कर्णाली


सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक: मुख्यमन्त्री कँडेल

सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक: मुख्यमन्त्री कँडेल

नेपालखबर
असार २३, २०८२ सोमबार ११:५४, सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन अपरिहार्य भएको बताएका छन्।

वीरेन्द्रनगरको खानेपानीको संकट समाधानका लागि जलस्रोत क्षेत्रको दीर्घकालीन सुरक्षा र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ।

वीरेन्द्रनगरमा सोमबार आयोजित सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सामुदायिक वनहरूमा अवस्थित प्राकृतिक वनस्पति तथा जैविक विविधताको संरक्षण अहिलेको आवश्यकता भएको उल्लेख गरे।

उनले भने, ‘वीरेन्द्रनगर उपत्यकामा खानेपानी अभाव बढ्दो छ। यस्तो अवस्थामा उत्तरी भेगको जलाधार क्षेत्र जहाँ स्रोतहरू छन्। त्यहाँ संरक्षण नगरी समाधान सम्भव छैन, ढलेका रूख र सडेका रूख बाहेक अन्य वनस्पतिको कटानी नियन्त्रणमा ल्याउनु पर्छ।’

मुख्यमन्त्री कँडेलले जलाधार क्षेत्रको वैज्ञानिक संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि गुरुयोजना निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए।

योजनाको कार्यान्वयनमा स्थानीय तह, वन उपभोक्ता समूह, विज्ञ, नागरिक समाज र प्रदेश सरकार बीचको सहकार्य आवश्यक रहेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विज्ञ र सरोकारवाला निकायका सदस्यहरूको उपस्थिति थियो।

सहभागीहरूले जलाधार क्षेत्रको दीर्घकालीन संरक्षण, भूक्षय न्यूनीकरण, पानीको पुनः भरण क्षमता अभिवृद्धि र वन सम्पदाको दिगो उपयोगका लागि गुरुयोजना महत्वपूर्ण हुने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad