर, आफ्नो कर्तव्य अनुरुपका कामहरू किसानले पनि गर्नुपर्छ भने सरकारले गर्ने सक्ने सहयोग गर्छ नै।’

मन्त्री शाहले प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेशको रूपमा विकास गर्न लागिरहेको बताउँदै यसमा किसानहरूले साथ दिनुपर्ने बताए। उनले रासायनिक मलको प्रयोगको कारणले माटोको उर्वराशक्ति ह्रास भएको बताउँदै माटोमा अम्लियपना वृद्धि भएर माटोले उत्पादन दिन नसक्ने अवस्थामा भएको उल्लेख गरे। 

यस्तै, अनुगमनमा गएका मन्त्रीसहितको टोलीलाई किसानहरूले मागपत्र दिएका थिए। उक्त मागपत्र ग्रहण गर्दै मन्त्री शाहले प्रदेश सरकारले साल्तडामा सिँचाइका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको र मागपत्रमा भएका विषयहरूलाई आवश्यकताका आधारमा सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad