ad ad

कर्णाली


एमाले दैलेख अधिवेशन : अध्यक्षमै १० भन्दा बढी नेताले दाबी गरेपछि सर्वसम्मत कठिन

यसरी चुनिनेछ ५ पदाधिकारीसहित ९१ सदस्यीय जिल्ला कमिटी
एमाले दैलेख अधिवेशन : अध्यक्षमै १० भन्दा बढी नेताले दाबी गरेपछि सर्वसम्मत कठिन

दिनेश बुढा
माघ २८, २०८० आइतबार ९:१६, सुर्खेत

नेकपा एमाले जिल्ला कमिटी दैलेखको आठौँ जिल्ला अधिवेशन शनिबारदेखि दैलेख बजारस्थित कभर्डहलमा जारी छ। 

एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनको बन्दसत्र शनिबार नै सुरु भइसकेको छ। 

बन्दसत्रमा पहिलो दिन प्रस्तुत राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा परीक्षण र प्रस्तावित निर्वाचन क्लस्टर पारित भएका छन्।

जिल्लाका ११ स्थानीय तहका ९० वटा वडाबाट छानिएर आएका ५३५ प्रतिनिधि सहभागी बन्दसत्र आइतबार दोस्रो दिनमा प्रवेश गरेको छ।

अध्यक्षका लागि दर्जन जना दौडमा भएपछि नेताहरूलाई सर्वसम्मत नेतृत्व चयन गर्न कठिन देखिएको छ।  १० भन्दा बढी नेताले अध्यक्षमा दाबी गरेकाले निर्वाचन हुने सम्भावना बढेको छ। 

९ सदस्यीय अध्यक्ष मण्डल 
नेतृत्व चयनपछि ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ। एमाले स्थायी कमिटी सदस्य तथा जिल्ला कमिटी दैलेख इन्चार्ज यामलाल कँडेल अध्यक्ष रहेको अध्यक्ष मण्डलमा एमाले पोलिटब्युरो सदस्य लक्ष्मीप्रसाद पोखरेल, एमाले केन्द्रीय सदस्यहरू राजबहादुर बुढा, विष्णु रिजाल, विनोदकुमार शाह, धर्मराज रेग्मी, सूर्यकुमारी श्रेष्ठ, मीनासिंह रखाल, कर्णाली प्रदेश कमिटीका उपसचिव रवीन्द्रराज शर्मा सदस्य छन्।

यस्तो छ निर्वाचन क्लस्टर  
अध्यक्ष मण्डलका अध्यक्ष यामलाल कँडेलका अनुसार अधिवेशनबाट ९१ सदस्यीय जिल्ला कमिटी निर्माण हुनेछ। जसमा पाँच पदाधिकारी र ८६ जना सदस्य हुनेछन्। 

यस्तै निर्वाचन क्लस्टरमा पाँच पदाधिकारीमध्ये उपसचिवमा एक महिला अनिर्वाय गरिएको छ।  

बाँकी ८६ जना सदस्यमा भूगोल, खुला र युवा (४० वर्षमुनि) गरेर तीन भागमा विभाजन गरिएको छ।

भूगोलतर्फ नगरपालिका/गाउँपालिका र पार्टी सदस्यका आधारमा सदस्य निर्वाचित हुने छन्।

जसमा भूगोल र पार्टी सदस्यतर्फ प्रत्येक गाउँपालिकामा ठाँटीकाँध, डुङ्गेश्वर, भैरवी र गुराँसबाट भूगोलतर्फ २/२ र पार्टी सदस्यतातर्फ २/२ गरी जम्मा ४ जना जसमा एक महिला र तीन पुरुष निर्वाचित हुनेछन्। 

यस्तै प्रत्येक गाउँपालिकामा महाबु, नौमुले र भगवतीमाईबाट भूगोलतर्फ २/२ र पार्टी सदस्यतातर्फ १/१ गरी जम्मा ३ जसमा एक महिला २ पुरुष निर्वाचित हुनेछन्।
 
आठबीस र चामुण्डाबिन्द्रासैनी नगरपालिबाट भूगोलतर्फ ३/३ जना र पार्टी सदस्यताका आधारमा २/२ जना गरी जम्मा ५ जना जसमा २ महिला र ३ पुरुष, दुल्लु नगरपालिकाबाट भूगोलतर्फ ३ र पार्टी सदस्यताका आधारमा ४ गरी जम्मा ७ जनामा ३ महिला, ४ पुरुष र नारायाण नगरपालिकाबाट भूगोलतर्फ ३ जना र पार्टी सदस्यताका आधारमा ३ जना गरी जम्मा ६ जना जसमा २ महलिा, ४ पुरुष निर्वाचित हुनेछन्। 

यसरी भूगोल र पार्टी सदस्यताका आधारमा ११ वटा स्थानीय तहबाट ४८ जना जिल्ला कमिटीमा आउनेछन्। 

यस्तै खुलातर्फ १५ जना सदस्यमा ५ महिला, १० पुरुष, जनजातितर्फ ५ जनामा २ महिला, ३ पुरुष र मुक्ति समाजबाट ८ जनामा ३ महिला, ५ पुरुष र अल्पसंख्यकतर्फ १ जना गरी जम्मा २९ जना निर्वाचित हुनेछन्।   

यस्तै युवा (४० वर्षमुनि) जम्मा ९ जना सदस्य निर्वाचित हुनेछन्। जसमा खुलातर्फ २ महिला, २ पुरुष गरी ४ जना, जनजातितर्फ १ महिला, १ पुरुष गरी जम्मा २ जना र जातीय मुक्ति समाजतर्फ १ महिला, २ पुरुष गरी ३ जना सदस्य निर्वाचित हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .