कर्णाली


शुक्लाफाँटामा पाटे बाघ बढ्दो, ३६ बाट ४३ पुगे

शुक्लाफाँटामा पाटे बाघ बढ्दो, ३६ बाट ४३ पुगे

Photo: NepalTraveller.com


गोकुल जोशी
साउन १३, २०८२ मंगलबार १३:५१, कञ्चनपुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वर्षेनी पाटे बाघको संख्या बढ्दै गएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या ३६ बाट बढेर ४३ पुगेको छ। 

नेपाल सरकारले जारी गरेको बाघ तथा आहार प्रजातिको अनुगमन प्रोटोकलमा आधारित रहेर बाघको अनुगमन गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्र शेषर चौधरीले बताए। 

पर्याप्त आहार, गुणस्तरीय बासस्थान लगायतको उचित व्यवस्थापनले वर्षेनी पाटे बाघको संख्या बढ्दै गएको उनले बताए। 

सन् २०१३ मा पाटे बाघको संख्या १६ थियो। सन् २०२४ मा शुक्लाफाँटामा वयस्क पाटे बाघको संख्या ४३ पुगेको निकुञ्जले जनाएको छ। जसमा २१ भाले र १९ पोथी छन्। 

योभन्दा अघिल्लो वर्ष शुक्लाफाँटामा पाटे बाघको संख्या ३६ थियो। ‘क्यामेरा ट्रयापिङ’ विधिबाट बाघ गणना गर्ने गरिन्छ। वि.सं. २०८१ कार्तिक १८ देखि पुस १० सम्म बाघको अनुगमन गरिएको थियो। 

तस्बिरः रासस

जेडएस नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा गरिएको पाटे बाघको अनुगमनमा निकुञ्ज र रुद्रधवज गणका कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका वन्यजन्तु प्राविधिकहरु खटिएका थिए।

शुक्लाफाँटाको क्षेत्रफललाई २ गुणा २ किलोमिटरको सय ग्रीड बनाएर स्वचालित क्यामेरा जडान गरिएका थिए। प्रत्येक ग्रीडमा एक जोडी क्यामेरा जडान गरिन्छ। सो क्षेत्रबाट आवातजावत हुँदा क्यामेराले तस्वी कैद गर्छ। 

स्वचालित क्यामेरामा कैद भएका तस्बिरको विश्लेषण गरेर पाटे बाघको गणना गर्ने गरिन्छ। अनुगमनका लागि क्यामेरा जडान गरिएको करिब एक महिनाको अवधिमा पाटे बाघका एक हजार ६९ तस्वीर कैद भएका थिए।

बाघले शुक्लाफाँटाको सबै क्षेत्रमा विचरण गरेको पाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले बताए। उनका अनुसार निकुञ्जको घाँसे मैदान र पूर्वी सेक्टरमा पनि बाघको विचरण पाइएको हो। 

एउटा वयस्क बाघलाई विचरणका लागि करिब ६५ वर्ग किलोमिटर क्षेत्रफल आवश्यक पर्ने गरेको वनकर्मी बताउँछन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्। वि.सं. २०३३ मा १५५ वर्ग किलोमिटरमा विश्वकै ठूलो बाह्रसिंगाको बथान संरक्षणको लागि शुक्लाफाँटा वन्यजन्तु आरक्ष स्थापना गरिएको थियो।

त्यसपछि आरक्षको पूर्वतर्फको थप १५० वर्ग किलोमिटर क्षेत्रलाई थप गरेर वि.सं. २०५१ म ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा विस्तार गरिएको थियो। वि.सं. २०७३ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको शुक्लाफाँटा बाह्रसिंगाको प्रमुख बासस्थानको रुपमा परिचित छ। 

चुरेदेखि तराई क्षेत्रसम्ममा पाइने जैविक विविधताको संरक्षण र व्यवस्थापनको लागि स्थापना गरिएको निकुञ्ज भारतको लग्गाभग्गा संरक्षित जंगलसंग जोडिएको छ।

शुक्लाफाँटाको ५२ प्रतिशत क्षेत्र सालको वनले ढाकेको छ भने १९ प्रतिशत भूभाग घाँसेमैदानले ओगटेको छ। जंगली हात्ती, एकसिंगे गैंडा, पाटे बाघ, बाह्रसिंगा, हिस्पिड खरायो, सुनगोहोरो, अजिंगर, कृष्णसार तथा करिब ४६४ प्रजातिका पक्षीहरु निकुञ्जमा संरक्षित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad