ad ad

अन्तर्वार्ता


सुदूरपश्चिमको नेतृत्व कांग्रेसले पाउनुपर्छ, मुख्यमन्त्रीमा मेरो दाबी हुन्छ : बहादुरसिंह थापा (अन्तर्वार्ता)

सुदूरपश्चिमको नेतृत्व कांग्रेसले पाउनुपर्छ, मुख्यमन्त्रीमा मेरो दाबी हुन्छ : बहादुरसिंह थापा (अन्तर्वार्ता)

गोकुल जोशी
मंसिर २१, २०७९ बुधबार ९:५४, कञ्चनपुर

सुदूरपश्चिममा नेपाली कांग्रेसको पाका नेतामा गनिन्छन्, बहादुरसिंह थापा। वि.सं. २०३० सालमा बैतडीको विरेन्द्र माध्यमिक विद्यालयमा पढ्दादेखि उनी राजनीतिमा लागेका थिए। 

भारतको पिथौरागढमा उच्च शिक्षा अध्ययन गर्दा उनी अखिल नेपाल विद्यार्थी संघ प्रवासको अध्यक्ष बने। उच्च शिक्षा अध्ययन पश्चात् वि.सं. २०४० सालमा थापा कञ्चनपुर झरेका थिए। 

त्यसपछि उनले यहीँबाट आफ्नो राजनीतिक यात्रा अगाडि बढाए। उनी भन्दा सिनियर नेताहरु जेल परेकाले उनले ०४६ को आन्दोलनको नेतृत्व गरे।

आन्दोलन सफल भएपछि बहुदल स्थापनापछि गाउँ गाउँमा संगठन विस्तार हुन थाले। त्यस बेला वडामा नागरिक सुरक्षा समिति बनिरहेका थिए, त्यसको संयोजक बनेका थिए, थापा। 

०४७ सालतिर पार्टीको संरचना विस्तार भएपछि उनी तत्कालीन कञ्चनपुर क्षेत्र नं. २ को कांग्रेसको क्षेत्रीय सभापतिमा निर्विरोध निर्वाचित भए। ०५७ सम्म दुई कार्यकाल कांग्रेसको क्षेत्रीय सभापतिको जिम्मेवारी थापाले सम्हाले।

त्यसपछि ०५७ मा उनी पहिलो पटक नेपाली कांग्रेस कञ्चनपुरकोे सभापतिमा निर्विरोध चयन भएका थिए। ०७२ सालसम्म तीन कार्यकाल कांग्रेस कञ्चनपुर हाँकेका थिए, थापाले।

०६४ को पहिलो संविधान सभा चुनावमा साविक क्षेत्र नं. ३ बाट प्रतिस्पर्धा गरेका उनी माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टसँग पराजित भए। ०७० को दोस्रो संविधानसभामा थापा विजयी भए।

त्यसपछि ०७४ सालमा कञ्चनपुरमा तीन वटा निर्वाचन क्षेत्र मात्रै कायम रहँदा उनले प्रदेशमा प्रतिस्पर्धा गरे। कञ्चनपुर क्षेत्र नं. २(२) मा उनी एमालेका लालबहादुर खड्कासँग पराजित भएका थिए।

यसपटकको चुनावमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेका संविधानसभा सदस्य थापा प्रदेश सांसदमा निर्वाचित भएका छन्। 

सुदूरपश्चिमको सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै प्रदेशमा सरकार गठनका लागि नेताहरु सक्रिय भएका छन्। सत्तारुढ गठबन्धनको बहुमत आएपछि कांग्रेस र माओवादी केन्द्रका प्रदेश नेताहरु आफ्नो नेतृत्वमा सरकार बनाउन दौडधूपमा छन्। नेपाली कांग्रेसबाट संविधानसभा सदस्य समेत रहेका थापालाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ।

यसै सन्दर्भमा सुदूरपश्चिममा कांग्रेसको चुनावी समीक्षा, नयाँ सरकार र अबको योजनाबारे प्रदेश सभा सदस्य थापासंग नेपालखबरले गरेको कुराकानीको सम्पादित अंशः

सुदूरपश्चिमको मतपरिणामलाई कसरी लिनुभएको छ?
सुदूरपश्चिमको मतपरिणाम गठबन्धनको पक्षमा आएको छ। जनताको अभिमतले गठबन्धन सफल भएको सिद्ध भएको छ। निर्वाचनमा मत माग्दै गर्दा हामीले संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिको एजेण्डा प्रमुख बनाएका थियौं। जनताले यसको पक्षमा अभिमत जाहेर गरेको मैले महशुस गरेको छु।

माओवादीका नेताहरुले गठबन्धनमा कांग्रेसले सहयोग गरेन भन्दैछन् नि?
प्रदेशभर समग्रमा कांग्रेसको मत ट्रान्सफर भएको छ। कांग्रेसले माओवादीलाई सहयोग गरेको नै छ। कुनै ठाउँमा जुन किसिमले हामी मत ट्रान्सफरको अपेक्षा गरेका थियौं, त्यो तहसम्म हुन सकेन। समग्रमा आपसी समझदारी बनिहाल्छ।

सुदूरपश्चिममा अहिलेकै गठबन्धनको सरकार बन्छ? नेतृत्व कस्ले गर्छ?
सुदूरपश्चिममा अहिलेकै गठबन्धनको सरकार बन्छ। संघीयता पछिको पहिलो सरकार पूर्ण कार्यकाल माओवादीले चलायो। प्रधानमन्त्री एवम् कांग्रेस सभापतिको समेत गृहप्रदेश रहेकाले अब कांग्रेसले नेतृत्व गर्न पाउनुपर्छ भन्ने मान्यता हो। नेतृत्वका लागि शीर्ष नेताहरुले आपसी समझदारी गरेर तय गर्छन्। गठबन्धनले गरेको निर्णयलाई मान्नुपर्छ। 

तपाईंलाई सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ, कस्तो छ तयारी?
कांग्रेसको भागमा परेमा मुख्यमन्त्रीका लागि सिनियरका हिसाबले पनि म नै छु। प्रदेशमा जति साथीहरु जितेर आउनु भएको छ, उहाँहरु भन्दा प्रोटकलमा पनि म नै अगाडि छु। स्वभाविक रुपले कांग्रेसको संसदीय दलको नेतामा दाबी रहन्छ। 

कांग्रेसभित्रै पनि मुख्यमन्त्रीका धेरै आंकाक्षी छन्, प्रधानमन्त्रीले चुनावताका गृहजिल्ला डडेल्धुरामा माओवादीका खगराज भट्टलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको अवस्थामा तपाईंलाई कतिको सहज छ?
कांग्रेसबाट मुख्यमन्त्रीका लागि दाबी गर्ने आधार मसँग छ। संविधान सभा सदस्य रहेर काम गरेँ, पार्टीको तीन पटक जिल्ला सभापति रहेँ। पार्टीको संगठन विस्तारदेखि पार्टीमा गरेको योगदान जगजाहेर छ। त्यसैले मैले पाउनुपर्छ भन्ने मान्यता हो। प्रदेश सांसद भएपछि अन्य साथीहरुको आंकाक्षा हुन्छ। त्यसप्रति मेरो कुनै आपत्ति छैन। गठबन्धनको पनि कुरा छ, गठबन्धनको जे निर्णय गर्छ, त्यसलाई मानेर जानुपर्छ। हाम्रो नेता आदरणीय शेरबहादुर दाइ हुनुहुन्छ, उहाँको निर्णय मान्ने हो।

निर्वाचनको परिणाम आएपछि सभापति शेरबहादुर देउवासँग कुराकानी भएको छ?
अहिले भएको छैन। उहाँसँग भेट गर्न काठमाडौं जाँदैछु। 

तपाईंको मुख्यमन्त्रीमा दाबी किन? 
सुदूरपश्चिमको विकासको लागि मेरो मुख्यमन्त्रीमा दाबी हो। शेरबहादुर देउवा दाइको नेतृत्वमा धेरै हदसम्म हामी विकास निर्माणको बाटोमा अगाडि बढेका छौं। यो क्षेत्रमा उद्योगधन्दा विकास गरेर बेरोजगारीको समस्या समाधान गर्नुपर्ने छ। सँग सँगै उत्पादन पनि बढाउनु छ। 

समृद्धिको बाटोतिर अगाडि बढ्ने हाम्रो लक्ष्य पुरा गर्नका लागि पनि उद्योग विस्तार गर्नुपर्छ। यातायातको क्षेत्रमा सबै जिल्लामा ट्रयाकसम्म पुगेको छ। सडकहरुलाई स्तरोन्नति गरेर काम कारबाही अगाडि बढाउनुपर्छ। गुणस्तरीय शिक्षाको लागि शिक्षा क्षेत्रमा धेरै काम गर्नुछ। 
तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा धेरै ठूलो उत्पादन गर्न सक्छौं, त्यसका लागि उत्पादन बढाउन कृषि क्षेत्रमा धेरै सुधारहरु गर्नु पर्नेछ। सुदूरपश्चिमलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गरेर धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सक्छौं। 

मुलुक समृद्धिको बाटोमा लैजाने लक्ष्य अनुरुप सुदूरपश्चिममा पनि राजनीतिक स्थिरता दिएर यो ठाउँमा विकास निर्माणको सबै क्षेत्रको काम अगाडि बढाएर सुदूरपश्चिमलाई समृद्धि बनाउन सकिने विश्वास छ।

विगतमा गठबन्धनको भागबण्डाले प्रदेश सभाका अधिकांश सांसद मन्त्री बने, देखिने गरेर काम भएन। फेरि पनि गठबन्धन छ, भागबण्डाले खिचातानी होला, यस्तो अवस्थामा तपाईं कसरी काम गर्न सक्नुहुन्छ?
२०७४ मा पनि गठबन्धनकै सरकार बन्यो। तपाईंले भनेजस्तै विकासले गति लिन सकेन। अहिले निर्वाचनपूर्व नै गठबन्धन भएको छ। मिश्रित निर्वाचन प्रणालीले गर्दा कुनै राजनीतिक दलको एकल बहुमत आउने सम्भावना छैन।

त्यो निर्वाचन पछि गठबन्धन हुँदै गए, तर राजनीतिक स्थिरता दिन सकेनन्। सबै राजनीतिक दलको उदेश्य एउटै हो, त्यसैले सबै मिलेर मुलुकलाई राजनीतिक स्थिरता दिन, संविधानको रक्षा गर्दै देशलाई समृद्धिको बाटोमा लैजान निर्वाचन अघि नै गठबन्धन गरेका हौं। अब बन्ने गठबन्धनको सरकारले ती लक्ष्य प्राप्तिको लागि काम गर्नेछ। विगतमा भएका बिसंगतिको अन्त्य गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .