जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव २०६२–०६३ को आन्दोेलनपछि मधेसमा भएका दुई आन्दोलनबाट स्थापित नेता हुन्। उक्त आन्दोलनका कमान्डर उपेन्द्रले २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा तहल्का नै मच्चाएका थिए। उनी नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले ५२ सिट ल्याएको थियो।
२०५४ मा मधेसी जनअधिकार फोरम गठन गरेका उपेन्द्रको लोकप्रियता मधेस आन्दोलनपछि चरमचुलीमा थियो। तर, दोस्रो संविधानमा सभामा उनको लोप्रियताको ग्राफ ह्वात्तै घट्यो। यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरमले प्रत्यक्षतर्फ दुई र समानुपातिकतर्फ आठ गरी १० सिट मात्र जित्यो।
२०७४ को निर्वाचनमा यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ६ गरी १६ सिट जितेकोमा २०७९ को निर्वाचनमा जसपा १२ सिटमा खुम्चियो। यसपटक महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई जसपामा समाहित गराएर उपेन्द्र चुनावी मैदानमा छन्।
गत निर्वाचनमा जनमतका सीके राउतसँग पराजित भएपछि सप्तरी २ छाडेर यसपटक सप्तरी ३ बाट उम्मेदवार बनेका यादवलाई सप्तरीको राजविराजमा नेपालखबरको इलेक्सन एक्सप्रेस टोेलीले संवादमा जोडेको छ। मधेसवादी दलको सेलाउँदो रात–ताप, नयाँ दलको उदय र आसन्न निर्वाचनको अवस्था लगायतका विषयमा यादवसँग नेपालखबर ‘तत्कालै’ :
सधैँ तपाईं सप्तरी–२ बाट चुनाव लड्दै हुनुहुन्थ्यो। यसपटक २ मा असहज देखेर ३ मा पुग्नु भएको हो?
हैन, अब यो सप्तरी म जन्मेको भूमि हो। त्यसकारणले एक के, दुई के, तीन के। त्यो नम्बरले कुनै अर्थ राख्दैन। सप्तरी ३ का साथीहरूको अलिक बढी जोडबल भयो। त्यहाँका जनताको पनि अलिक जोडबल भयो। जहाँ भए पनि सप्तरीबाटै त हो।
२०७९ को निर्वाचनमा सप्तरी २ मा पराजित हुनुभयो। त्यसपछि बाराबाट निर्वाचित भएर आउनुभयो। त्यसैले डराउनुभएको हो कि?
सप्तरी २ सीके राउत उम्मेदवार हुनुहुन्छ। सप्तरी ३ बाट तपाईं उम्मेदवार बन्नुभयो। तपाईंहरु दुई जनाले फिक्सिङ त गर्नु भएको छैन?
छैन, छैन, त्यस्तो छैन।
अहिले मधेसमा पुराना पार्टी र २०६२–०६३ को आन्दोलनपछि स्थापित मधेसवादी दलहरू त्यति भिजिबल नदेखिनुको कारण के हो?
एउटा कुरा के हो भने हाम्रो पनि त नयाँ दल हो। पछि हामीले जसपा बनाएका हौँ। पुराना दलहरूको पनि इतिहासमा ठूलो योगदान छ। चाहे त्यो राणा शासनविरुद्धको आन्दोलन होस्, पञ्चायतविरुद्धको आन्दोलन होस्, चाहे लोकतन्त्र पुनर्बहालीको आन्दोलन होस्, हरेक आन्दोलनमा पुराना दलहरूको पनि महत्वपूर्ण भूमिका छन्। त्यसलाई इन्कार इतिहासले गर्न सक्दैन। यो यथार्थ हो, सबैले स्वीकार्ने कुरा हो। तर जब नेपालमा मधेस आन्दोलन भयो, आदिवासी जनजातिहरूले आवाज उठाए, विभिन्न आन्दोलन भयो, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भयो। संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्दा उहाँहरूले मधेस आन्दोलनको दबाबमा गर्नुभएको हो। संविधान निर्माण गर्दा उहाँहरूले सबै नेपालीलाई, सबै समुदायलाई समेट्ने काम गर्नुभएन। जुन दिन संविधान बन्दै थियो, मधेसले कालो दिवस मनाइरहेको थियो। मधेसको इच्छा थियो कि मधेसी समुदायको भावनालाई पनि संविधानले सम्बोधन गर्न सकोस्। दलितको सकोस्। आदिवासी जनजातिको सकोस्। तर सकेन।
त्यसपछि परिवर्तित सन्दर्भमा अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्नेमा पुराना दलहरू जहिले पनि उदासीन रहे। दोस्रो, प्रदेशहरूलाई कमजोर पार्ने, प्रदेशहरूलाई शासन, प्रशासन, कर्मचारीतन्त्र हस्तान्तरण नगर्ने, प्रहरी प्रशासन हस्तान्तरण नगर्ने कार्यले संघीय लोकतान्त्रिक गणतन्त्र शब्द संविधानमा लेखिए पनि यसलाई कार्यान्वयन गर्न पुराना दलहरू अनिच्छुक देखिए।
त्यसले उहाँहरूलाई ठूलो सेटब्याक दियो, परिवर्तनलाई स्वीकार नगरेको कारणले। दुनियाँमा जुन शक्तिले परिवर्तनलाई स्वीकार गर्छ, अगाडि बढेर जान्छ, जुन दलले या व्यक्तिले या विचारले परिवर्तनलाई आत्मसात गर्न सक्दैन, नयाँ युगको नयाँ भ्वइसलाई बुझ्ने कोसिस गर्दैन, ती आउटडेटेड भएर किनारा लाग्छन्।
जनताले संघीय गणतन्त्र आइसकेपछि सामाजिक, आर्थिक रूपान्तरण चाहेका थिए। गरिबहरूले शिक्षा, स्वास्थ्य, अवसर चाहेका थिए। युवाहरूले रोजगारी चाहेका थिए, राम्रो शिक्षा चाहेका थिए। एउटा सुविधासम्पन्न सरकारी अस्पतालमा सस्तोमा उपचार चाहेका थिए। मुलुकको अर्थतन्त्र माथि उठिसकेर गरिबी र बेरोजगारीबाट मुक्ति चाहेका थिए। तर बहुदलीय व्यवस्था आएको ३५ वर्षसम्म पुराना दलहरूले यतापट्टि ध्यानै दिएनन्।

तपाईंहरुले पनि त सत्तामा पुगेर ती कुनै काम गर्न सक्नुभएन!
अब त्यसमा पनि आउँछु म। पुराना दलहरू सामाजिक र आर्थिक रूपान्तरण गर्न, मुलुकको अर्थतन्त्रलाई विकास गर्न र समृद्धितर्फ नेपाललाई लैजान असफल भए। विधिको शासन स्थापना गर्न असफल भए। सुशासन दिन र भ्रष्टाचार नियन्त्रण गर्न असफल भए। तपाईंले सोधेको प्रश्नको उत्तर कम्प्लिट गर्दैछु म। त्यस कारणले पुराना दलहरूप्रति जनता र खासगरी युवा पिढीहरू उदासीन हुँदै गए। मधेसका कुराहरूमा आउँदैछु।
मैले तपाईंलाई अलिकति सजिलो बनाइदिन थालेको। तपाईंहरूले पनि ०६४ यता चार वटा चुनाव लडिसक्नुभयो। मधेसले पटकपटक तपाईंहरुलाई निर्वाचित गरेर पठाइसक्यो। यो पुराना दलको असफलताको हिस्सा तपाईंहरूसँग पनि जोडिन आइपुग्यो नि?
त्यसरी भन्दा आरोप जस्तो हुन्छ। मधेसका दलहरू या अरू दलहरू, जस्तो जसपा नेपाल नै भयो, कहिलेकाहीँ कांग्रेस र कम्युनिस्टलाई सहयोग गरेको हो। तर राज्यसत्ता, शक्तिको नेतृत्व उनीहरूले गरे, बजेट उनीहरूले बनाए, नीति कार्यक्रम उनीहरूले ल्याए, जो असफल भयो।
जसले राज्यको नेतृत्व गर्दछ, जसको हातमा सैन्य शक्ति हुन्छ, आर्थिक शक्ति हुन्छ, प्रशासनिक शक्ति हुन्छ, न्यायिक शक्ति हुन्छ, जिम्मेवार ऊ हुन्छ कि कहिलेकाहीँ सहयोग गर्ने हुन्छ? दोस्रो, हामी नभएको भए नेपालमा संघीय गणतन्त्र रोप्न दिने थिएनन् यिनीहरूले। त्यो यथार्थ हो।
मुलुकको परिवर्तनको पक्षमा हामी हमेसा उभिएको हो। चाहे संविधान संशोधनको कुरा होस्, चाहे नागरिकताका कुरा होस्, चाहे आर्थिक सुधारका कुराहरू हुन्, चाहे सुशासनका कुरा हुन्, चाहे भ्रष्टाचारका कुरा हुन्, संसदमा आवाज उठाउने र ती दलहरूलाई बारबार सचेत गराउने हामी नै हो। त्यहाँ भन्दा बढी गर्नलाई त सत्ता र शक्ति चाहिन्छ। कहिलेकाहीँ दुई महिने, तीन महिने कालमा यसो सहयोग गर्दिएको भरमा त नीतिगत परिवर्तन त हुँदैन।
एउटा कुरा यहाँलाई स्मरण गराऊँ, जुन कुरा हामीले संविधान घोषणादेखि अहिलेसम्म उठाउँदै आएका छौँ। विभेदकारी संविधान भयो। गलत ढङ्गले पूर्वाग्रही भएर यो सात प्रदेशका संरचना बनाइयो। यो मुलुकको हितमा छैन भनेर हामी जुन बारबार उठाउँदै आएका थियौँ, त्यही कुरा आज स्थापित भएको छ।
नयाँ पिँढीले पनि त्यही कुरा उठाएको छ। त्यसैले मुलुकलाई दिशा दिने कुरामा, मुद्दाको उत्थान गर्ने कुरामा र समाधानको बाटो दिने कुरामा हामी अगाडि छौँ नि त।
हामी सहयोगी भूमिकामा मात्रै रह्यौँ, त्यसैले काम गर्न सकिएन भन्नुभयो। त्यही सहयोगी भूमिकाका लागि मात्रै तपाईंहरुलाई जनताले कतिपटक निर्वाचित गरेर पठाउने भन्ने पनि त होला नि?
सत्ता, शक्ति पाउने कांग्रेस, कम्युनिस्टहरू शासक भए, जनता शासित भए, भ्रष्टाचार विकास भयो। भ्रष्टाचार, लुटतन्त्र, कमिसनतन्त्र चरम सीमामा पुग्यो। विकास, निर्माण र रूपान्तरणका काम ठप्प भए। त्यसलाई गति दिने आवश्यकता छ अब मुलुकमा। त्यसका लागि पुराना दलहरू असफल सिद्ध भइसके। कांग्रेस, कम्युनिस्टको राज्य त ३५ वर्ष देखियो नेपालमा। बहुदलीय व्यवस्था भएपछि बीचमा केही समय यताउति भो, नत्र यो लामो अवधि हो नि त। त्यसले के दियो भन्ने प्रश्न छ।
अर्को कुरा, सत्ता शक्ति कसको हातमा छ? नेपाल एकल जातीय, एउटै संस्कृतिको, एउटै जातिको बाहुल्य भएको देश हैन। एउटै सभ्यता र संस्कृतिको देश पनि हैन। मिथिला सभ्यता र संस्कृतिको कुरा गर्ने हो भने नेपालको इतिहासभन्दा हजारौँ वर्ष पुरानो इतिहास छ। जुन बेला मिथिलाको साहित्य, संस्कृति र सभ्यता उत्कर्षमा थियो, नेपाल र नेपालीको शब्द पनि उत्पत्ति भएको थिएन।
पुरानो सभ्यता र संस्कृतिलाई उपेक्षा गरेर राज्यले एउटै भाषा, एउटै भेषको नीति लियो। अन्धराष्ट्रवादी नीति, जातिवादी नीति, साम्प्रदायिक नीति, नस्लवादी नीतिका विरुद्धमा सानै शक्ति भए पनि लडेर नेपाललाई बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक बनायौँ। एकात्मक प्रणालीबाट संघीयतामा लिएर गएका छौँ। राजनीतिक परिवर्तन र सामाजिक सांस्कृतिक अधिकारका लागि लड्ने पार्टी त जसपा नेपाल नै सिद्ध भएको छ, हैन र? पुराना दल त बाधक भएका कारणले अब पन्छिने बेलामा आइसकेको, किनार लाग्ने बेला आइसकेको हो नि त।

तपाईंहरूले राजनीतिक एजेन्डा स्थापित गरेको, राजनीतिक मुद्दाका लागि लडेकोमा त कुनै दुई मत छैन। तर, विकास निर्माणका सन्दर्भमा तपाईंहरु पनि प्रश्नको घेरामा रहेको स्वीकार्नु हुन्छ नि?
यही मधेस प्रदेशलाई नेपालको सबभन्दा पिछडिएको प्रदेश, यहाँका शासकहरूले बनाएको ठाउँ मधेस प्रदेश हो। सबभन्दा कम साक्षरता भएको प्रदेश, सबभन्दा बढी गरिबी, बेरोजगारी भएको प्रदेश, सबैभन्दा आर्थिक रूपले विपन्न भएको प्रदेश मधेस प्रदेश हो। यो देन त शासकहरूको हो नि, कि यहाँका मधेसको?
त्यसलाई विकास गर्नका लागि हामीले जग बसाल्यौँ। हामीले विश्वविद्यालय शिक्षालाई प्राथमिकता दियौँ। यद्यपि प्रदेशमा सीमित अधिकार र स्रोतहरू हुन्छ, अधिकार पनि छैन, स्रोत पनि छैन, कानुन पनि छैन। हातखुट्टा बाँधेको छ अनि किन दौडिनस् भन्नु त अलिक भएन नि, त्यो अवस्था हो नि। तैपनि हामीले दुई–तीन वटा युनिभर्सिटी स्थापित ग¥यौँ, मेडिकल कलेजहरू स्थापित ग¥यौँ।
अहिलेको गाउँ र पाँच वर्षअघि गाउँमा फरक पाउनुहुन्छ। पूर्वाधारहरू स्थापित गर्ने प्रयास ग¥यौँ। मान्छेको जीवनस्तर पनि उठाउने कोसिस भएको छ। त्यो हामीले सीमित स्रोत, साधन, अधिकार र जनशक्ति पनि नभएको अवस्थामा पनि गरेका हौँ।
मधेसमा काठमाडौँमा शासन गर्नेहरूले आजसम्म एक दिन पनि कर्मचारी पठाएनन्। न्यूनतम १२–१३ सय कर्मचारी चाहिने ठाउँमा एक सय, डेढ सय पठाउने, ताकि तिनले काम गर्न नसकून्। यसले मधेसलाई अझै पनि उपनिवेश बनाइराख्ने मानसिकता देखिन्छ। औपनिवेशिक शासकीय मानसिकताले काम पनि गर्न दिएको छैन।
अहिले मधेसमा नयाँ र पुरानाको नारा चर्कोगरी सुनिन्छ। तपाईंहरु पनि पुरानै डालोमा पर्नुभयो। नयाँ पार्टीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी तल्लो तहसम्म स्थापित भएको पाइयो। यसले तपाईंहरुलाई गाह्रो पार्ला नि?
कहाँ स्थापित भएको देख्नुभयो? यो राजविराजमा तपाईं आउनु भएको छ, कहाँ देख्नु भएको छ घण्टी? घण्टी, घण्टा यहाँ केही छैन। यहाँ जसले जनताका लागि काम गरेको छ, गर्छ, जनतामा तिनै छन्। अब केही सामाजिक सञ्जालहरूले घण्टी बजाइराखेका मात्रै हो, अरू केही पनि छैन।
तपाईंले यस्तो भनिरहँदा मधेसी मूलका बालेन्द्र शाहलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारकै रूपमा प्रोजेक्ट गरेको छ। एउटा लहर नै आएको स्थिति छ...
त्यो सामाजिक सञ्जालले हो। सामाजिक सञ्जालले त प्रचण्डलाई राष्ट्रपति बनाएकै हो नि, होइन? तर कहाँ भए राष्ट्रपति, भित्तामा मात्रै भए। त्यो बालेन्द्र शाहको कुरा गर्नुहुन्छ भने म त तिनीलाई राम्रोसँग चिन्दिनँ पनि। उनी मधेसी भए कहिले? मधेसी भाषा बोल्छन्? मधेसी संस्कृतिमा चल्छन्? मधेसको लागि आवाज उठाउँछन्? मधेसी हुन् भनेर आफूलाई पहिचान दिन्छन्? जो दिँदैन, त्यो कसरी मधेसी हुन्छ? मधेसी भनेको जाति होइन, संस्कृति हो, समुदाय हो। अर्को कुरा, विभिन्न तत्वले सामाजिक सञ्जाललाई पैसा हालेर बुस्ट गरेर हाइहुइ गरेर देश बन्दैन, देश चल्दैन।
यस्ता हाइहुइहरू दुनियाँमा कता आए, कता हराए। पोलिटिकल योगदान के हो? गरेको कार्य के हो? निरंकुश राजतन्त्रको बेला कहाँ थिए? संघीय गणतन्त्रको लागि जनता लड्दा कहाँ थिए? आफ्नो हक अधिकारको लागि सयौँ मधेसी समुदायले सहादत दिएको बेलामा म मधेसी हुँ भन्ने मान्छे देखिनुपर्थ्यो नि त किन मधेसीहरूलाई मारियो भनेर।
उहाँहरु मधेसको आन्दोलन, जनजाति आन्दोलन, परिवर्तनकारी आन्दोलनबाट स्थापित भएको संघीय गणतन्त्रलाई खारेजी गर्नुपर्छ भन्ने मान्छे होइन? तपाईंहरूकै सञ्जालबाट आइराखेको थियो प्रदेश खारेजी गर्नुपर्छ भनेर। जो परिवर्तनका विरुद्धमा छ, जो संघीयताका विरुद्धमा रहे, जो त्यत्रो मधेसी आन्दोलनमा त्यत्रो सहादत हुँदा चुइँसम्म बोल्न सकेन, जसले आफूलाई कहिले पनि मधेसी भन्न सकेन, अहिले चुनावमा आएर दुईचार वटा फाटफुट शब्द मधेसको बोलेर कोही मधेसी हुन्छ?
तपाईंले जति आलोचना गरे पनि उनीहरुले तपाईंलाई च्यालेन्ज गरिसके त!
उनीहरुले होइन। अंग्रेजीमा एउटा भनाइ छ– एउटा रूखमाथि बाँदर चढेको थियो। अनि तल सिंह गर्जिरहेको थियो। अनि बाँदर त्यो रूखको फल टिपेर सिंहलाई हान्थ्यो। सिंह त रूखमा उफ्रिन सक्दैन, बाँदर सक्छ। यो रूखको उचाइ हो, जसले गर्दा एउटा बाँदर सिंहलाई जिस्क्याइरहेको छ। यदि त्यो रूखको उचाइ नभइदिएको भए, रूख नभइदिएको भए थाहा हुन्थ्यो।
धेरै किसिमका तत्वहरूले अहिले नेपाललाई प्लेग्राउन्ड बनाइराखेको छ। त्यो अवस्थामा एउटा रूखमा होइन, चढ्ने लिस्नु बनाइदिएको मात्रै हो सामाजिक सञ्जाल। अब जहाँसम्म रास्वपाको कुरा हो, रास्वपाको अध्यक्षमाथि के आरोप छ? अमेरिकामा के एलिगेसन छ र नेपालमा के एलिगेसन छ? सबैलाई थाहा भएको कुरा हो नि। अनि विचार के हो उहाँहरूको? आइडियोलोजी के हो? दर्शन के हो, राजनीतिक खाका के हो, गर्न चाहेको के हो?
ठीक छ, एकछिन तपाईंले घण्टीको कुरा ल्याउनुभो। घण्टीले मधेसको लागि के गर्छ? स्वायत्त मधेस प्रदेशलाई समर्थन गर्छ? मधेसको स्वशासन र स्वायत्ततालाई स्वीकार्छन् त? ल, बोलून् त, हामी पनि सहयोग गर्छौँ। मधेसी जनतालाई स्वायत्तता र स्वशासन दिनुपर्छ, आत्मनिर्णयको अधिकार दिनुपर्छ, मधेसको लागि म बोल्छु भनेर आँट गर्छन् त? जसले यो कुरा बोल्दैन, ऊ मधेसको हुँ भनेर एकछिन त्यो रङ बदलेर आएर हुन्छ?

कांग्रेसका सभापति गगन थापा ‘म मधेसको नेता होइन बेटा हुन आको छु’ भन्नुभयो, सर्लाहीमा। यसलाई कसरी लिनु भएको छ?
त्यो चाहिँ एउटा नारा हुन सक्छ। मधेसको बेटा त मधेसी नै हुन्छ, अर्को जन्मिँदैन। कुखुराको अन्डाबाट हाँस जन्मिँदैन। हाँसले म कुखुराकै बच्चा हुँ भन्यो भने के हुन्छ? त्यस्तै हो त्यो कुरा।
मधेसको बेटा उपेन्द्र यादवहरू मात्रै हो त्यसो भए?
धेरै छन् मधेसका सपुतहरू, मधेसका बेटा।
सप्तरी २ मा निर्वाचित पनि हुनुभयो, जहाँबाट अर्को पटक फेरि दोहोरिने स्थिति बनेन। अहिले ३ मा सर्नुभयो। तपाईं सप्तरीबाट चुनाव जितेपछि यो जिल्लाले थप के कुरा पाउँछ, विगतमा के पायो?
सप्तरीको प्रतिनिधि भएकै बेलामा हिजै पनि मधेस लगायत देशका शोषित, पीडित जनताको पक्षमा लडेको छु। मैले त जुम्लाका लागि पनि लडेको छु, कर्णालीका लागि पनि लडेको छु, किरातका लागि पनि लडेको छु, लिम्बुवान र मगरातका लागि पनि लडेको हुँ। उत्पीडनको विरुद्ध आवाज उठाउने, विभेद र असमानतालाई अन्त्य गर्ने, मधेसलाई स्वायत्त र स्वशासन प्रदान गर्ने लडाइँमा सबभन्दा अगाडि हामी हुन्छौँ। यो सँगसँगै अब विकास र समृद्धिको बाटोमा मधेसलाई लैजाने, त्यसका लागि लड्ने र सके गर्न सक्ने काम गर्ने मधेसी बाहेक, जसपा बाहेक कोही होला जस्तो छैन। सबैले कोसिस गरे तर सबै फेल भए।
सप्तरी तीनमा तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग देख्नुहुन्छ?
अहिले त्यति प्रस्टता छैन। राजनीतिक योगदानका हिसाबले प्रतिस्पर्धी को होला र, खोज्दै हिँडेको छु म पनि।
अघिल्लो पटक त्यही भन्दाभन्दै नयाँ आएको पार्टी जनमतले तपाईंलाई पराजित गर्दिने स्थिति बन्यो। अहिले त्यस्तो नहोला त?
हिजो एक किसिमका भ्रम छरिए र यिनले पराजित गरेको होइन। पराजित गर्दिएर यिनलाई राखिदिने अर्कै थियो, सकियो। यसपालि त्यो देखिएन। अब तपाईंले नाम लिएको पार्टी देशभरि त कहीँ देखिँदैन त जनताको बीचमा।
जनताको अभिमतलाई यसरी कसैले राख्दियो भनेर अपमान गर्न मिल्ला र?
अपमान हैन। जनताको अभिमतलाई त मानेकै हो। तर, के हो भने त्यसको वातवरण बनाइदिने, बनाउने, के हो त? आफै भइरहेको छ। जानुहोस् त जनताको बीचमा के भन्छन् यहाँ। अहिले म बसेको क्षेत्रै दुई नम्बर हो। जनताको बीचमा जानुहोस्, अघिल्लो चुनावमा के भएको थियो, जनताले भन्छ।
त्यसो भए मधेसमा जसपाको उपस्थिति कस्तो रहन्छ?
जसपाको उपस्थिति सबभन्दा राम्रो र अब्बल दर्जाको रहन्छ। अब मधेसका जनता जागिसके, बुझिसके, अब अलमलमा पर्दैनन्।
भिडिओ :
Shares

प्रतिक्रिया