ad ad

कर्णाली


हुम्लामा बिहानैदेखि हिमपात, बाहिर निस्कनै कठिन, रोकिए हवाई उडान

हुम्लामा बिहानैदेखि हिमपात, बाहिर निस्कनै कठिन, रोकिए हवाई उडान

हुम्लामा हिमपात। तस्बिर : रासस


नेपालखबर
माघ २१, २०८० आइतबार १२:२८, सिमकोट (हुम्ला)

हुम्लामा पुनःआज बिहानदेखि हिमपात भइरहेको छ। यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो।

शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासि मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ। 

बिहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा दुई इन्च बढी हिउँ जमेको लिमी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताए। 

स्वास्थ्यकर्मी भण्डारीकाअनुसार लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनाएको छ। चिसोले लिमीका बासिन्दालाई समस्या भएको छ।

चिसोका कारण घर बाहिर निस्कन र हिँड्डुल गर्न समस्या भएको उनले बताए।

उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ। 

उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ। यसपटक लगातार दुई दिनपछि परेको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा सहयोग भएको स्थानीय कमल भण्डारीले बताए। 

जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ। यतिबेलासम्म एक/दुई उडान नेपालगन्ज, सुर्खेतबाट गरिसक्ने निजी एयरलाइन्सका सेवा अवरुद्ध भएको हो।

आज बिहानैदेखि हिमपात हुँदा नेपालगन्ज, सुर्खेतबाट हवाई उडान हुन नसकेको हो भने हुम्लाबाट नेपालगन्ज, सुर्खेत जाने यात्रु सिमकोटमै रोकिएका छन्।

शनिबार तारा एयरले नेपालगञ्जबाट एक उडान गरेको सोही एयरलाइन्स सिमकोट शाखा कार्यालयका लोकेन्द्र बोहराले बताए।

अन्य कुनै पनि जहाजले उडान भर्न नसकेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .