ad ad

अन्तर्वार्ता


बेलायती प्रधानमन्त्रीको पहिलो नेपाल भ्रमण छिट्टै हुनेछः बेलायती सांसद शर्मा (भिडिओ वार्ता)

बेलायती प्रधानमन्त्रीको पहिलो नेपाल भ्रमण छिट्टै हुनेछः बेलायती सांसद शर्मा (भिडिओ वार्ता)

थिरलाल भुसाल
जेठ १९, २०७८ बुधबार ८:२७,

बेलायतका सांसद वीरेन्द्र शर्मा त्यहाँको नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष हुन्। लेबर पार्टीका नेता शर्मा इलिङ साउथहलबाट निर्वाचित सांसद हुन्। भारतीयमूलका उनी वर्षौँदेखि नेपाल मामिलामा संलग्न रहँदै आएका छन्।

कोरोना महामारीमा नेपाललाई बेलायतले सहयोग बढाउनुपर्ने भनी उनले अभियान सुरु गरेका छन्। शर्माले आफ्नो नेतृत्वको संसदीय समूहका तर्फबाट गत साता बेलायतका विदेशमन्त्रीलाई औपचारिक पत्र बुझाएका थिए। उनीसँग नेपालखबरले गरेको वार्ता :

तपाईंले यो महामारीमा नेपाललाई तत्काल साथ दिन आग्रह गर्दैै बेलायतका विदेशमन्त्री डमिनिक राबलाई पत्र लेख्नुभएको छ। त्यसबारे के प्रगति भइरहेको छ?  
नेपाल मेरो तेस्रो घर हो। मेरो पहिलो घर बेलायत हो। दोस्रो भारत र तेस्रो घर नेपाल हो। म बेलायती संसदको ‘नेपाल सर्वदलीय समूह’मा  अध्यक्ष छु।

सांसदको रुपमा मैले पाँचपटक नेपाल भ्रमण गरेको छु। त्यस अवसरमा नेपालका वरिष्ठतम सांसद तथा प्रशासकहरुसँग भेटघाट तथा छलफल गरेको छु। त्यसैगरी उनीहरुले बेलायतको भ्रमण गर्दा यहाँ मैले स्वागत गर्ने गरेको छु। यहाँस्थित नेपाली राजदूतहरुसँग मैले अत्यन्त निकट रहेर काम गर्ने गरेको छु। नेपाल र बेलायतमा रहेका नेपाली समुदायसँगको मेरो यो संलग्नता अहिलेको क्षणिक मात्र होइन।

बेलायतले नेपाललाई अहिले महामारीमा सहयोग गर्न केही पहलकदमी लिएको छ। यसैबीच हामी (नेपाल सर्वदलीय समूह)ले पनि विदेशमन्त्रीलाई पत्र लेखेका छौँ। हामीले सरकारले लिएका पहलकदमीलाई थप जानकारी सार्वजनिक गर्न भनेका छौँ। मैले कसरी नेपाललाई सहयोग गर्न सकिन्छ भनेर समुदायस्तरमा पनि सचेतना बढाउने प्रयास गरेको छु।

त्यसका लागि सामाजिक सञ्जालको प्रयोग गरिरहेका छौँ, मन्त्रीहरुलाई पत्र लेखिरहेका छौँ र त्यसलाई फेरि हामी सांसदको रुपमा मन्त्रीहरुसँग राखेका मागका विवरण सार्वजनिक गरेका छौँ।

बेलायत सरकारले नेपाललाई बेवास्ता गर्नुहुँदैन। मैले अहिलेसम्म कुनै औपचारिक ‘रेस्पोन्स’ त पाइसकेको छैन। तर मौखिकरुपमा चाहिँ नेपालीहरुलाई भ्याक्सिन (खोप) प्रदान गर्न हरसम्भव प्रयास गर्ने भनी मलाई आश्वस्त पारिएको छ। त्यसैगरी अन्य सामग्री पनि नेपाल पठाउने बताइएको छ।

कोरोना महामारीको यो दोस्रो लहरमा नेपालले बेलायतलगायतका देशहरुबाट निकै राम्रो ‘रेस्पोन्स’ पाएको छ। ती देशहरुबाट प्राप्त भेन्टिलेटर, अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीका कारण वास्तवमा नेपाललाई राहत पुगेको छ। तर अहिले नेपालीहरु खोप सहयोगको व्यग्र प्रतीक्षामा छन्। के हामी हाम्रा पाठक–दर्शकलाई अनुमानितरुपमा भन्न सक्छौँ त कहिलेसम्म भ्याक्सिन सहायता नेपाल आइपुग्ला?
त्यसका लागि सबै तहमा दबाब दिइरहेका छौँ। यसबारे मैले मन्त्रीलाई पनि भनिसकेको छु। त्यसैगरी समुदाय तहमा पनि आह्वान गरेका छौँ। नेपाली समुदाय मात्र नभई बेलायतका सबै समुदायसँग हामीले सहयोगका लागि आह्वान गरेका छौँ। यतिबेला बेलायतले नेपाल र नेपालीलाई साथ दिनैपर्छ भन्ने हाम्रो आह्वान हो। त्यसैगरी भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतका सबै समुदाय अहिले सँगसँगै काम गरिरहेका छन्। हामी सरकारको मात्र भर परेका छैनौँ।

हामीले च्यारिटी अर्गनाइजेसनको पनि साथ खोजेका छौँ। त्यसैगरी रवि (रविजंग लामिछाने), कुल आचार्यजस्ता सक्रिय व्यक्तिहरु पनि मिलेर साधनस्रोत जुटाएर नेपाल पठाउनका लागि सहकार्य गरिरहेका छन्। नेपाली समुदाय त बेलायतमा निकै सक्रिय छ। उनीहरु आफ्नो सबै सामथ्र्य र स्रोत लगाएर विभिन्न च्यारिटी अर्गनाइजेसनसँग मिलेर सहयोग पठाउन लागिपरेका छन्।

रेडक्रसजस्ता विश्वासिला संस्थाहरुमार्फत हामीले सहयोग नेपाल पु¥याउन चाहन्छौँ। हामी त्यसबारे पनि पहल गरिरहेका छौँ। लण्डनस्थित नेपाली राजदूतसँग पनि सम्पर्कमा छु र झण्डै दैनिकजसो यसबारे कुराकानी गरिरहेको छु। यसरी नेपाललाई यतिबेला सहयोग गर्न सकियोस् भनी हामी निकै सक्रियरुपमा लागिरहेका छौँ किनभने नेपालले बेलायतलाई २०० वर्षभन्दा बढी समयदेखि इमानदारीपूर्वक सहयोग गर्दै आएको छ।

संसारमा अरु कुनै देशले यसरी बेलायतलाई साथ दिएको छैन। नेपाली जनता र मुख्यतः गोर्खाली सेनाले जस्तो सहयोग अरु कसैले गरेको छैन। हामी सबै यो कुराको सम्मान गर्छौँ। मैले नेपाली समुदायप्रति निकै इमानदारिताका साथ काम गरेको छु। समुदाय पनि मप्रति उत्तिकै सहयोगी छ। मैले यो समुदायका लागि ठूलो काम गरेको भन्न चाहन्न। हामी सबै मिलेर काम गरेका हौँ।

म नेता र अरुले मलाई अनुसरण गर्ने कुरा होइन। हामी सबै नेता हौँ। सबै मिलेर काम गर्ने हो। हामी जहाँ छौँ, त्यहीँका सांसदहरुमाथि दबाब दिनुपर्छ। स्थानीय समुदायलाई दबाब दिनुपर्छ। त्यस्तै जुन संस्थाहरु अप्ठ्यारो अवस्थामा काम गर्न सक्छन्, उनीहरुलाई सहयोगका लागि भन्नुपर्छ।

केही हप्तापछि बेलायतमै जी७ मुलुकहरुको बैठक बस्दै छ। बेलायती प्रधानमन्त्रीले उक्त बैठकको अध्यक्षता गर्ने कार्यक्रम छ। त्यसबाट पनि सहयोग पुग्छ कि भन्ने धेरैको अपेक्षा देखिन्छ। त्यसप्रति पनि आशावादी हुने ठाउँ छ?
यी पुराना स्थापित प्रक्रियागत संस्थाहरु हुन्। त्यहाँ त यस्ता विषयबारे एक–दुई मिनेट चर्चा गर्ने मात्र न हो। हामी त निरन्तर काम गरिरहेका छौँ। यस्ता बैठकहरु पर्खेर बस्ने कुरै छैन। हामी त दैनन्दिन काम गर्ने हो। अहिले त भारतीय उपमहाद्वीप नै संकट र पीडामा छ।

हामीले यतिबेला तुरुन्त अक्सिजन सिलिन्डरलगायत सामग्री पठाएर र खोपमा सहयोग गरेर साथ दिन सक्छौँ। त्यसैगरी सचेतना बढाउनु उत्तिकै महत्वपूर्ण छ। समुदायस्तरमा यो रोगबाट बँच्न आफूले आफैँलाई सहयोग गर्न सक्नुहुन्छ भनेर सचेतना जगाउनु आवश्यक छ। स्वास्थ्य मापदण्ड पालना गर्नैपर्छ।

अहिले हामीले बेलायतमा सबैलाई भ्याक्सिन लगाउन प्रोत्साहित गरिरहेका छौँ। हामीले यहाँ अहिले पनि स्वास्थ्य मापदण्ड अनुसरण गर्न भनेका छौँ। गत वर्ष म पनि संक्रमित भएर अस्पताल भर्ना भएको हुँ। यो कति कष्टपूर्ण हुन्छ भन्ने मलाई थाहा छ। यस्तो कसैलाई नहोस् भन्न मन लाग्छ।

कोरोना संक्रमण परिवारको एक जनालाई मात्र हुँदा पनि पूरै परिवार र आफन्तजनमा निकै पीडादायी हुन्छ। त्यसैले यो कुरा सबैलाई बुझाउनैपर्छ। खोपमात्र पनि सबैकुरा होइन। खोप त लगाउनु नै छ तर आफूले आफैँलाई सुरक्षित राख्नैपर्छ। दूरी कायम राख्ने र हात धुने बानी गर्नैपर्छ। धेरै अंकमाल गर्ने बानी छाडौँ। 

अतः यो विषम परिस्थितिमा सहयोग आवश्यक छ। हामीले बेलायत र अन्य सरकारलाई विभिन्न समुदाय र संस्थाहरुको समेत सहयोगमा नेपाललाई साथ दिन भनिरहेका छौँ।

केही दिनपहिले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजावेथ (द्वितीया)लाई नेपाललाई कोभिड भ्याक्सिनमा सहयोग गर्न आग्रह गर्दै पत्र लेखेकोबारे बहस चलेको छ। यसबारे यहाँको के भनाइ छ?
यो बहस गर्ने कुरा मात्र हो। प्रधानमन्त्रीलाई नै पत्र लेख्दा पुग्ने कुरा हो। किनभने पत्रबारे महारानीले केही गर्ने होइन। उहाँले त्यो पत्र प्रधानमन्त्रीलाई नै पठाइदिने हो। प्रधानमन्त्रीले नै त्यसबारे कदम चाल्ने हो। लेख्नु राम्रै हो। मैले पनि यहाँका सांसदहरुलाई प्रधानमन्त्री र मन्त्रीहरुलाई लेख्न र दबाब दिनका लागि भनिरहेको छु।

रविलगायत व्यक्तिहरु पनि लागिरहेका छन्। यहाँका नेपाली र अन्य समुदायले पनि दबाब दिइरहेका छन्। यहाँ के छ भने जब मजस्तै सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रबाट लिखित पत्र पाउँछन्, त्यसले काम गर्छ। यहाँ थुप्रै लबिङ समूहहरुले हामीलाई पनि दिन्छन्। म यहाँ धेरै नेपाली र अन्य समूहसँग सहकार्य गर्छु। यो ठूलो शक्ति पनि हो। म अरुलाई पनि भन्छु कि तपाईं जहाँ हुनुहुन्छ, त्यहाँको स्थानीय सांसदमार्फत दबाब दिनुहोस्। मैले तयार गरेको पत्रमा ती सांसदलाई पनि हस्ताक्षर गर्न भनेर साथ जुटाऔँ। उनीहरुलाई चुनावमा भोट चाहिन्छ भने अहिले बेवास्ता गर्न सक्दैनन् नि!

यी सबै प्रयत्नहरु भइरहँदा के हामीले हाम्रा पाठक दर्शकलाई अनुमानित कुनै समय भन्नसक्छौँ त– कहिलेसम्म नेपालीहरुले भ्याक्सिन पाउने अवस्था बन्ला?
ठ्याक्कै कहिले भ्याक्सिन प्राप्त होला भन्न त मलाई निकै कठिन हुन्छ। यसअघि बेलायतले नेपाललाई २० लाख डोजबराबरको भ्याक्सिन (कोभ्याक्समार्फत) सहयोग गर्ने भनेको छ। हामीले यहाँ मन्त्री लगायत सबै निकायलाई भनिरहेका छौँ। उहाँहरु नेपालको परिस्थितिबारे जानकार छन्।

अहिले म विपक्षी दलको सांसद भए पनि सरकारलाई आरोप लगाउने र आक्रमण गर्ने पक्षमा छैन। मैलेचाहिँ हामी सबै मिलेर सहयोग गरौँ भन्ने हो। विगतबाट सिकेर कसरी आउने दिनमा राम्रो गर्ने भन्ने हाम्रो ध्येय हो। मैले यसबारे प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु तर उहाँलाई आलोचना मात्र गर्ने पक्षमा म छैन। यसअघि केही ढिला भयो भने त्यसबाट सिकेर अब छिटो गर्ने र गल्तीलाई दोहोरिन नदिने हो।

तपाईंले नेपाल र बेलायत दुवैतर्फ रहेका नेपाली समुदायलाई सहयोग गर्न काम गरिरहनुभएको छ र नेपाल–बेलायत सम्बन्धका विभिन्न आयामबारे लामो अनुभव छ। यो २०० वर्षे नेपाल–बेलायत सम्बन्धलाई अझ बढी उपलब्धिपूर्ण र थप सुदृढ गर्न के गर्नुपर्ला?
धेरै वर्षदेखि काम गर्ने क्रममा मैले पर्यटन प्रवद्र्धन, नेपाल र बेलायतबीच व्यापार वृद्धि गर्ने विभिन्न गतिविधि गरिरहेको छु। अन्तर्राष्ट्रिय विकास समितिमा रहेर पनि त्यो काम गरेको छु। बालिकाहरुलाई शिक्षा तथा तालिम प्रदान गर्न र मानव बेचबिखन रोक्न काम गरेका छौँ। सरकारलाई द्विपक्षीय व्यापार र लगानी वृद्धि गर्न जोड दिइरहेका छौँ।

बेलायतका हरेक प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न भन्ने गरेको छु। यो मेरो एउटा प्राथमिकताको विषय हो। किनभने बेलायतको कुनै पनि प्रधानमन्त्रीले अहिलेसम्म नेपालको भ्रमण गरेका छैनन्। मैले हरेक प्रधानमन्त्रीलाई भेटेरै नेपाल भ्रमणको महत्व बुझाउने गरेको छु। हाम्रो द्विपक्षीय सम्बन्धको महत्व दर्शाउन पनि प्रधानमन्त्रीको भ्रमण आवश्यक छ। बेलायतका प्रधानमन्त्रीले नेपाल भ्रमण गरेमा हाम्रो सम्बन्धको महत्वबारे समुदायस्तरमा सन्देश जाने थियो।

तपाईंलाई प्राप्त ‘रेस्पोन्स’का आधारमा के लाग्छ? बेलायती प्रधानमन्त्रीको छिट्टै नेपाल भ्रमण हुने सम्भावना देख्नुहुन्छ त?
मलाई लाग्छ, वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनकै पालामा (भ्रमण) हुनसक्छ। त्यसमा मेरो विश्वास छ। हुन त हामी फरक राजनीतिक दलका हौँ तर पनि उहाँप्रति मेरो विश्वास छ।

यसअघिका लेबर पार्टीका नेताले त सार्वजनिक रुपमै नेपाल भ्रमण गर्ने घोषणा गरेका थिए। तर उहाँ प्रधानमन्त्री बन्न पाउनुभएन। मैले मेरो दलका नेताहरुलाई पनि नेपाल भ्रमण गर्न जोड दिनेछु। लेबर पार्टी वा कन्जरभेटिभ वा जुन पार्टीको भए पनि बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन मेरो जोड हुनेछ। उहाँहरुले नेपाल भ्रमण गर्ने कार्यक्रम बनाउनुपर्छ।

किनभने हाम्रो त २०० वर्ष पुरानो र एकदम निकटको सम्बन्ध पनि हो। नेपालले बेलायतबाट कहिल्यै पनि लाभ लिन पाएन। बेलायतचाहिँ नेपालबाट लाभान्वित भएको छ। बेलायतले यो गुनलाई कुनै न कुनै रुपमा तिर्नुपर्छ।

अहिलेको परिस्थिति र महामारीबारे थप केही भन्नुहुन्छ?
कोभिड महामारी एउटा विश्वव्यापी समस्या हो। यो कुनै देशमा मात्र सीमित छैन, यसले कुनै सीमालाई मान्दैन। यो जहाँ पनि पुग्नसक्छ। त्यसैले यसविरुद्ध हामी सबै मिलेरै काम गर्नुपर्छ। हरेक मुलुकदेखि हरेक नागरिकसम्म सबै मिलेर काम गर्नैपर्छ। यो संकटमा एकअर्कालाई सहयोग गर्नैपर्छ। यो नेपाली, भारतीय, पाकिस्तानी वा बेलायती विषय होइन।

यो विश्वव्यापी समस्या हो। यो कुरा हाम्रो दिमागमा र योजनामा राख्नैपर्छ। अहिले पैसा र नाफा कमाउने बेला होइन। यो त मानवीयताको रक्षा गर्ने, यस धरतीमा जीवन रक्षा गर्ने बेला हो। खोप प्राप्त भएपछि लगाउने हो। तर यसको अहिले हाहाकार छ। त्यसैले स्वास्थ्य मापदण्ड भने सधैँ पालना गर्नैपर्छ। नेपाली र अन्य समुदायलाई सम्भव भएसम्म बेलायतबाट सक्दो सहयोग गर्न हामी लागेका छौँ। बेलायत एउटा धनी मुलुक हो। सहयोग गर्नु बेलायतको जिम्मेवारी हो।

म भन्न चाहन्छु, बेलायतले नेपाललाई बेवास्ता गर्दैन। हामी तपाईंहरुसँगै छौँ।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .