ad ad

अन्तर्वार्ता


पार्टीले भूमे समुदायको कुरा नसुन्दा माओवादीको गढमा पनि मैले जितेँ : सुरुल पुन (अन्तर्वार्ता)

‘जिउमा ३६ ठाउँमा चोट थियो, मर्‍यो भनेर साथीहरुले छाडिदिएछन्’
पार्टीले भूमे समुदायको कुरा नसुन्दा माओवादीको गढमा पनि मैले जितेँ : सुरुल पुन (अन्तर्वार्ता)

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १८:११, काठमाडौँ

देशव्यापीरुपमा माओवादी कमजोर बन्दै गए पनि उसको आधारक्षेत्र रोल्पा–रुकुमजस्ता जिल्लामा माओवादीलाई पराजित गर्ने आँट कांग्रेस, एमालेजस्ता स्थापित पार्टीहरुले अहिले पनि गर्न सक्दैनन्। तर, लुम्बिनी प्रदेश सभाको रुकुमपूर्व ‘क’ सिटमा माओवादीका एक कार्यकर्ताले आफ्नै पार्टीका जिल्ला ईञ्चार्ज तेजबहादुर ओलीविरुद्ध उम्मेदवारी दिने आँट मात्र गरेनन्, उनलाई पराजितसमेत गरिदिए।

उनी युद्धकालीन माओवादी जनसेनाको मंगलसेन स्मृति ब्रिगेडका पूर्वसहकमाण्डर सुरुल पुन मगर (अजयशक्ति) हुन्। २०७४ को निर्वाचनमा रुकुमपूर्व ‘क’ बाट विजयी तेजबहादुर ओलीलाई नै उम्मेदवार बनाएपछि स्थानीय भाषामा ‘भूमे समुदाय’ भनिने खामभाषी मगर समुदायले सुरुललाई उम्मेदवार बनाएको थियो। 

सुरुल ४ हजार ४ सय ६५ मतसहित विजयी हुँदा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी जिल्ला इञ्चार्ज ओलीले ३ हजार ९ सय ३२ मत मात्र पाउन सके। 

माओवादीले १० मंसिर २०५८ मा सोलु सदरमुकाम सल्लेरीमा गरेको आक्रमणमा गम्भीर घाइते भएका उनको मृत्यु भएको ठानेर छापामारहरुले जंगलमा छाडेर हिँडेका थिए। यहीकारण उनलाई माओवादी जनयुद्धको ‘जिउँदो सहिद’ पनि भन्ने गरिन्छ। 

माओवादीको किल्लामा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गरेर माओवादीलाई चक्मा दिएका सुरुल पारिवारिक स्वास्थ्य उपचारका सिलसिलामा अघिल्लो हप्ता काठमाडौँ आएका थिए। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मा लगायतलाई भेटे।

नेतृत्वसँग भेटघाट भएपनि बागी उम्मेदवारी र विजयका कारण रुकुम पूर्वको माओवादी नेतृत्वसँग यतिबेला उनको सम्पर्क छैन। उनी निर्वाचनपूर्व पार्टीभित्रै आफू र आफ्नो समुदायले उठाएको मागप्रति जिल्ला नेतृत्वले जनाउने प्रतिक्रियाका आधारमा थप निर्णय गर्ने सोचाइमा छन्। प्रस्तुत छ– तिनै सुरुलसँग रुकुमपूर्वको माओवादी राजनीति, उनको उम्मेदवारी र विजय, आगामी योजना लगायतका विषयमा नेपालखबरले गरेको कुराकानी : 

तपाईं आफैँ जनयुद्धमा सहभागी भएको व्यक्ति। माओवादीको आधार क्षेत्रमा माओवादीका उम्मेदवारलाई हराउनु भयो। निर्वाचनपछि जिल्लामा माओवादी नेता–कार्यकर्तासँग कस्तो सम्बन्ध छ?   
जिल्लाको माओवादीको नेतृत्वको मसँग बोलचाल छैन। म बोल्न चाहन्छु, उहाँहरु बोल्नु हुन्न। 

हुन त, निर्वाचनपछि उहाँहरु आफ्नो काममा लाग्नुभयो होला। म पनि मतदाताहरुलाई धन्यवाद दिने कार्यक्रममा व्यस्त भएँ। त्यही कारण पनि उहाँहरुसँग मेरो भेटघाट नभएको होला।  

माओवादीको गढमा तपाईंको जित कसरी भयो? 
मेरो जित त्यहाँको समुदायको न्यायपूर्ण जित हो। सिन्डिकेटमा चल्ने नेता–कार्यकर्तालाई रुकुम पूर्व ‘क’ का मतदाताले यसपल्ट चुनौती दिए।

सिन्डिकेटमा चल्न चाहनेहरुले पार्टी नेतृत्वले जे भन्छ, जे आदेश दिन्छ, त्यो मानिरहे। सही होस् कि गलत होस्– त्यो उनीहरुले मूल्याङ्कन गरेनन्। 

उनीहरु नेपालगञ्जको टाँगा चलाउने घोडा जस्ता भए– दायाँबायाँ नहेरी एकैतिर हिँडिरहने। नेताले जसरी हिँडाउन चाहे, सही गलत नछुट्ट्याइ उनीहरु त्यसैगरी हिँडिरहे। 

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनुको कारण के थियो?
रुकुम पूर्वको माओवादी नेतृत्वमा व्यक्तिवाद, तानाशाही, पुँजीवादी प्रवृत्ति, सामन्तवादी चिन्तन हावी भएको थियो। नेतृत्वको यो प्रवृत्तिविरुद्ध पार्टीभित्रैबाट हामी संघर्ष गरिरहेका थियौँ। तर, हाम्रो सुनुवाइ भएन। त्यसपछि हामीले विद्रोह गर्यौँ। हाम्रो विद्रोहलाई रुकुम पूर्वका जनताले निर्वाचनमार्फत् अनुमोदन गर्नुभएको छ।   

उम्मेदवारीबारे जिल्ला कमिटीमा छलफल हुँदा रुकुमपूर्व ‘क’ बाट हुने उम्मेदवारी ‘भूमे समुदाय’ बाट हुनुपर्छ भन्ने निर्णय भएको थियो। यो समुदायले वर्षाैंवर्षदेखि राजनीतिक जिम्मेवारी पाएको थिएन। पञ्चायतकालमा त पाएन–पाएन, बहुदलकालमा र गणतन्त्र स्थापनापछि पनि जिम्मेवारी पाएन। 

त्यही क्षेत्र र समुदायको नारा दिएर माओवादीले आफ्नो आधार बनाएको हो। तर, गणतन्त्र स्थापनापछि पनि त्यो समुदाय र क्षेत्रलाई अवसर दिने काम माओवादीबाट पनि भएन। 

त्यो समुदाय र क्षेत्र भनेको कुन हो? 
पुथा–उत्तरगंगा गाउँपालिका हो। त्यो समुदायका मानिसहरु खाम मगर भाषा बोल्छन्। उनीहरुको पृथक पहिचान र अस्तित्व छ। 

रुकुमपूर्व ‘क’ मा पुथा उत्तरगंगा गाउँपालिकाका ९ र भूमे गाउँपालिकाका ५ वटा गरी १४ वडा पर्छन्। रोल्पा–रुकुममा माओवादी मौलाउने वातावरण सिर्जना गर्ने, उनीहरुलाई आधार प्रदान गर्ने, सेल्टर दिने, हुर्काउने–बढाउने तिनै ठाउँहरु हुन्। 

शान्ति प्रक्रिया सुरु भएपछि माओवादी निरन्तर सत्तामा छ। तर, त्यहाँको भूमे समुदायले न्याय प्राप्त गर्न सकेन। त्यसैको परिणाम अहिलेको निर्वाचनमा देखिएको हो।  

तपाईंहरुको कुराको सुनुवाइ खास के कारणले भएन? 
मैले माओवादीका जो उम्मेदवार (तेजबहादुर ओली) लाई हराएर प्रदेश सभामा निर्वाचित भएँ, उहाँ नै पार्टीको केन्द्रीय सदस्य र जिल्ला इञ्चार्ज हुनुहुन्छ। उहाँको भाउजू (श्रीमती) सहइञ्चार्ज हुनुहुन्छ। 

उहाँ २०७४ मा पनि त्यही प्रदेश सभाबाट निर्वाचित हुनुभएको हो। यसपटक पनि टिकट उहाँले नै लिनुभयो। उहाँ नै उम्मेदवार बन्न चाहेपछि जिल्ला कमिटीले गरेका निर्णय उहाँहरुले कत्तिको इमान्दारीपूर्वक केन्द्रीय नेतृत्वसमक्ष राख्नुभयो होला?  

परिणाम के देखियो भने उहाँ (तेजबहादुर ओली) ले आफ्नै नाममा रुकुमपूर्व ‘क’ को टिकट लिएर जानुभयो। त्यसपछि हामीले उम्मेदवारी दिने निर्णय गर्यौँ। 

तपाईंहरुको माग र चुनावी नारा खामभाषी समुदायबाट उम्मेदवारी दिनुपर्छ भन्ने हो? 
ठ्याक्कै यो पनि होइन। हाम्रो आवाज जिल्लाका सबै पालिकाहरुले बराबरी अवसर पाउन् भन्ने हो। 

रुकुमपूर्वमा पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिका गरी तीन गाउँपालिका छन्। तर, जहिले पनि सबै अवसर सिस्ने र भूमे गाउँपालिकाले लिएको अवस्था छ। पुथा उत्तरगंगा गाउँपालिका जहिले पनि उपेक्षित हुने अवस्था रह्यो। 

जिल्लाको नेतृत्वले प्रचण्डकहाँ गएर के भन्यो, त्यो कुरा हामी भुइँमान्छेलाई थाहा हुने कुरा भएन। कुरा बुझ्नसक्ने हाम्रो ‘हाइट’ पनि पुग्दैन। तर, हाम्रो जिल्ला नेतृत्वको मानसिकता भने ‘हामीले जे भनेपनि कार्यकर्ताले मान्छन्, नमाने पेलेर पनि जान सकिन्छ’ भन्ने रह्यो।    

जिल्ला इञ्चार्जले गठबन्धनबाट निर्णय गराउँदा पनि चलाखी गर्नुभयो। पार्टीभित्रैबाट जब आफूविरुद्ध आवाज उठ्ने सम्भावना देख्नुभयो, तब हाम्रो समुदायका मानिसहरुले स्वीकार गर्छन् भनेर एकजना महिला कमरेडलाई समानुपातिक उम्मेदवार बनाउनुभयो। त्यति गर्दापनि मानेनन् भने पनि आफू बलियो हुनुपर्छ भनेर नेपाली कांग्रेसका लागि प्रदेश सभाको एउटा सिट (रुकुम पूर्व ‘ख’) छाडिदिनुभयो, जबकि रोल्पा–रुकुमजस्ता आधार क्षेत्रमा चुनाव जित्न माओवादीलाई गठबन्धनको आवश्यकता थिएन।   

यस हिसाबले मेरो उम्मेदवारी पार्टीभित्रकै ‘हेभिवेट’ उम्मेदवार विरुद्ध थियो। अर्काे, गठबन्धनविरुद्ध पनि मेरो उम्मेदवारी भयो। ‘हेभिवेट’ उम्मेदवार र गठबन्धनलाई पराजित गर्ने हो भने ठूलो युद्धका लागि गरेजस्तो तयारी गर्नुपर्थ्यो। अप्ठेरो थियो, तर हामीले जितिछाड्यौँ।

त्यो क्षेत्रका माओवादी नेता–कार्यकर्ताको साथ तपाईंलाई रह्यो कि रहेन?
अधिकांशले गर्नुभयो। केही संस्थापनपक्षमै रहनुभयो, उहाँहरुले सहयोग गर्नुभएन। हिजो युद्धमा त्याग, तपस्या, बलिदान गरेको मूल नेतृत्व र अहिलेको संसदीय प्रणाली बुझेका नागरिकहरुले इमान्दारीपूर्वक मलाई सहयोग गर्नुभयो, आफ्नो अमूल्य मत दिएर मलाई विजयी गराउनुभयो। स्वार्थको पछि लागिरहने चैते माओवादीहरुको भने साथ रहेन।  

अब माओवादीमा फर्कनुहुन्छ कि फर्कनुहुन्न?
यसबारेमा मैले सोचेको छैन। मलाई स्वतन्त्र उम्मेदवारका रुपमा जिताउन जो–जो साथीहरु लाग्नुभयो, मैले उहाँहरुको कुरा सुन्नुपर्ने हुन्छ। हिजो नेतृत्वमा जुन प्रवृत्ति देखियो, त्यो प्रवृत्तिलाई सच्याउँछ कि सच्याउँदैन, देखिएका समस्या समाधान गर्न सक्छ कि सक्दैन, यो कुरा पनि हामीले हेर्नुपर्छ।  

तपाईंलाई माओवादी जनयुद्धको ‘जिउँदो सहिद’ पनि भनिँदो रहेछ। घटनाबारे बताइदिनुस् न! 
त्यो सोलुको सल्लेरी सदरमुकाम कब्जा गर्न भएको आक्रमण (१० मंसिर २०५८) को घटना हो। पश्चिमबाट एउटा प्लाटुनको नेतृत्व गरेर म पूर्व पुगेको थिएँ। १० मंसिरमा आक्रमण भयो। आक्रमणको क्रममा सेनाको ४–५ वटा बंकर कब्जा गरिसकेका थियौँ। त्यसैक्रममा म घाइते भएँ। मेरो शरीरमा ३६ ठाउँमा चोट थियो। 

म ढलेपछि तलका सेक्सन कमान्डरहरुलाई कमान्ड गर्ने मानिस भएनन्। म ढलिसकेपछि ‘हाम्रो कमान्डर ढल्यो’ भन्ने मनोवैज्ञानिक असर उहाँहरुलाई पर्यो होला। 

घाइते भएपछि साथीहरुले मलाई आधा घण्टा परको जंगलमा पुर्याएर छाड्नुभयो। त्यो तामाखानी भन्ने ठाउँ हो। सोलु–सल्लेरी भन्दा पारिपट्टि पर्छ।

तपाईं होसमै हुनुहुुन्थ्यो? 
‘आँधीसँग खेल्दा’ भन्ने पुस्तकमा मैले ‘घाइते भएपछि म निदाएछु’ भन्ने उल्लेख गरेको छु। तर अहिले फर्केर हेर्दा साथीहरुले म मरेकै भनेर छाडेका रहेछन्। 

किनकि, जब म ब्युझेँ, वरिपरि साथीहरु थिएनन्। 

कति समयपछि ब्युँझनुभयो?
घाइते भएपछि साथीहरुले जंगलतिर लिएर गए। ११ मंसिर (०५८) दिउँसो चार बजेतिर ब्युँझेको थिएँ। साथीहरुले बोकेर जंगलतिर लगेको र भुइँमा राखेको पनि थाहा छ। त्यसपछि म निदाएँ होला सायद। तर, ब्युँझदा साथीहरु थिएनन्। मलाई लाग्छ, साथीहरुले चाहिँ ‘अजयशक्ति मर्यो’ भन्ने सोचेर छोडेर हिँड्नुभयो। 

मंसिरको महिना, तुसारो लाग्ने ठाउँ थियो। घाइते शरीर लिएर रातभरि कठ्याङ्ग्रिदै धुपी र लालीगुराँसको छहारीमुनि त्यसदिनको रात कटाएँ। 

बिहान (१२ मंसिर) भयो, घाम लाग्यो। मलाई तिर्खा लागिरहेको थियो। तर, पानी ल्याइदिने मानिस कोही थिएनन्। ज्यान त बचाउनै पर्यो। त्यसैले, आफ्नै पिसाब खाएर मैले आफ्नो तिर्खा मेटेँ। 

त्यसपछि म घस्रिँदै–घस्रिँदै अघि बढेँ। ७ घण्टा घस्रेपछि म एउटा गोठमा पुगेँ। खासमा त्यहाँ पुग्न १० मिनेट मात्र लाग्थ्यो। तर, घाइते शरीर भएकाले घस्रँदै जाँदा मलाई सात घण्टा लाग्यो। 

त्यो गोठमा तामाङ अङ्कलहरु बस्नुहुँदो रहेछ। गोठको ढोकामा पुगेपछि मैले पानी ‘दिनुस् न’ भनेको याद छ। तर, म फेरि बेहोस भएछु। उहाँहरुले पानी खुवाउनु भएछ। ब्युँतिने बेला मैले आफूलाई गोठको छेउमा राखिएको पाएँ। मेरो जिउबाट रगत बगिरहेको थियो। 

उहाँहरुले मलाई ६ दिनसम्म घाँस राखिएको ठाउँमा लुकाएर राख्नुभयो। सातौँ दिनमा बोकेर रातारात तामाखानीको गुम्बामा पुर्याउनुभयो। त्यो गुम्बामा म सवा महिना जति बसेँ। 

तपाईं त्यहाँ रहेको सेना–प्रहरीले थाहा पाएन?
धार्मिक स्थल भएकाले गुम्बाभित्र सेना–प्रहरी पस्दा रहेनछन्। लामा बस्ने कोठामा अरु अनावश्यक मानिसहरु पनि जाँदा रहेनछन्। लामाले मलाई गुम्बाको दोस्रो तलामा राख्नुभएको थियो। सवा महिनासम्म उहाँहरुले मलाई सुरक्षित राख्नु मात्र भएन, खाना खुवाउने, दिसा–पिसाब थापेर फाल्ने लगायत काम पनि गर्नुभयो। 

खासमा मलाई दोस्रो जीवन तिनै तामाङ आमाबुबा र लामाले दिनुभयो। 

पार्टीसँग सम्पर्क कसरी भयो? 
गुम्बामा डेढ महिना बसिसकेपछि आफ्नो दिसा–पिसाब आफैँ फाल्ने भइसकेको थिएँ। त्यसपछि मेरो मनले सोच्न थाल्यो, ‘अब सधैँ यसरी बसेर हुँदैन। अब यहाँबाट बाटो लाग्नुपर्छ, हिँड्नुपर्छ।’

राम्रोसँग अझै हिँड्न सक्दैनथेँ। १० मिनेटको बाटो हिँड्न मलाई एक घण्टा लाग्थ्यो। शरीरमा रहेका घाउबाट अझै पिप र रगत आउँथ्यो। 

मैले हिँड्ने अभ्यास गर्न थालेँ। घाउबाट रगत र पिप निकाल्दै म हिँड्ने अभ्यास गर्थें। मसँग ३–४ सय रुपैयाँ पर्ने पिलिक्पिलिक् गर्ने घडी थियो। त्यही घडी हेर्दै म हिँड्ने अभ्यास गर्थें। 

जब अब हिँड्न सक्छु भन्ने भयो, मैले गुम्बाका लामासँग आफू विदा हुने बताएँ। आफ्नो पहिचान नखुलोस् भनेर उहाँको ड्रेस मागेँ। उहाँले दिनुभयो। लामाले लगाउने ड्रेस लगाएपछि शरीरका घाउहरु पनि छोपिए। हिँड्न सजिलो भयो। 

मैले सोलुमा पार्टी सम्पर्क पाइनँ। ओखलढुङ्गा आएँ। ओखलढुङ्गामा पनि सम्पर्क पाउन सकिनँ। ५–६ दिन हिँडेर रामेछापको वाम्ती भन्ने ठाउँमा पुगेँ। 

त्यो बेला ‘पेजर’ प्रचलनमा थियो। मसँग जनमुक्ति सेनाका ‘दीप’ भन्ने साथीको सम्पर्क थियो। डायरीमा ‘दीप’ लाई ‘दिदी’ भनेर पेजर नम्बर लेखेको थिएँ। सेना–पुलिसले समात्यो भने पनि उसको दिदीको नम्बर भनेर केही गर्दैन भन्ने सोचेर त्यसो गरेको थिएँ।

मैले दीपलाई पेजरमा सम्पर्क गरेँ। उहाँले मैले पेजर गरेको फोनमा सम्पर्क गरेर ‘तपाईं को हो’ भनेर सोध्नुभयो। 

मैले आफू पश्चिमबाट आएको अजयशक्ति भएको र घाइते अवस्थामा रहेको जानकारी गराएँ। त्यसपछि उहाँले एउटा ‘लोकेसन’ दिनुभयो। त्यहाँ रीतबहादुर खड्काकी बहिनी हुनुहुँदो रहेछ। उहाँले रामचन्द्र दाइकोमा लैजानुभयो। र, म पार्टीको सम्पर्कमा पुगेँ। 

शान्ति प्रक्रियामा आएपछि रोजगारीका लागि भारत पनि जानुपर्यो रे। के–के भएको हो? 
बच्चाबच्चीलाई पढाउनुपर्ने थियो। कापीकलम किन्नुपर्ने थियो, ड्रेस किनिदिनुपर्थ्यो। खेतीकिसानीले यी काम गर्ने पैसा जुट्न सक्दैनथ्यो।  

एकातिर मेरो यस्तो स्थिति थियो, अर्काेतिर गाउँकै केही साथीहरुले इन्डिया गएर राम्रै कमाइ गरेका थिए। त्यसैले, २०७० ताका म पनि रोजगारीको सिलसिलामा भारतको हरिद्वार गएँ। त्यहाँ मजदुरी गरेँ। म त्यहाँ घर बनाउने मिस्त्रीको काम गर्थें।   

देशलाई ‘मुक्त गर्न’ जनयुद्धमा लागेको मान्छे, मजदुर बन्नु पर्दा कस्तो लाग्थ्यो?
श्रमप्रति मेरो जहिले पनि सम्मान छ। त्यसैले, मजदुरी पेसालाई म नराम्रो मान्दिनँ। समाजवादी व्यवस्था हुँदै साम्यवादी लक्ष्यमा पुग्ने वैचारिक सोचका साथ हामी जनयुद्धमा लागेका थियौँ। त्यसैलेपनि श्रम गर्नु परेकोमा पछुतो कहिले पनि भएन। 

जब मैले क्यान्टोनमेन्ट छाडेँ, म खेतीकिसानी गरेरै गाउँमा बसेको थिएँ। खेतीकिसानीका लागि जोत्नुपर्यो, खन्नुपर्यो। यो पनि त श्रम नै हो, मजदुरी हो। गाउँमा पनि मजदुरी नै गरिरहेको थिएँ त किन त्यसमा पछुतो गर्नु पर्यो र? 

बरु हिजोका कतिपय साथीहरुको जीवनशैली बदलिएको देख्दा, हिजो आफूसँगै लडेका घाइते साथीहरुको अवस्था झन् नाजुक बन्दै गएको सम्झँदा चाहिँ भावुक हुन्थेँ।

मलाई लाग्थ्यो– हामीले परिकल्पना गरेको त्यो व्यवस्था किन आउन सकेन? अहिलेको संसदीय प्रणालीमै रमाउने हो भने ०४८ कै संविधानलाई जनप्रतिनिधिहरु बसेर थोरै संशोधन गरेको भए पनि हुन्थ्यो त! हाम्रो काम राजाको पारिवारिक शासनलाई फाल्ने मात्रै भयो कि क्या हो!  

अब के गर्ने सोचाइ छ त?
सांसद हुँदैमा मैदानलाई उचालेर पहाड ठड्याउँला वा पहाड भत्काएर मैदान बनाउन सकिएला भन्ने मलाई लाग्दैन। किनकि हामी संसदीय प्रणालीमा छौँ।

यस्तो हुनुको कारण व्यक्तिको भन्दा पनि प्रणालीकै दोष हो। सरकारले एउटा गर्न खोज्छ, तर कर्मचारीतन्त्रले रोकिदिन्छ। कानुन–विधिहरु अपर्याप्त छन्। कुनै कानुन प्रक्रियाहरु बाझिएका छन्। यी कुराहरुमा सुधार नगरी हामीले सोचेका सामान्य काम पनि पुरा होलान् जस्तो लाग्दैन। 

तर, त्यहाँबाट जति गर्न सकिन्छ, त्यो गर्ने मेरो प्रयत्न रहन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .