अन्तर्वार्ता


राजु पाण्डेसँग ‘तत्कालै’: बालेन प्रधानमन्त्री हुँदा गृहमन्त्री बन्न म तयार छु (भिडिओ)


अनिल यादव
फागुन १६ , काठमाडौँ

काठमाडौँ महानगरपालिकाको सडकमा जब नगर प्रहरीको टोली ‘बजर’ बजाउँदै पुग्थ्यो, फुटपाथ व्यवसायीहरूमा एउटा त्रास फैलने गर्थ्यो। त्यो टोलीको कमान्ड सम्हाल्ने व्यक्ति थिए– राजुनाथ पाण्डे। मेयर बालेन शाहका हरेक आदेशलाई भुइँमा खस्न नदिई कार्यान्वयन गर्ने पाण्डे बालेनको ‘दाहिने हात’ नै मानिन्थे। 

तर, अहिले समय बदलिएको छ। बालेन शाह मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता बन्न पुगे। उनी प्रधानमन्त्रीको दाबेदारी गर्दै झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्। बालेनको यही राजनीतिक छलाङसँगै पाण्डेले पनि बर्दी फुकालेर काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन्।

बालेनले काठमाडौँका सहज क्षेत्रहरू वा आफ्नो प्रभाव रहेका मधेसका जिल्ला छोडेर किन केपी ओलीको ‘किल्ला’ मानिने झापा–५ नै रोजे? यो प्रश्न अहिले राजनीतिक वृत्तमा चर्चाको विषय छ। 

बालेनका विश्वासपात्र पाण्डे यसलाई एउटा ठूलो राजनीतिक सन्देशका रूपमा व्याख्या गर्छन्। नेपालखबर ‘तत्कालै’को ‘इलेक्सन एक्सप्रेस’सँग बिहीबार कुराकानी गर्दै पाण्डेले भने, ‘निर्वाचन जित्नु मात्र ठूलो कुरा होइन, परिवर्तनको सन्देश दिनुपर्छ भन्ने हो। कुनै पनि व्यक्ति सधैँ एउटै ठाउँमा जरो गाडेर बस्न सक्दैन, ऊ सधैँ शक्तिशाली भइरहन सक्दैन भन्ने जुन मान्यता छ, त्यसलाई स्थापित गर्नका लागि उहाँ झापा जानुभएको हो। उहाँ जहाँ उठे पनि जित्नुहुन्थ्यो, तर झापा ५ रोज्नुको मतलब नेपाली जनताले के बुझ्नुपर्छ भने उहाँले परिवर्तनको आँट गर्नुभएको हो।’

पाण्डेको आकलनमा बालेनले झापा ५ बाट ऐतिहासिक जित निकाल्नेछन्। 

उनी थप्छन्, ‘उहाँले अत्यधिक बहुमतले जित्नुहुन्छ। उहाँ अहिले जहाँ जाँदा पनि जनताले घेरेको, वरिपरि आएको तपाईंले देख्नुभएकै छ। १६५ वटै निर्वाचन क्षेत्रमा उहाँको माग छ, किनकि नेपाली जनताले उहाँमाथि ठूलो भरोसा गरेका छन्।’

महानगरमा रहँदा बालेन र पाण्डेबीचको ‘ट्युनिङ’ निकै मिलेको देखिन्थ्यो। कतिपयले पाण्डेलाई बालेनको ‘अन्धभक्त’ समेत भने। तर, पाण्डेका नजरमा यो अन्धभक्ति नभएर कार्यशैलीको एकता थियो। 

बालेनसँगको सम्बन्धबारे उनी भन्छन्, ‘बालेन सर एकदम अध्ययन गरेर काम गर्नुपर्छ भन्ने व्यक्तित्व हुनुहुन्छ। उहाँ नियम कानुनको कुरा गर्नुहुन्छ र काम गर्ने कुनै पनि पदाधिकारीलाई हस्तक्षेप गर्नुहुन्न, स्वतन्त्र काम गर्न छोडिदिनुहुन्छ। त्यही इमानदारी र निर्णय क्षमताले गर्दा हाम्रो ट्युनिङ मिलेको हो। उहाँले मलाई कहिल्यै अप्ठ्यारो निर्देशन दिनुभएन, सधैँ कानुनको परिधिमा रहेर काम गर्ने वातावरण बनाइदिनुभयो।’

यही ट्युनिङकै कारण बालेन रास्वपामा जाँदा आफूले पनि महानगरको जागिर छोडेर उनलाई साथ दिएको पाण्डे बताउँछन्। 

‘मैले आफ्नो राजीखुसीले राजीनामा दिएको हुँ। बालेन सरको देश बनाउने सपनामा मलाई पनि साथ दिन मन छ,’ उनले भने। 

पाण्डेमाथि यतिखेर लाग्ने प्रमुख आरोप हो– बालेनको निकट भएकै कारण रास्वपामा पुराना कार्यकर्तालाई मिचेर टिकट हत्याएको। यसमा उनको प्रस्टीकरण छ, ‘जब रास्वपा र बालेन शाहबीच एकता भयो, त्यो एकताको मर्म अनुसार नै टिकट वितरण गरिएको हो। म फिल्डमै काम गरेर आएको मान्छे हुँ, हिजो सडकमै केन्द्रित हुन्थेँ, अब जनताको गुनासो सुन्ने ठाउँमा जान खोज्दै छु।’ 

महानगरमा उनी प्रहरी प्रमुख हुँदा फुटपाथमा व्यापार गर्नेमाथि बलप्रयोग भएको र धरपकड गरिएका दृश्य पनि धेरै सार्वजनिक भए। तर, उनी त्यसलाई बल प्रयोग भन्दा पनि सहरको सुव्यवस्थापन भन्न रुचाउँछन्। 

‘सडकमा गाडी गुड्ने ठाउँमा ठेलागाडा राख्नु हुन्न भन्नु गलत हो र?’ उनी भन्छन्, ‘हामीले कसैलाई पूर्वाग्रह राखेर हटाएको होइन, सहरी सुव्यवस्थाका लागि त्यो आवश्यक थियो। अब ती समस्याको दीर्घकालीन समाधानका लागि संघीय संसदमा गएर कानुन बनाउनेछौँ।’

हामीले पाण्डेलाई सोध्यौँ– निर्वाचनपछि रास्वपाको बहुमत आयो र बालेन शाह प्रधानमन्त्री बने भने तपाईंको भूमिका के हुन्छ?

सामाजिक सञ्जालमा उनलाई कतिपयले बालेनको ‘भावी गृहमन्त्री’का रुपमा पनि कमेन्ट गर्ने गरेका छन्। 

यो प्रसंगमा पनि पाण्डे निकै उत्साहित देखिए। उनले आफ्नो शैक्षिक योग्यता र अनुभवले गृह मन्त्रालय सम्हाल्न सक्ने दाबी गर्दै भने, ‘म म्यानेजमेन्टमा मास्टर्स गरेको मान्छे हुँ। मलाई ‘ल एन्ड अर्डर’ के हो भन्ने राम्रोसँग थाहा छ र त्यसको अध्ययन पनि गरेको छु। जनताले मेरो काम गर्ने शैली हेरेर मलाई त्यो (गृहमन्त्री) रूपमा देख्न चाहनुभएको छ भने म तयार छु। पार्टीले र भावी प्रधानमन्त्रीले जुन जिम्मेवारी दिनुहुन्छ, म त्यो पूरा गर्न तयार छु। हामी केही घण्टाभित्रै परिवर्तन गरेर देखाउन सक्छौँ।’

राजनीतिमा जित र हार दुवै हुन्छ, तर पाण्डेको शब्दकोशमा ‘हार’ छैन। चुनावको सम्मुखमा उनी यो शब्द सुन्न पनि चाहँदैनन्। 

उल्टै सम्झाउँछन्– ‘सकारात्मक सोचौँ न।’

उनको निर्वाचन क्षेत्रमा लोडसेडिङ हटाउने नायक भनेर चिनिएका कुलमान घिसिङ लगायत उम्मेदवार छन्। तर, पाण्डे आफ्ना प्रतिस्पर्धीबारे प्रश्न र चर्चा सुन्नै चाँहदैनन्, मात्रै आफू र आफ्नो काम र एजेन्डाबारे बोल्न रुचाउँछन्।

हामीले उनलाई सोध्यौँ– यदि काठमाडौँ–३ का मतदाताले तपाईंलाई अस्वीकार गरे भने फेरि बालेनकै सुरक्षामा खटिनुहुन्छ कि राजनीति छोड्नुहुन्छ?

जवाफमा उनले भने, ‘हामी कहिल्यै पछाडि हेर्दैनौँ, सधैँ अगाडि हेर्छौं। पछाडि फर्केर हेर्ने हाम्रो स्वभाव छैन। जनताले हामीलाई माया गरिरहनुभएको छ, विश्वास गरिरहनुभएको छ। त्यसैले म हार्छु भन्ने सोच्दा पनि सोच्दिनँ। सधैँ सकारात्मक सोच्यो भने सकारात्मक नतिजा आउँछ।’

काठमाडौँ–३ का उम्मेदवार राजुनाथ पाण्डेले आफू र बालेन शाहबारे थप के–के कुरा खुलाए? हेर्नुस् उनीसँग गरिएको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’:

फोटो/भिडिओः सरोज शाही

माघ २३, २०८२ शुक्रबार १८:२८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad