ad ad

अन्तर्वार्ता


यसकारण दशैं नेपालीको मौलिक चाड हो : प्रा. डा. जगमान गुरुङ

यसकारण दशैं नेपालीको मौलिक चाड हो : प्रा. डा. जगमान गुरुङ

नेपालखबर
असोज २०, २०७६ सोमबार १६:३५,

प्राध्यापक डा. जगमान गुरुङ यतिबेला आफ्नो जन्मथलो कास्कीको याङ्जाकोटको कोतघरमा पूजापाठमा व्यस्त छन्। संस्कृति दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्ने उनले देवीको मन्दिरको कर्ता आफ्नै छोरालाई बनाएका छन्। उनकै निर्देशनमा त्यहाँ पूजापाठ भइरहेको छ।

यसै क्रममा नेपालखबरले दशैंको सांस्कृतिक महत्वलगायत विषयमा उनको धारणा बुझेको छ। प्रस्तुत छ- उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि व्रतमा छन्, उनले पनि हजुरले जस्तै हरेक दिन पुजिने देवीको महिमा ट्विटरमा पोस्ट गरिरहेका छन्। तपाईं यतिबेला कोतघरमा हुनुहुन्छ, उनले मनाउने दशैं र पहाडिया वा नेपालीले मनाउने दशैंमा के फरक छ?
अहिले कोरा राजनीति, मान्छेले मन पराउन छाडे। कोरा राजनीति हैन कि धर्म, दर्शन र संस्कृति मिसिएको राजनीति मानिसले रुचाउन थालेका छन्।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यसैका एउटा उदाहरण हुन्। उनी विश्व भ्रमणमा जाँदा कहिल्यै राजनीतिको कुरा गर्दैनन्। चीन, जापान, अमेरिकाका नेताहरूका सामुन्ने राजनीतिको कुरा गर्दा उनी तल पर्न सक्छन्। त्यसैले उनी भारतीय सभ्यता र संस्कृतिका कुरा गर्छन्। अनि वातावरण तयार भएपछि आउनुहोस्, भारतमा लगानी गर्नुहोस्, सहकार्य गरौं भन्छन्।

मोदीको भित्री मनमा भारतलाई हिन्दूराज्य बनाउन पाए हुन्थ्यो भन्ने छ। तर भारत एउटा प्रजातान्त्रिक अभ्यास भएको मुलुक हो। मोदीले भारतको आर्थिक र राजनीतिक समुन्नतिका लागि कम्युनिस्ट पनि, कांग्रेस पनि, इसाई पनि गुहार्छन्।

गुजरातका स्वामी नारायण १४ वर्षको ठिटो हुँदा राजा रणबहादुर शाहका पालामा नेपाल आएका थिए। उनी पोखरा आएका रहेछन्। मुक्तिनाथ गए, त्यहाँबाट काठमाडौं गएर रणबहादुर शाहलाई भेटे। मोदी पनि गुजरातकै हुन्। स्वामी नारायणको एउटा मिसन छ। उनकै मिसनबाट प्रभावित भएर मोदीले पनि मुक्तिनाथको साधना गरेका रहेछन्।

मुक्तिनाथबाट तिब्बतको बाटो भएर उनी मानसरोवर पुगेका रहेछन्। मानसरोवरबाट भारत पुगेर उनी धार्मिक, सांस्कृतिक र राजनीतिबाट माथि उठे। उनले मुक्तिनाथमा साधना गरेको, तिब्बतको बाटो हुँदै मानसरोवर गएको, कैलाशको दर्शन गरेको कुरा गोप्य राखेका छन्। मोदी त्यस्ता किसिमका व्यक्ति हुन्।

अमेरिकाका राष्ट्रपति ट्रम्पले पनि त्रिकुण्डक लगाएका छन् नि त! हिन्दुको सम्मेलनमा गएर उनले त्रिकुण्डक लगाए। क्रिस्चियनले टीका लगाउँछ? लगाउँदैन। भनेपछि विश्वको अहिलेको सम्राट ट्रम्पले पनि नवरात्रमा टीका लगाएका छन्। भारतका प्रधानमन्त्री मोदी र अमेरिकाका राष्ट्रपति ट्रम्पबाट सिक्न जरुरी छ।

अर्को कुरा, हामीकहाँ दुर्गा पूजा हो, बलि पूजा हो, मोदीकहाँ त्यस्तो हुँदैन। सात्विक हिसाबले उनले दुर्गाको आराधना गर्छन्। भित्रभित्र त बलि दिँदा हुन् कि? बलि के हो? त्यो हामीलाई थाहा छैन। सात्विक हिसाबले एक छाक खाना खाएर देवीको आराधना गर्छन्, मोदीले।

बलि प्रथाको पनि तपाईं हिमायती हुनुहुन्छ, तपाईं यतिबेला पनि कोतमै हुनुहन्छ, किन शक्तिको उपासनासँग बलि जोडियो?
(हल्का हाँस्दै) हो, म कोतमा छु। छोराले कर्ता भएर काम गरेको छ। पुस्तालाई संस्कृति हस्तान्तरण र हाम्रो धर्मप्रति अपनत्व जगाउन प¥यो। ऊ कर्ता भएर बस्या छ। म बाहिर व्यवस्थापक भएको छु। बलि पूजा भनेको आदिम हो।

राँगाको बलिको सट्टा कुष्माङ्ग (कुभिण्डो)को बलि चढाउने चलन आएको छ। अहिले नरिवलको बलिको चलन आएको छ। बिस्तारै बलि गर्न हुँदैन भन्ने सोच विकास भएको छ । शास्त्रमा बलि छँदै थिएन भन्नेहरू मूर्ख हुन्। बलि थियो, शास्त्रमा। तर देश, काल, परिस्थितिअनुसार बलि गर्न हुँदैन भन्नेहरूको मत बढ्दै गएको छ, त्यसलाई स्वागत गर्नुपर्छ।

कोतको मौलो भन्नासाथ बलि हो। हरेक कोतमा मौला हुन्छन्। मौला हाम्रा सांस्कृतिक धरोहर हुन्। त्यसैले दशैं हाम्रो सांस्कृतिक पर्व पनि हो। बिस्तारै समयानुकूल स्वागत गर्दै जाने हो, सुधार हुँदै जाने हो। दशैं बिस्तारै याङ्जाकोट (जगमानको घर)मा पनि सुधार हुँदै जाला, तर जहिलेसम्म लमजुङ दरबार र कास्कीकोटमा बलि रोकिँदैन, याङ्जाकोटमा पनि रोकिँदैन।

तपाईं दशैं नेपालीको ठूलो चाड हो भन्नुहुन्छ, यो कसरी नेपालीको मौलिक चाड भयो?
दशैं भन्नासाथ यहाँ बलि जोडिन्छ। दशैं हामीले शक्तिको उपासना, हतियारको पूजा गरेर मनाउने चाड हो। यो रामको अयोध्या विजयको कथाभन्दा फरक संस्कृति हो। खासमा यो शक्तिको उपासना हो र शक्तिको उपासना भनेको यो म व्यक्तिको पूजा हैन, समुदायको पूजा हो। मान्छेहरूले जगमानले बलि पूजा ग¥यो, यो त राक्षस नै रहेछ भनेका छन्। तर लमजुङ दरबारमा बलि नरोकिएसम्म याङ्जाकोटमा पनि रोकिँदैन।

तपाईंले केही दिनयता निरन्तर बौद्ध परम्परासँग पनि बलिप्रथा जोडेर विभिन्न खाले व्याख्या गरिरहनुभएको छ, तर बौद्धहरूले त्यो कुरा स्वीकार्दैनन् नि किन?
बौद्ध धर्मअन्तर्गत ब्रजयानी परम्परा छ। यसमा बज्रमहारोशनको पूजा हुन्छ, चक्र सम्पर्कको पूजा हुन्छ। त्यसमा बलि पूजा हुन्छ। किनभने बज्रयानीहरूले अष्टमात्रिकालाई पनि सकारेका छन्। अष्ट महाविद्यालाई पनि सकारेका छन्। अष्टमात्रिका भनेको शैवतन्त्रअन्तर्गत हो। दशमहाविद्या भनेको पनि शैवतन्त्रअन्तर्गत हो। शैवतन्त्र र बौद्धतन्त्र एकाकार भएको अवस्था हो, यो।

अब यहाँ पलाञ्चोक भगवती, भद्रकाली, मनकामनामा बज्राचार्य पुजारी छन्। शोभा भगवतीमा पनि बज्राचार्य पुजारी छन्। नेपालका सबै मुख्य शक्तिपीठहरूमा बज्राचार्य पुजारी छ। मनकामनामा नित्य पूजा गर्ने मगर हो। नैनित्यिक पूजा गर्ने, कात्तिकमा र वैशाखमा पर्छ यो, त्यहाँ ढोवबहालका बज्राचार्य आएर पूजा गर्छ। त्यहाँ पनि शैवतन्त्रअनुसार पूजा हुने हो।

दशैंमा जमरा नै किन प्रयोगमा ल्याइयो होला?
जमरा त कृषिको प्रयोग हो। गाउँघरतिर जमरा नपाएकाले मकैको पनि राख्छन्। तर, मकैको राखे पनि मकरा त भनिँदैन, जमरा नै भनिन्छ। जमरामा कस्तो शक्ति छ भने अहिले मर्निङवाक जानेले जौको जुस खान्छन्। दशैं नमान्नेहरू पनि जौको जमरा उमारेर जुस खान्छन्। जमराले सुगर डाउन हुन्छ, प्रेसर कन्ट्रोलमा आउँछ भन्ने कुरा छ।

तौलिहवा क्षेत्रका मधेसीमा विवाहपछि जायजन्म भएन भने पुरुषले त आफ्नो कमजोरी स्वीकार्देन, आफू कमजोर भएको ठान्दै ठान्दैन। स्त्रीबाट जायजन्म भएन भनेर अर्की श्रीमती ल्याउँछन्। त्यहाँ के गर्छन् भने जमरा राख्छन्, दशैंमा मात्रै होइन, जुनसुकै बेला। त्यही जौ रोपेर त्यहाँ पिसाब गर्न लगाउने। ५ दिनमा त जमरा उम्रिहाल्छ। अब श्रीमानले पिसाब गरेको ठाउँमा जमरा उम्रेन भने श्रीमानको कमजोरी रहेछ, श्रीमतीकोमा उम्रेन भने श्रीमतीको कमजोरी रहेछ भन्ने थाहा हुन्छ।

किनभने भित्र ब्याक्टेरिया भयो भने त्यसले रज र विर्य खाइदिन्छ।। ब्याक्टेरियाले खाएको विषाक्त पिसाबले त जौलाई मारिहाल्छ। हामीले तीतेपाती र जमरा मिसाएर लगाउँछौं नि, तीतेपाती पनि एन्टिबायोटिक हो। जमरा र तीतेपाती मिसाएर लगाउनाले सुगर डाउन हुन्छ। प्रेसर सन्तुलन गराउँछ।

अनि रातो र सेतो टीका तथा दशैं मतवालीहरूको पर्व हैन भन्ने मान्यताबारे पनि केही भनिदिनुहोस् न।
यस विषयमा मैले धेरै बोलेको छु। गएको वर्ष तपाईंसँग पनि सेतो टीका र रातो टीकाबारे कुरा गरेकै हुँ। छोटकरीमा भन्दा हिजो हाम्रो क्षेत्रमा अबिर पाइँदैनथ्यो। बलिपछि त्यही रगत मुछेर देवीको प्रसादका रूपमा अक्षता लगाउने गरिन्छ भने दशैंका दिन अबिर नपाउँदा, दही मुछेर टीका लगाउने चलन चलेको हो। पछि अबिर पाएपछि कसैले अबिर लगाउन थाले।

नेपालका सबै जातजाति प्रकृति र शक्तिका उपासक हुन्। सिमेभूमेको पूजा गर्ने नेपालीको मौलिक चाड हो, दशैं। संसारमा दशैंसँग मिल्ने अर्को चाड कतै देख्नुभएको छ र? त्यसैले यो हाम्रो मौलिक र नेपालीको चाड हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .