अन्तर्वार्ता


रास्वपा मधेसविरोधी दल हो, बालेन ‘वेभ’ले मत आउँदैन : सीके राउत (भिडिओ)

‘पहाडमा भोट माग्नै कठिन भएपछि मधेस झरेका हुन्, गगन–बालेनले केही गर्न सक्दैनन्’
रास्वपा मधेसविरोधी दल हो, बालेन ‘वेभ’ले मत आउँदैन : सीके राउत (भिडिओ)

राजविराजमा नेपालखबर इलेक्सन एक्सप्रेस टिमसँग सीके राउत (तस्बिर/भिडिओ : सरोज नेपाल)


लोकेन्द्र भट्ट
माघ २१, २०८२ बुधबार २२:१, राजविराज

२०७९ को निर्वाचनमा तराई–मधेसमा वैकल्पिक शक्तिका रूपमा उदाएको थियो– जनमत पार्टी। सो पार्टीका अध्यक्ष सीके राउतले उपेन्द्र यादवलाई सप्तरी २ मा हराएपछि निकै ठूलो हलचल पैदा भयो। प्रत्यक्षतर्फ राउतले मात्र जिते पनि समानुपातिकमा जनमतले ५ सिट पाएको थियो।

मधेस प्रदेशमा कांग्रेस ४ लाख १४४ मत ल्याएर पहिलो हुँदा एमाले ३ लाख ५१ सय ७६८ पाएर दोस्रो र जनमत ३ लाख २९ हजार १७७ प्राप्त गरी तेस्रो दल भएको थियो। 

मधेस प्रदेशमा पनि जनमतका प्रत्यक्षतर्फ ६ र समानुपातिक ७ गरी १३ सांसद विजयी भएका थिए। केन्द्रमा सत्ताको सहयोगी बनेको जनमत पार्टीले मधेस प्रदेशमा १४ महिना सरकार चलायो। तर, यो पार्टी एउटा चुनावी चक्रसम्म पनि टिक्न सकेन। यसपालिको चुनाव नआइपुग्दै जनमत छिन्नभिन्न भइसकेको छ। मुख्य नेताहरूले नै राउतमाथि तानाशाही र परिवारवाद लादेको आरोप लगाउँदै पार्टी त्यागेका छन्।

तथापि, लथालिंग पार्टी बोकेर राउत चुनावी मैदानमा उत्रिएका छन्। उनै राउतसँग सप्तरीको राजविराजमा नेपालखबरको इलेक्सन एक्सप्रेस टोलीले चुनावी संवाद गरेको छ :

फागुन २१ गतेको चुनावका लागि प्रचार–प्रसारको दौडमा हुनुहुन्छ। चुनाव कत्तिको लागेको छ?
अब चुनावको तयारी थालेका छौँ। जनता माझमा अझै पनि धेरै चुनाव लागेको छैन। सरकारले पनि आश्वस्त हुनेगरी चुनावी माहोल बनाउन सकेको छैन। सुरक्षादेखि लिएर अन्य प्राविधिक कुराहरूमा पनि सरकारले आश्वस्त तुल्याएपछि बल्ल निर्वाचन लाग्छ। 

२०७९ को चुनावमा सप्तरी–२ बाट भारी मतले निर्वाचित हुनुभयो। अहिले फेरि त्यही ठाउँबाटै उम्मेदवार बन्नुभएको छ। तपाईंको पार्टीमा विभाजन पनि आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी अहिले मधेसमा नयाँ भनेर आइपुगेको छ। यो परिस्थितिको सामना कसरी गर्नुहुन्छ?
अब सबभन्दा ठूलो भ्रम नै त्यही हो, हेर्नुस्। रास्वपा पनि २०७९ मै जितेर आउनुभएको थियो। हामी पनि जितेर ०७९ मै संसदमा प्रवेश गरेका हौँ। हामीले एउटा मात्रै सिट जित्यौँ, उहाँहरूले जम्मा २१ वटा सिट जितेर संसदमा हुनुहुन्थ्यो। उहाँहरू कुनै पनि तरिकाले नयाँ त होइन, तर जनतामाझ भ्रम छर्दै हुनुहुन्छ। नयाँ भनेर रास्वपाले सहानुभूति बटुल्न खोज्दै छ। मधेसका जनताले सोध्नुपर्छ कि उहाँहरूले ०७९ को चुनावमा २१ सिट जितेर संसदमा हुँदा मधेसको लागि के गर्नुभयो?

उल्टै नागरिकता विधेयक हामीले ल्याउन लाग्दा उहाँहरूले संसद् अवरुद्ध गर्नुभयो। त्यसको विरोध गर्नुभयो। मधेसको लागि बजेट नदिँदा कहिले पनि आवाज उठाउनु भएन। बजेट पारित गर्न मत दिनुभयो। जबकि हामी सत्ता गठबन्धनमै हुँदा पनि मधेसमा पर्याप्त बजेट नदिँदा हामीले मत हालेनौँ। भूमि सम्बन्धी विधेयक आउँदा हामीले भूमिहरण गर्ने खालको विधेयक हो भनेर विरोध गर्‍यौँ। उहाँहरूले समर्थन गर्नुभयो। रास्वपा मधेसको मुख्य एजेन्डा संघीयता, समानुपातिक समावेशिता, गणतन्त्रमाथि बारम्बार धावा बोल्ने शक्ति हो। मधेसमा हामी नयाँ हौँ भनेर आउनुभन्दा पहिला उहाँहरूले यसको जवाफ दिनुपर्छ। उहाँहरू नयाँ त कुनै पनि हालतमा हुँदै होइन। त्यो कुरा जनताले पनि बुझ्नुपर्दछ।

२०७९ को निर्वाचनमा तपाईंको सारथी सतीश सिंह नै जनमत पार्टी छोडेर तपाईंविरुद्ध नै सप्तरी २ मा उम्मेदवार हुनुहुन्छ। यसलाई कसरी लिनुभएको छ?
यसलाई हामीले अतिरञ्जित गर्न हुँदैन। किनभने उहाँले पहिलो पटक पार्टी छोड्नुभएको होइन। उहाँको परिवारका पाँच जना मान्छे पाँच वटा फरकफरक पार्टीमा छन्। २०७९ को स्थानीय निर्वाचनमा मेयरमा हारेपछि बल्ल हाम्रो पार्टीमा आउनुभएको थियो।

लाभ लिन सक्ने जति लाभ लिनुभयो। मुख्यमन्त्री बनेपछि मन्त्री बन्ने कुरा त आउँदैन। त्यो सारा लाभ लिइसकेपछि केही बाँकी नरहँदा फेरि आफ्नो अवसरको लागि जानुभयो। त्यसमा हामीले धेरै ठूलो दुःख मान्नुपर्ने, अतिरञ्जित गर्नुपर्ने कुनै कुरा छैन। जनताले समयमै चिने, हामी पनि समयमै सचेत भयौँ। धेरै ठूलो दुर्घटना हुनबाट जोगियौँ। यसलाई त म त्यसरी सकारात्मक रूपमा नै लिन्छु।

सप्तरी २ मा तपाईंलाई सहज नहोला नि त जित्न?
हाम्रो लागि सहज छ, किनकि यहाँ अब कुनै ठूलो प्रतिस्पर्धा छैन। हामी साढे दुई वर्ष मात्रै भएको थियो संसदमा रहेको। यहाँ जनसम्पर्क कार्यालय खोलेर साढे दुई वर्षको दौरानमा हामीले जनताको लागि ठूलो सेवा प्रदान गर्‍यौँ। सबै पार्टीका मान्छेहरू र पूरै जिल्लाकै मान्छेहरू त्यहाँ आउँथे। तिनीहरूको काम हामीले गर्थ्यौँ। पटक–पटक जनताको बीचमै रह्यौँ। बाढी होस् कि आगलागी होस्, जनताको बीचमा रह्यौँ हामी। जनतालाई नै सोधेर दलान दलील कार्यक्रम चलाउँथ्यौँ हामी। जनताबाट योजना सङ्कलन गर्थ्यौँ कि अब के चाहियो? आठ सयभन्दा बढी योजनाहरू हामीलाई जनताले दिएका थिए। अधिकांश कार्यान्वयन भएका पनि छन्, कार्यान्वयन हुने चरणमा छन्। विकासको त्यत्रो ठूलो फड्को यो भन्दा अगाडि कहिले पनि भएको थिएन। सप्तरी २ निर्वाचन क्षेत्रमा यो भन्दा अगाडि यति धेरै बजेट कहिले पनि आएको थिएन। त्यसरी हामीले विकासको कामहरू अगाडि बढाएका छौँ। 

गौरवका योजनाहरू, सिग्नेचर प्रोजेक्टहरू हामीले दिएका छौँ। मधेस जस्तो ठाउँमा हामीले स्पेस सेन्टर स्थापना गरेका छौँ। त्यसको भौतिक संरचना बनिसकेको छ। रोजगारी सिर्जना पनि गर्दैछौँ। जस्तै, महिला कृषि स्वयंसेविका कार्यक्रम ल्यायौँ, जसमा झन्डै तेह्र सय महिलाहरूले रोजगारीको अवसर पाए। स्वयंसेवक शिक्षक कार्यक्रम ल्यायौँ, जसमा झन्डै चार–पाँच सय शिक्षकहरू भर्ती भए। यस्तै ठाउँ–ठाउँमा उद्योग ग्राम भवन बनाएका छौँ। गाउँका महिलाले रोजगारी गर्न बाहिर जानु नपरोस् भन्ने त्यसको मूल अवधारणा हो। किनभने घरको पनि कामकाज हेर्नुपर्ने हुन्छ, बच्चाहरूलाई पनि स्कुल पठाउनु पर्ने हुन्छ, अतिथिहरू आउँदा पनि सत्कार गर्नुपर्ने हुन्छ। 

गाउँका महिलाहरूलाई ८० वटा गाउँ रोजगारी भवन निर्माण गर्दैछौँ। कति ठाउँमा निर्माण भइसकेको छ। महिला रोजगारीको लागि पनि हामी काम गर्दैछौँ। यसरी हामी काम गरेर जनताको बीचमा लोकप्रिय भएका छौँ, त्यसको कारणले हामीलाई जित्न खासै गाह्रो छैन। जनताले आशीर्वाद दिनु नै हुनेछ। कति योजनाहरू २५ वर्षदेखि बनेका थिएनन्। ती सडकहरू अहिले बनिराखेका छन्। अधुरा योजनाहरूलाई पूर्णता दिनको लागि पनि उहाँहरूले मलाई निर्वाचित गर्नुहुन्छ भनेर मलाई पूर्ण विश्वास छ।

अघिल्लो पटक जसपाका अध्यक्ष उपेन्द्र यादव र तपाईंबीच सप्तरी २ मा प्रतिस्पर्धा भयो। यो पटक उपेन्द्र यादव सप्तरी ३ मा जानु भएको छ। चुनाव जित्न तपाईंहरू दुई जनाबीच फिक्सिङ जस्तो देखियो नि? 
अब त्यो त नभनौँ। तर, हामीले यसलाई सकारात्मक रूपमा लिएका छौँ। कमसेकम जनताको बीचमा अध्यक्षहरूबीचको प्रतिस्पर्धाको रूपमा देखिएन। किनभने हाम्रा एजेन्डाहरू मिल्दाजुल्दा छन्। हामी दुवै मधेस लगायत सीमान्तकृत वर्गको लागि संघर्ष गरिराखेका पार्टी हौँ। यसलाई म एकदम सकारात्मक रूपमा नै लिन्छु।

यो पटक रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। यसलाई कसरी हेरिराख्नु भएको छ? 
प्रधानमन्त्रीभन्दा पनि सर्वोच्च पद नेपालको राष्ट्रपति हो। यो गणतन्त्रिक व्यवस्थालाई म धन्यवाद दिन्छु। पहिलो पटक एउटा मधेसीको छोरा नै नेपालको राष्ट्रपति बने। त्यसमा हामी गर्व गर्छौँ, नगरेको होइन। तर के मधेसीको छोरालाई राष्ट्रपति बनाउँदैमा मधेसका माग पूरा भए त? भएन। कुनै पनि समस्याको समाधान भएन। त्यही कुरा बुझ्न आवश्यक छ। अब यलाई टेक्निकल भाषामा भन्दाखेरि मधेसको समस्या भनेको संरचनात्मक मसस्या हो।

कसैलाई मन्त्री बनाउँदैमा, कसैलाई प्रधानमन्त्री बनाउँदैमा समाधान हुने कुरा होइन। यो संविधानमा परिवर्तन गरेर, ऐन कानुन ल्याएर, समानता दिएर, अधिकार दिएर, सङ्घीयतालाई बलियो बनाएर समाधान हुने हो। कसैलाई प्रधानमन्त्री बनाउँदैमा, कसैलाई पद दिँदैमा कुनै समस्या समाधान हुने होइन। त्यही भएर हाम्रो पार्टी यसमा स्पष्ट छ। हाम्रो पार्टी कसैलाई प्रधानमन्त्री बनाउने कुरालाई नै एजेन्डा बनाउँदैन। जनताको समस्या कसरी समाधान हुन्छ भन्नेतिर ध्यान केन्द्रित गर्छौँ। त्यही भएर यो कुनै ठूलो विषय नै होइन र यसले समस्याको समाधान हुँदै हुँदैन। 

अहिले राष्ट्रिय दलहरूले मधेसलाई प्राथमिकता दिएको देखिन्छ। कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार बन्नु भएको छ। रास्वपाले पनि जनकपुरबाट अभियान सुरु गर्‍यो। प्रमुख पार्टीहरूको मधेस प्राथमिकतालाई कसरी हेर्नु भएको छ? 
यसलाई धेरैले मधेस निर्णायक भएकाले राष्ट्रिय पार्टीले प्राथमिकता दिएको रूपमा अर्थ्याएको सुनिन्छ। के यो भन्दा अगाडि मधेस निर्णायक थिएन? त्यतिबेला किन आएन त? कुरा त्यो होइन, कुरा के भयो भन्दा पहाडका जनता सचेत छन्। राजनीतिक रूपमा चेतनशील छन्। तपाईंले हेर्नु भएको होला, जनताले रास्वपाका उम्मेदवारलाई भोट माग्न जाँदा काठमाडौँमा लखेटिराखेका छन्। भोट माग्न दिइराखेका छैनन्। सहकारी ठग भनेर हेपिराखेका छन्। हिसाब मागिराखेका छन्। जेनजी आन्दोलन तपाईंहरूलाई जिताउन र ०८२ मा निर्वाचन गराउनलाई भएको थियो भने प्रश्न सोधिराखेका छन्। पहाडमा कतै भोट माग्ने ठाउँ रहेन। त्यहाँ सोध्छन्– २१ वटा सिट जिताएर पठाउँदा तपाईंहरूले के गर्नुभयो? 

त्यही प्रश्न कांग्रेस, एमालेसँग पनि गर्दैछन्। त्यो भएपछि उहाँहरू मधेस ओर्लिनु भएको हो। मधेसमा साक्षरता दर कम छ। यहाँका मान्छेहरू अशिक्षित छन्। यहाँ विभिन्न किसिमको राजनीति पनि हुन्छ। सहानुभूतिको राजनीति पनि चल्छ, जातिको राजनीति पनि चल्छ। म तपाईंको जात हो भन्दिएपछि एजेन्डा पनि हेर्नु पर्दैन, त्यतिले पुग्छ। अनि अन्तिममा फेरि दारु–मासु पनि चल्ने ठाउँ हो। पैसा एक हजार दिएपछि भोट आइदिन्छ। मैले यो कुरा धेरै नोटिस गरेको छु।

कुनै पनि पार्टी वा नयाँ पार्टी वा नयाँ संगठन खुल्न थाल्यो भने पहिला मधेसमा आएर सभा गर्छन्। चाहे त्यो राप्रपा होस् कि कुनै कम्युनिस्टको घटकहरू होस् कि अहिले यो जेनजीवालाहरू नै हुन्, पहिला मधेसमा आएर सभा गर्छन्। किनभने यहाँ मान्छे ओराल्न सजिलो छ। तपाईं एक जनालाई पचास हजार दिएर जिम्मा लाइदिनुहोस्, मान्छे ओरालिदिन्छन्। त्यो फाइदा उठाउन उहाँहरू आउनुभएको हो। हाम्रो दुर्भाग्य छ कि हामीसँग त्यति साधनस्रोत छैन, जनतामा त्यो स्तरसम्म पसेर सम्झाउन सकौँ।

त्यसो भए प्राथमिकता दिएर होइन, सजिलै मत पाइन्छ भनेर उनीहरू आएका हुन्?
एकदम त्यही भएको छ। प्राथमिकतामा राखेको भए त तीन वर्षदेखि उहाँहरू पनि संसदमै हुनुहुन्थ्यो, एजेन्डा उठाउनु हुन्थ्यो नि! अहिले त चुनाव जित्नु छ, पहाडमा मान्छेले भोट माग्न दिँदैन, काठमाडौँमा मान्छेलाई लखेटिराखेका छन्। सजिलो त मधेसतिर छ, मान्छेले खुवाइ पियाइ दियो भने मत आइहाल्छ भन्ने होला। खुवाइ पियाइदियो भने नारा पनि लगाइदिन्छन्, जहाँ पनि पुर्‍याइदिन्छन्। त्यो भएको हुनाले उहाँहरूले फाइदा लिनका लागि मात्रै मधेस बोल्दिनु भएको हो।

जेनजी आन्दोलनपछि नयाँ पार्टीहरू एक ठाउँमा आउने चर्चा थियो। तपाईं आफैले पनि त्यो खालको पहल गर्नुभए जस्तो देखिन्थ्यो। तर निर्वाचनमा तपाईं एक्लै मैदानमा हुनुहुन्छ। रास्वपा र बालेनसँगको संवादमा कहाँ छुट्नुभयो तपाईं? 
राजनीतिक पार्टी दर्ता गर्नु अगाडिदेखि नै म राजनीति गर्दैछु। हामी कुनै पार्टीगत राजनीति गर्नै भनेर आएका थिएनौँ। हाम्रो त बिना संगठनको, बिना राजनीतिक पार्टीको कार्यक्रम थियो नि त। हामी एजेन्डाको राजनीति गछौँ। हामी खालि जित्नका लागि जोसँग पनि मिल्दिने, लोकप्रिय कोही भयो भन्दैमा उसैसँग गइदिने मान्छे होइनौँ।

त्यो भएर अहिले हेर्नुभो नि, यसको प्रमाण यहाँ पनि देखिन्छ। चाहेको भए हामी मिल्न सक्थ्यौँ नि त, हामी पनि फाइदा उठाउन सक्थ्यौँ नि। त्यो गरेनौँ। हाम्रो लागि एजेन्डा प्रधान छ। हाम्रो लागि सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताका कुराहरू महत्त्वपूर्ण छन्। जनताको अधिकार महत्वपूर्ण छ। कसैलाई प्रधानमन्त्री बनाउनका लागि कोही लोकप्रिय भयो भन्दैमा हामी त्यतातिर लाग्दैनौँ। भलै हामीसँग त्यत्रो क्षमता नहोला तर आखिरी साससम्म हामी एजेन्डा र जनताको लागि सङ्घर्ष गर्ने छौँ। जनताको लागि के सही छ, त्यो कुराको लागि सङ्घर्ष गर्ने छौँ। खालि लोकप्रिय हुनको लागि होइन।

जनमत पार्टी विस्तार नहुँदै विभाजनको चपेटामा पर्‍यो। यही स्थितिमा ०८२ को चुनाव फेस गर्दै हुनुहुन्छ। मधेसमा यो पटक जनमतको अवस्था कस्तो रहन्छ? 
यो विभाजनको जहाँसम्म कुरा छ, त्यसको खासै प्रभाव जनमत पार्टीमाथि छैन। किनभने पार्टी उनीहरूमाथि त्यति धेरै निर्भर थिएन। अर्को कुरा विभाजन सबै पार्टीमा देखिएको कुरा हो। जनमत पार्टीमा मात्रै देखिएको भए बुझ्न सकिन्थ्यो, के समस्या छ? अहिले नेपालका जति पनि राजनीतिक दल छन्, सबैमा उस्तैउस्तै छ। 

यो जनमत पार्टी विशेषको समस्या होइन। धेरैले अहिले बिर्सिसकेका छन्, २०७९ सालको चुनावमा हामी होमिँदा त्यतिबेला स्थानीय निर्वाचनमा धेरै राम्रो गरेका थिएनौँ। धेरै भोट आएको थिएन। दुई वटा पालिकामा मात्रै विजय हासिल गरेका थियौँ। मान्छेले भने– यो पार्टी समाप्त भइसक्यो। त्यो निराशाका बीचमा पनि हामी जनताका बीचमा गएका थियौँ। हामीसँग धेरै राम्रा उम्मेदवारहरू थिएनन्, धेरै ठाउँमा उम्मेदवार नै थिएन र मतदातामा पनि आत्मविश्वास थिएन। यो पार्टीले जित्दैन किन भोट खेर फाल्ने भन्थे। उम्मेदवारमा पनि आत्मविश्वास थिएन। भन्थे कि यो पार्टी सरकारमा पनि जान सक्दैन, किन भोट हाल्ने भनेर। 

अहिलेको स्थिति हेर्नुहोस्, त्यो भन्दा सारा कुरा तोडिएको छ। जनतामा आत्मविश्वास छ, यो पार्टी जित्छ है। यो पार्टीले सरकार पनि बनाउँछ, मधेस सरकार पनि चलाइसकेको पार्टी हो। मन्त्री पनि बन्छ, सरकार पनि बनाउँछ। त्यो आत्मविश्वास छ, उम्मेदवारमा पनि त्यो आत्मविश्वास छ। र यसपालि एकदम सशक्त उम्मेदवारहरू छन्, जसलाई भरोसा छ कि म जित्छु। यस्तो उम्मेदवार पाएपछि र जनतामा आत्मविश्वास भएपछि यसपालि परिणाम धेरै राम्रो हुन्छ भनेर हामीले आकलन गरेका छौँ।

मधेसको ३२ वटा निर्वाचन क्षेत्रमा यो पटक जनमतले कति सिट जित्छ?
हामीले अहिले मोटामोटी १६ देखि १८ वटा क्षेत्रमा विजय हासिल गर्ने लक्ष्य राखेका छौँ, जित्छौँ जस्तो लाग्छ हामीलाई।

कांग्रेसमा आएको रूपान्तरण र रास्वपाले अगाडि सारेको बालेन कार्डले यसलाई असफल तुल्याउँदैन?
यी दुई वटै कुराको मधेसको एजेन्डासँग कतै तारतम्य छैन। कुनै परिवर्तन छैन। कांग्रेस पार्टी पुनर्गठन भयो। त्यसमा कतै मधेसको एजेन्डा पुनर्गठन भएको, प्राथमिकतामा आएको कतै देख्नुभएको छ त? कतै केही छैन, त्यसको चर्चा परिचर्चा नै यहाँ छैन। कसैले प्रधानमन्त्रीको रूपमा अगाडि सार्दैमा त्यहाँ पनि कुनै मधेसको एजेन्डा आएको छ त? उहाँ त झन् आफ्नो पुरानो असफलता, कमीकमजोरी र काण्डलाई लुकाएर एजेन्डा स्पष्ट नभनीकन मधेसमा आउँदै हुनुहुन्छ। यसले खासै प्रभाव पार्दैन। 

अर्को कुरा म जनतालाई पनि भन्न चाहन्छु, यो ह्विम (वेभ)ले मत आउँदैन मधेसमा। यहाँ सबैको मत गनेको छ। 

तपाईंले त्यसो भने पनि मधेसका २०–२५ वटा निर्वाचन क्षेत्र घुम्दै हामी आज सप्तरी २ मा आइपुगेका छौँ। नयाँ र पुराना दलको प्राथमिकतामा मधेस पर्दा विगतमा तराई मधेसमा स्थापित दलहरू बढारिने खतरा पो देखियो त?
हिजो मात्रै सिरहा ४ मा रास्वपाको प्रदेश सभापतिलाई कुनै पत्रकारले तपाईंको एजेन्डा र राजनीतिक सिद्धान्त के हो भनेर सोध्नु भएको थियो। अनि उहाँ भाग्दै हुनुहुन्थ्यो। 

अर्को कुरा अहिले मधेसमा प्रमुख पार्टीहरूले प्रचार–प्रसार थालेकै छैन। किनभने निर्वाचनको वातावरण अझै पनि सुनिश्चित भइसकेको छैन। रास्वपावालाहरू एकदम हतारैहतारमा छन्। तर उनीहरूले यहाँ केही एजेन्डा सम्बोधन गर्न सक्ने अवस्था नै छैन। उहाँहरूको चर्चा नै हुन्न। अरू पार्टीले प्रचार थालेपछि रास्वपावालाहरूलाई भाग्न हम्मेहम्मे पर्छ। जसरी अहिले काठमाडौँबाट भाग्न परेको छ नि, यहाँ त झन् प्रश्न तेर्सिएपछि उहाँहरूलाई गाह्रो हुन्छ। उहाँहरू त झन् मधेसविरोधी दलको रूपमा हुनुहुन्छ। यहाँबाट जनताले प्रचार थालेपछि उहाँहरू यहाँबाट भाग्न मुस्किल पर्छ।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad