नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विपक्षमा उभिएका नेतामध्येमा एक थिए विमलेन्द्र निधि। तर, निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएसँगै सभापति गगन थापाको हस्ताक्षरसहितको टिकट लिएर उनी धनुषा ३ मा चुनाव लड्ने पुगे।
निधिलाई एमालेकी जुलीकुमारी महतो, नेकपाका रामललित मण्डल, रास्वपाका मनिष झालगायतले टक्कर दिँदैछन्। चुनाव, मधेसमा कांग्रेसको अवस्था लगायतबारे नेपालखबर इलेक्सन एक्सप्रेस टिमले निधिसँग जनकपुरमा गरेको संवाद :
चुनाव प्रचारमा हुनुहुन्छ। यसअघिका र अहिलेको चुनावमा के फरक पाउनुभएको छ?
फरक त भइहाल्छ। २०८४ मा हुनुपर्ने चुनाव अहिले भइरहेको छ, त्यो नै महत्त्वपूर्ण कुरा हो। म आफू पनि २०८४ सालमा चुनाव लड्नको लागि यहाँ साथीहरूसँग वडावडामा गएर भनिराखेको थिएँ। २०८४ सालको चुनावमा उठ्छु है, किनभने यसअघि त म समानुपातिकबाट थिएँ।
त्यो भन्दा पहिलेको चुनावमा म पराजित भएको थिएँ। धेरै साथीहरूलाई जिज्ञासा थियो विमलेन्द्र निधि चुनाव लड्नुहुन्छ कि लड्नुहुन्न? अनि म चाहिँ चुनाव लड्नुपर्छ भन्ने मनसायमा थिएँ। चुनावको तयारी त पहिलेदेखि गर्नुपर्यो। त्यसकारणले मैले यहाँ भेटघाट सुरु गरिसकेको थिएँ। मैले तयारी गर्दैगर्दा बडो उत्साह आएको थियो। तर भदौ २३ र २४ गतेको घटनाले अर्को परिणाम दियो। देशलाई लिकमा ल्याउनलाई, संविधानलाई पुनः संरक्षण गर्नको लागि यो चुनाव भइरहेको छ।
अहिलेको यो चुनाव सामान्य होइन। हामीले हठात् चुनावमा भाग लिनु परेको छ। चुनाव हठात् भए पनि यसको पछाडिको तर्क के हो भने लोकतन्त्र संकटमा परेको छ। प्रणाली संकटमा छ, संविधान लिकभन्दा बाहिर गएको छ। यी सबै कुरालाई लिकमा ल्याउनको लागि चुनाव नै सर्वोत्तम उपाय हो। त्यसकारण हामीले यसलाई स्वीकार गरेर भाग लिइरहेका छौँ।
अहिले नेपाली कांग्रेस वा तपाईं आफै के एजेन्डा लिएर जनताको दैलोमा पुगिराख्नुभाको छ?
यो नै अहिले हामी सबैको एजेन्डा हो। यो नै अहिले महत्त्वपूर्ण काम हो। त्यसकारण कुनै पनि हालतमा चुनाव हुनुपर्छ भन्दै गएका छौँ। संसद् पुनर्स्थापना के हुन्छ ठेगान छैन। अदालतले के गर्छ ठेगान छैन। त्यसकारण सर्वोत्तम विकल्प भनेको निर्वाचन हो।
सार्वभौम जनताले यस्तो संकटलाई कसरी निवारण गर्न चाहन्छन्, सार्वभौम जनतालाई नै निर्णय गर्न दिनु पर्यो। त्यही निर्णयको लागि अहिले चुनाव भइरहेको छ। यसैलाई हामीले राष्ट्रिय एजेन्डा बनायौँ।
चुनाव हुँदाखेरी मतदाताले विकास खोज्छन्। आफ्नो व्यक्तिगत हितहरू, समस्याहरू के हुन्छन्, त्यसको समाधान खोज्छन्। त्यो पनि एजेन्डा हो। अब मैले यहाँ मेरो निर्वाचन क्षेत्रमा कुरा गर्दाखेरि मलाई सोध्छन् तपाईंले के विकास गर्नुभयो र अब के गर्नुहुन्छ? मैले भन्दै आएको छु कि म जति पटक नेपाली कांग्रेसको उम्मेदवार भएर निर्वाचित भएको छु, सरकारमा पनि गएको छु, मन्त्री पनि बनेको छु। मैले देशको लागि गरेको छु। प्रदेशको लागि पनि गरेको छु। तर आफ्नो क्षेत्रको मतदाताप्रति प्रारम्भिक रूपले र प्राथमिक रूपले दायित्व महसुस गर्छु, जिम्मेवार हुन्छु।
ढल्केबर–जनकपुर–जठी सडक ६ लेनको छ। कसैले कल्पना पनि गरेको थिएन कि जनकपुरमा यस्तो ६ लेनको बाटो बनाउँछ। मैले बनाएको छु। पहिले यो बाटो यस्तो पिच थिएन, फोहोर थियो।
अहिले हामीले जनकपुर मात्रै होइन धनुषा जिल्लामा १८ वटा पालिकाहरू छन्, सबैलाई बाटोबाट जोडिदिएको छु। मेरो क्षेत्रमा भन्नुहुन्छ भने चार वटा पालिका छन्। ३८ वटै वडालाई मैले पिच रोडबाट जोडिदिएको छु। मैले विकास गर्छु। त्यो यहाँको जनताले थाहा पाएका छन्। विकास गर्ने यही नेपाली कांग्रेस रहेछ भनेर।
दोस्रो कुरा, संविधान जारी हुने बेलामा मैले खेलेको भूमिका हेर्नुहोस्। संविधान जारी गर्न ढिलो हुन्छ भनेर प्रदेशहरू कतिवटा हुने–नहुने भन्ने कुराको लागि संविधान जारी भइसकेपछि एउटा आयोग वा कमिटी बनाएर छलफल गर्दै गरौँला भन्ने कुरा आयो। तर मैले आन्तरिक रूपमा हस्तक्षेप गरेर आफ्नो नेताहरूसँग सल्लाह गरेर यो हुँदैन, बिनाप्रदेशको संविधान जारी हुन सक्दैन भनेँ। अनि बल्ल सात वटा प्रदेशमा सहमति भयो।
यसमा असहमति र सहमति, यो ठीक छ बेठिक छ, छुट्टै बहसको कुरा होला। तर प्रदेशसहितको संविधान बनाउने कि प्रदेशबिनाको संविधान बनाउने, त्यो एउटा अवस्था आएको थियो। मैले प्रदेशबिनाको संविधान हुँदै हुँदैन, प्रदेशसहितको संविधान हुनुपर्छ भन्ने अडान लिएको थिएँ।
आठ जिल्लाको मधेस प्रदेशको राजधानी जनकपुरमै ल्याउनु पर्छ भन्ने मेरो इच्छा थियो। जनकपुर एउटा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, इतिहासको केन्द्र, प्राचीन मिथिलाको राजधानी हो। प्रदेशको राजधानीका लागि जनकपुर चुरोट कारखानाको जग्गा उपलब्ध गराउन पनि म गृहमन्त्री भएको बेला निर्णय गराएको छु। मेरो योगदान जनकपुरबासीहरूलाई राम्रोसँग थाहा छ।
अहिले यहाँ विश्वविद्यालय, प्राथमिक स्कुल, हाइ स्कुल, कलेजहरू धेरै खुलेका छन्। स्कुल खोल्ने कुरामा पनि मेरो योगदान छ। राजर्षि जनक विश्वविद्यालय जनकपुरमा स्थापना गरियो। यो मेरो लागि ठूलो उपलब्धि हो।

जनकपुरको विकास र मधेसको समृद्धिका लागि मैले यी काम गरेँ भनेर फेहरिस्त त सुनाउनु भयो। तर तपाईं गृहमन्त्री भइसकेपछि नै २०७४ मा चुनाव लड्दा पराजित हुने स्थिति कसरी आयो? अनि त्यसपछि तपाईं समानुपातिकबाट सांसद बन्नुभयो, अहिले फेरि आउनुभएको छ। यो कुरा मतदाताले बुझेनन् कि पत्याएनन्?
होइन, मलाई मतदाताले पत्याएको हो। म यसमा लामो कुरा गर्दिनँ। मतदाता र जनताले मलाई निरन्तर विश्वास गरे। दुई पटक हार्दाखेरि म अन्तर्घातबाट हारेको हो। जनताले र मतदाताले मलाई विश्वास गरेकै थिए, अहिले पनि गर्दैछन्। म पराजित हुँदा पनि जनता निराश भएका थिए। मेरो पक्षमा थिए र जनताले आफ्नो प्रतिनिधि मलाई नै मानेका छन्।
पहिले कांग्रेसको तल्लो तहमा अन्तर्घात थियो। तर अहिले कांग्रेस चुनावको मुखमा माथिल्लो तहको विवादमा फस्यो। यो विभाजन तल्लो तहसम्म पुगेको छ कि छैन?
जब गाडी दुर्घटना हुन्छ, गाडीभित्रका सबै मान्छेहरू आआफ्नो हिसाबले बाँच्न खोज्छन्। प्रयास गर्छन्। तर दुर्घटनाबाट जब ज्यान जोगिएको महसुस गर्छन्, तब सबैले एकअर्कालाई अँगालो हाल्छन्। त्यसकारण अहिले नेपाली कांग्रेसभित्र पनि दुर्घटनाबाट जोगिएको अवस्थामा जस्तै एकता छ। एक भएर नै हामी चुनावमा गइरहेका छौँ, अहिले म यति मात्र भन्छु।
तराई–मधेसबाट नै प्रधानमन्त्रीका उम्मेदवारहरू चुनाव लडिरहेका छन्। तपाईं यही क्षेत्रबाट कांग्रेसको नेतृत्व तहमा पुगेको मान्छे, यसलाई कसरी हेरिराख्नु राख्नु भएको छ?
मधेसमा अब तपाईं मलाई नै सोध्नुहुन्छ भने मेरो पनि इच्छा हुन्छ नि प्रधानमन्त्री हुने। नेपाली कांग्रेसमा त मैले दाबी गर्नु स्वाभाविक हो। मधेसीको नेता, मधेसको मात्रै होइन, मधेसी नेता चाहिन्छ। त्यो बेला आएको छ। अहिले हुन सक्छ कि सक्दैन, मलाई थाहा छैन। म बन्छु कि बन्दिनँ, मलाई थाहा छैन, को बन्छ मलाई थाहा छैन। तर यो बहस अब सुरु भएको छ। यसलाई म राम्रै ठान्छु।
यो पटक कांग्रेस १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेर चुनावी मैदानमा छ। केही नयाँ पार्टीहरू पनि आएका छन्, पुराना प्रतिस्पर्धी पनि छन्। यो चुनावमा कांग्रेसको चुनावी परिणाम कस्तो आउँछ?
जेनजी आन्दोलनमा भदौ २४ गते डरलाग्दा घटनाहरू भए। अहिले संविधानभन्दा बाहिर प्रधानमन्त्री, बाहिरको सरकार छ, चुनाव भइरहेको छ। यो सब राजनीतिक स्थितिलाई हेर्दा समाजमा एक किसिमको चिन्ता पनि छ र एक किसिमको चिन्ताबाट चिन्तनको प्रारम्भ भएको छ। मैले विभिन्न जिल्लाबाट रिपोर्ट पाइरहेको छु। सबैमा गम्भीर चिन्ता छ। हामी पार्टीहरूले राम्रो ढंगले राज्य सञ्चालन गर्न सकेनौँ। हामी सच्चिनु पर्दछ। नयाँ पार्टीहरू, पुरानै पनि लोकतन्त्रमा विश्वास नगर्ने, संघीयतामा विश्वास नगर्ने पार्टीहरू छन् नि पुरानै भए पनि। कम्युनिस्ट र संघीयता एकसाथ चल्दै चल्दैन। मैले सुरुमा संसदमा भनेको छु, पटकपटक भनेको छु, प्रोफेसरहरूलाई, विद्वानहरूले मलाई देखाइदिनुहोस्, कि कम्युनिस्टको डिक्सनरीमा बहुलवाद कहाँ छ?
संसदमा बाबुराम भट्टराईलाई जवाफ दिएको थिएँ। तपाईंको डिक्सनरीमा बहुलवाद छैन भने त्यो डिक्सनरी चेन्ज गर्नुस। किनभने मोबाइलमा डिक्सनरी आइसक्यो, त्यो डिक्सनरी काम लाग्दैन। बहुलवाद बिनाको लोकतन्त्र हुँदै हुँदैन। दार्शनिक र सैद्धान्तिक रूपमा कांग्रेसले मात्र संघीयता, लोकतन्त्र, संसदीय प्रणाली, बहुलवाद र निर्वाचन प्रणालीमा विश्वास गर्दछ। अरू पार्टीहरूले रणनीतिक रूपमा मात्र अहिलेको प्रणालीलाई, अहिलेको संविधानलाई स्वीकार गरेका छन्। नेपाली कांग्रेसमा पनि कमी कमजोरी छ। मतदाता र जनता नेपाली कांग्रेस पहिलेभन्दा सच्चिएर आओस्, सोचेर आओस् भनिराख्नु भएको छ। यो हाम्रो लागि प्लस प्वइन्ट हो।

अहिले कांग्रेस सच्चिएर मतदातामा पुगेको हो भन्ने निष्कर्ष हो?
हो, कांग्रेस सच्चिएर पुग्यो, सच्चिने इच्छा लिएर पुगेको हो। सम्पूर्ण रूपमा सच्चिइसकेको छैन। तर सच्चिने इच्छा चाहिँ अब कांग्रेसमा जागृत छ। मेरो क्षेत्रमा कुरा गर्दा यहाँको जनताले मलाई दुइटा कुरामा पूरा भरोसा गरेका छन्। कुनै पनि व्यक्तिलाई दुइटा चिज चाहिन्छ, एउटा अधिकार, एउटा उसको विकास।
राजनीतिक नेता, जनप्रतिनिधि र राजनीतिक दलले राजनीतिक अधिकारलाई स्थापित गर्ने, त्यसको लागि प्रणाली बनाउनु राजनीतिक पक्ष हो। विकासको काम गर्नुपर्छ। यहाँका जनता, यहाँका मतदातालाई थाहा छ कि म जुन बेलामा स्कुलमा पढ्थेँ, ०२८ सालतिर, म जेल परेको हो।
बीपी कोइरालाको चाहना अनुसार म २४–२५ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति भएँ। पटकपटक म जेल गएँ। यो यहाँको जनतालाई थाहा छ, देशबासीलाई थाहा छ। म धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप जिल्लामा बसेँ, काठमाडौँको केन्द्रीय कारागार र नख्खु कारागारमा बसेँ। यो मेरो राजनीतिक पक्ष हो, राजनीतिक आन्दोलनको पक्ष हो। विमलेन्द्र निधि यहाँका जनता र यहाँको मतदाताको प्रतिनिधि हो। त्यो प्रतिनिधि यहाँको जनता, देशको लागि लड्दै आएको मान्छे हो। मैले यहाँ बाटोघाटो, पुल, स्कुल, अस्पताल र मन्दिर र सांस्कृतिक कुरामा धेरै काम गरेको छु, त्यो यहाँको जनतालाई थाहा छ।
धनुषा ३ मा कांग्रेसको या तपाईं आफूले हेरिरहेको मुख्य प्रतिस्पर्धी को हो जस्तो लागिराखेको छ? यो पटक नयाँ पार्टीले एक तहको हलचल पनि ल्याएको छ नि?
मलाई प्रतिस्पर्धी कोही छैन जस्तो लाग्छ। मधेसको कल्चर के छ भने, मधेसका किसानहरूले अनुभवीहरू खोज्नु हुन्छ। जस्तोः मधेसमा घर बनाउनु पर्यो भने, खेती गर्नुपर्यो भने, खेतमा तपाईंको खेत जोत्नको लागि हलवा खोज्नु पर्यो भने, नवशिक्षितलाई रोज्दैन। अनुभवीलाई रोज्छ। पोख्त भइसकेकोलाई रोज्छ, क्षमतावान् भइसकेकोलाई रोज्छ। पहाडमा के छ मलाई थाहा छैन। मधेसमा पुरानो पार्टीको तुलनामा नयाँ पार्टीको कुनै अर्थ छैन।

तपाईं धनुषा ३ बाट निर्वाचित हुनेमा विश्वस्त हुनुहुन्छ?
म विश्वस्त छु, यहाँका जनता, यहाँका मतदाताहरूको मागमै म निर्वाचन लड्ने निर्णयमा पुगेको हुँ। हाम्रो पार्टीमा नियमित र विशेष महाधिवेशनको विवाद हुँदा म चुनाव लड्छु कि नाइँ भन्ने थियो। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दियो। त्यसपछि गगन थापाजी सभापति बन्नु भएकाले उहाँको हस्ताक्षरमा टिकट पाउने र चुनाव लड्ने कुराको अन्योल पनि देखियो। यसले साथीभाइ, यहाँको पार्टीका साथीहरू निराश थिए। बरु उल्टै मलाई प्रेसर आउन थाल्यो। कोबाट हस्ताक्षर लिनु थाहा छैन, मतलब छैन। तपाईं नेपाली कांग्रेसबाट उम्मेदवार हुनुपर्छ। तपाईंले टिकट लिनुपर्छ, टिकट व्यक्तिबाट होइन, सभापतिबाट लिने हो भनेर साथीहरूले दबाब दिए। मलाई यहाँ यसपालि लडोस् भन्ने भएकाले मेरो पक्षमा राम्रो माहोल छ।
कांग्रेस सभापति नै मधेसमा चुनाव लड्न आउनु भएको छ। अहिले सर्लाही ४ बाट उम्मेदवार बन्नु भएको छ। यसलाई कसरी हेरिराख्नुभाको छ?
यो सामान्य कुरा हो। जो कोही जहाँबाट पनि लड्न सक्छ। कृष्णप्रसाद भट्टराई मधेसबाट लड्नुभएको थियो, गिरिजाबाबु मधेसबाट लड्नुहुन्थ्यो, नेपाली कांग्रेसको कुरा गर्नुहुन्छ भने, सुशील कोइराला मधेसबाट लड्नुभएको थियो। पार्टीको सभापति गगन थापा मधेसबाट लड्नुभयो। कुन ठूलो कुरा हो र अब? यसलाई सामान्य लिएको छु।
समग्र मधेसमा कांग्रेसको निर्वाचन परिणाम कस्तो हुन्छ?
मधेसमा पनि र पूरै देशमा, अहिले के छ भने देशमा जुन संकट, जुन जटिलता उत्पन्न भयो, हठात् अकल्पनीय घटनाहरू भए। राजनीतिक रूपमा संकट आएको बेलामा यसको समाधान गर्ने परिपक्व पार्टी कांग्रेस हो। संकटको बेलामा राजनीतिक महत्त्वका विषयहरूमा समाधान दिन सक्ने कांग्रेसमा एउटा ओरियन्टेसन छ। पहाड, हिमाल, तराई, मधेसमा सब क्षेत्रको जनताको मनमा के छ भने– संकट आएको छ, अहिले त फेरि कांग्रेसै चाहिन्छ, अरूले गर्न सक्दैन। म विश्वास के गर्छु भनेदेखि देशभरिमा नेपाली कांग्रेसले भोट पाउँछ, मधेसमा त पाउँछ, पाउँछ।
जब गम्भीर रोग लाग्छ, तब राम्रो अनुभवी डाक्टरकहाँ जान्छ मान्छे, इलाजको लागि। उमेर हेर्दैन, पुरानो–नयाँ हेर्दैन। फलाना डाक्टर कहाँ जाऊ भन्छ। त्यसकारण अहिले देशमा राजनीतिक रूपमा गम्भीर संकट आएको छ, गम्भीर रोग लागेको छ। मधेस नै हो यसको उपचार दिने क्षेत्र भनेर फेरि मधेसतिर नेपाली जनताको विश्वास फर्केर आएको छ। यो विश्वासलाई मधेसका जनताले पूरा गर्नेछन् भन्ने म विश्वास गर्दछु।
भिडिओ :
Shares

प्रतिक्रिया