हुम्लाको हुम्ला सदरमुकाम सिमकोटमा जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको छ। बुधबार दिउँसो १ बजे सिमकोट गाउँपालिका–५ का काठेचुलीमा जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार लुप्र–०१–००१ज०२८२ नम्बरको जिप ब्रेक फेल भएर सिमकोट गाउँपालिका–५ का पदम रावतको घरभित्र पसेको हो।
जिप घरभित्र पसेर दुर्घटना हुँदा चालक खार्पुनाथ गाउँपालिका–१ का तीलक ऐडी घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिमकोटबाट सिमकोट तल्लो गाउँतर्फ जाँदै गर्दा गाडीको ब्रेक फेल भएर घरमा ठोकिन पुगेको हो।
जिप घरमा पस्दा स्थानीय रावतको घरको माथिल्लो तलाको एक कोठा भने पूर्ण रूपमा र घरको ढोका सहित एकतर्फको पूरै भित्ता भत्किएको छ।
प्रहरीका अनुसार जिपमा चालक मात्रै थिए। सामान्य घाइते चालकको जिल्ला अस्पतालमा हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया