कर्णाली


कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक

कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक

रासस
चैत २९, २०७९ बुधबार १३:३१, काठमाडौँ

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका  झोला प्रयोगमा रोक लगाउने भएको छ।

आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए।

'नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने भएका छौँं,' उनले भने, 'यसबारे सार्वजनिक सूचनासमेत जारी गरिसकेका छौंँ।'

उक्त कार्यालयले एक महिना अगाडि नै सूचना जारी गरी प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो। 

चालिस माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण र प्रयोग गर्न नपाइने प्रजीअ अर्यालले बताए।

नयाँ वर्षदेखि त्यस्ता प्लास्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने उनको भनाइ छ। 'प्लास्टिकको प्रयोग रोक्न नियमित अनुगमन गर्छौँ, पहिलोपटक भेटिएमा सम्झाउँछौँ र  जफत गर्छौँ,' उनले भने, 'त्यसपछि पनि त्यस्तो कार्य गरेको भेटिए सम्बद्ध व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउँछौँ।'

प्लास्टिकको प्रयोग तथा बिक्री, वितरण गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुनेछ। प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई कसुरको मात्रा हेरेर रु ५० हजारसम्म जरिवाना हुनेछ। 

जिल्लाका नौ स्थानीय तहका जनप्रतिनिधिले प्लास्टिकको झोला प्रयोग तथा बिक्री, वितरणमा प्रतिबन्ध लगाउने प्रतिबद्धता जाहोर गरेका छन्। सोहीअनुसार जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्ला सभाले प्लास्टिकको झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ। 

जिल्ला सभामा कञ्चनपुरका नौ स्थानीय तहका प्रमुख, उपप्रमुखको सहभागिता थियो।

प्लास्टिकका झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउँदै कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए। 'अब जिल्लामा प्लास्टिकका झोला र गुट्खा बिक्री, वितरण गर्न पाइने छैन्, प्लास्टिकको विकल्पका रूपमा कपडाको झोला प्रगोग गर्न सकिन्छ,' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad