ad ad

अन्तर्वार्ता


२०७४ मा एक्लै थिएँ, अहिले गठबन्धनको साथ छ : नरेन्द्र साह (अन्तर्वार्ता)

सर्लाहीमा गठबन्धन बलियो छ, अरु नेताको साथ पाएको छु
२०७४ मा एक्लै थिएँ, अहिले गठबन्धनको साथ छ : नरेन्द्र साह (अन्तर्वार्ता)

नरेन्द्र साह।


जनार्दन पोखरेल
कात्तिक ८, २०७९ मंगलबार ८:६, सर्लाही

२०७४ को निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट विजयी नेकपा माओवादी केन्द्र यस पटक पनि त्यही नतिजा दोहोर्‍याउने योजनामा छ। सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धनबाट सर्लाही ३ मा माओवादीका नरेन्द्र साह चुनावी प्रतिस्पर्धामा छन्। विपक्षी गठबन्धनले यो निर्वाचनमा साहका प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका नेता हरि उप्रेतीलाई उतारेको छ। साह र उप्रेती दुवै पूर्व सभासद् हुन्। ०७० को दोस्रो संविधान सभा निर्वाचनमा साह महिन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई-मधेस समाजवादी पार्टीबाट समानुपातिक सांसद बन्दा यो क्षेत्रबाट उप्रेती प्रत्यक्ष निर्वाचित भएका थिए।

०७४ को निर्वाचनमा सर्लाही ३ मा वाम गठबन्धन (एमाले-माओवादी) बाट माओवादीका रामेश्वर राय २२ हजार ३ सय ६७ मतसहित विजयी हुँदा स्वतन्त्र उम्मेदवार साह करिब १२ हजार मत ल्याएर तेस्रो भएका थिए। उनै साह यो पटक माओवादीबाट सर्लाही ३ मा संघीय सांसदको उम्मेदवार छन्। मनोनयनको ११ दिनअघि (१२ असोजमा) मात्रै माओवादीमा प्रवेश गरेका साहले पार्टीका धेरै आकांक्षीलाई पछि पारेर टिकट लिन सफल भए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताको विश्वास जितेका साह आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान चलाइरहेका छन्। मतदातासँग भेटघाटका क्रममा शनिबार बागमती आइपुगेका साहसँग नेपालखबरले गरेको कुराकानी :
 
पार्टी प्रवेश गर्नासाथ अन्य आकांक्षीलाई पछि पार्दै तपाईंले संघीय संसदको टिकट पाउनुभयो। यो कसरी सम्भव भयो?
यो कसरी सम्भव भयो, तपाईंहरु आफैँ जानकार हुनुहुन्छ होला। म यो क्षेत्रको लागि नयाँ अनुहार होइन। म विगतमा पार्टीमा क्रियाशील नभए पनि माओवादीप्रति मेरो आस्था र विश्वास पुरानै हो।

०७४ मा चुनाव हारेपछि पनि मलाई माओवादीले राष्ट्रिय सभाको टिकट दिएको थियो। यसले पनि माओवादीले मप्रति गरेको विश्वासलाई उजागर गर्छ।

राजनीतिमा लागेपछि नेताहरुमा टिकट पाउने, उम्मेदवार बन्ने चाहना हुनु अस्वाभाविक होइन। उम्मेदवारका आकांक्षी सबै साथीहरुलाई म सम्मान गर्छु। तर, उम्मेदवार बनेर मात्रै हुँदैन। जनताको विश्वास पनि जित्नु पर्छ। स्वतन्त्र उम्मेदवार बनेर पनि मैले ०७४ मा राम्रो मत ल्याएको थिएँ। जनताले मलाई गरेको विश्वासले नै त्यो सम्भव भएको थियो। जनताको विश्वासलाई बुझेरै, यसपटक प्रचण्डले मलाई टिकट दिनु भएको छ। 

तपाईंको उम्मेदवारीलाई सर्लाही पार्टीले कसरी लिएको छ?
मेरो उम्मेदवारीले जिल्लामा पार्टीका साथीहरु उत्साहित हुनुहुन्छ। जिल्लाभर नै उत्साहपूर्ण वातावरण छ। सबै साथीहरु एक ढिक्का भएर निर्वाचन अभियानमा सहभागी बन्नु भएको छ।

पार्टीका केही नेता तपाईंको उम्मेदवारीलाई लिएर असन्तुष्ट छन् भन्ने चर्चा छ, खास कुरा के हो?
त्यस्तो केही छैन। पार्टी निर्णयलाई सबैले सम्मान गर्नु भएको छ। पार्टीका केन्द्रीय सदस्य माया वल, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, बागमती नगरपालिकाका मेयर भरत थापा, बरहथवा नगरपालिकाका पूर्व मेयर देवानन्द महतोसहित सबैजसो नेता र अगुवा कार्यकर्ता अभियानमा जोडिनु भएको छ। अहिले खुल्न नसकेका साथीहरु पनि विस्तारै मेरो पक्षमा उभिने विश्वास छ।

माओवादी सर्लाहीका इन्चार्ज अच्युतम काफ्ले, निवर्तमान सांसद रामेश्वर रायसहितका केही नेता अझै तपाईंको पक्षमा खुलेर आउन सकिरहेका छैनन् होइन र?
उहाँहरु मेरो पक्षमा हुनुहुन्न भन्ने विपक्षीहरुको हल्ला मात्रै हो। उहाँहरु पार्टीका आदरणीय र दिग्गज नेता हुनुहुन्छ। पार्टी निर्णयलाई कार्यान्वयन गर्नु उहाँहरुको पनि दायित्व हो। गठबन्धनको पक्षमा उहाँहरुले आ-आफ्नो ठाउँबाट अभियान चलाइरहनु भएको छ। चुनाव आउन अझै एक महिना बाँकी छ। तपाईं हेर्दै जानु होला, केही समयपछि हामी सबैलाई तपाईंले एउटै अभियानमा भेट्नु हुनेछ।

तपाईंको निर्वाचन अभियान कसरी चलिरहेको छ?
उम्मेदवारी दर्तापछि हामी निर्वाचन अभियानमा छौँ। पार्टीका बैठक, भेलासहित निर्वाचन लक्षित गतिविधि भइरहेका छन्। यो परिवर्तनको नेतृत्व गर्ने मुख्य शक्ति माओवादी नै हो। संघीयता, धर्म निरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता उपलब्धिको मुख्य जननी माओवादी हो। हामी पार्टीका विचार, दृष्टिकोणसँगै गठबन्धनको औचित्य र एजेण्डा जनतामा स्थापित गर्ने अभियानमा छौँ।

हाम्रो क्षेत्रमा पर्ने सबै ठाउँबाट हाम्रो गाउँमा, हाम्रो वडामा आइदिनुपर्यो भनेर खबर आइरहेको छ। म भ्याएसम्म सबै ठाउँमा पुग्ने कोसिस गरिरहेको छु। म पुग्न नसकेका ठाउँमा पनि साथीहरुले अभियान चलाइरहनु भएको छ। वडाभेला, गाउँभेलाका कार्यक्रम भइरहेका छन्। विस्तारै निर्वाचनको माहोल बन्दै छ।

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदा पनि तपाईंले निकै राम्रो मत ल्याउनुभएको थियो। त्यो चुनावको समीक्षा कसरी गर्नुहुन्छ?
त्यतिबेला एक्लै थिएँ। एक्लै हुँदा पनि जनताले मलाई विश्वास गर्नुभयो। त्यतिबेला एक्लै निर्वाचन अभियानमा होमिँदा पनि १२ हजार ८६ मत ल्याएको थिएँ। जनताको विश्वासलाई म सम्मान गर्छु। अहिले निर्वाचन लड्दै गर्दा त्यो मत मेरो लागि प्रेरणाको स्रोत बनेको छ।

अघिल्लो निर्वाचनमा माओवादी नेता रामेश्वर रायसँग प्रतिस्पर्धा गर्नु भएको थियो। त्यतिबेला यो क्षेत्रबाट उहाँ निर्वाचित नुभयो। यो निर्वाचनमा तपाईंकै कारण उहाँले टिकट नपाएको चर्चा छ। उहाँले तपाईंलाई सहयोग गर्नुहोला?
किन सहयोग नगर्नु? यो निर्वाचनमा मलाई उहाँको पूर्ण सहयोग र साथ रहने छ। मेरो कारण उहाँले टिकट नपाएको होइन। उहाँ आफैँले मेरो लागि मैदान खाली गरिदिनु भएको हो। उहाँ पार्टीले गरेको निर्णयभन्दा बाहिर जानुहुन्न। उहाँको पूर्ण साथ र सहयोग मलाई छ।

माओवादी प्रवेश गर्दा र टिकट पाउँदा अध्यक्ष प्रचण्डसँग तपाईंको के समझदारी भएको छ?
खासै समझदारी केही छैन। उहाँसँग पुरानै चिनजान हो। निर्वाचन जित्न ठूलो र नाम चलेको नेता भएर मात्र हुँदैन। जनतामाझ भिजेको, मन जितेको हुनुपर्छ। जनताको सुख, दुःखमा साथ दिएको ‘लिडर’ हुनुपर्छ। सायद उहाँले मलाई त्यस्तै पाउनु भयो होला। नरेन्द्र साहलाई टिकट दियो भने निर्वाचन जित्न सहज होला भन्ने लागेर नै विश्वास गर्नु भएको हुनसक्छ। केन्द्रीय सदस्य माया वल, हरिवनका मेयर कमल बुढाथोकी, बागमतीका मेयर भरत थापा, वरहथवाका पूर्व मेयर देवानन्द महतोसहित जिल्ला पार्टीका नेताहरुले पनि मेरो नाम लिएपछि उहाँलाई निर्णय गर्न अझै सहज भयो होला।

यो क्षेत्रमा तपाईंका मुख्य प्रतिस्पर्धी एमालेका हरि उप्रेती देखिनुभएको छ। उहाँ यो क्षेत्रको राजनीतिक खेलाडी मानिनु हुन्छ। उहाँसँगको प्रतिस्पर्धा तपाईंलाई भारी पर्दैन?
(हाँस्दै) त्यस्तो भारी पर्ला जस्तो मलाई लागेको छैन। बरु उहाँलाई चाहिँ नरेन्द्र साह भारी पर्ने हल्ला तपाईंले बजारमा सुन्नु भएको होला। यो क्षेत्रमा उहाँले भन्दा धेरै काम मैले गरेको छु। २०७० सालमा सांसद भएर होस् वा ०७४ मा उम्मेदवार भएर। यो क्षेत्रका जनतामा नरेन्द्र साह चिर परिचित नाम हो। पराजित हुँदा पनि मैले पाँच वर्ष जनताकै बीचमा रहेर काम गरेँ। विकास निर्माणका काममा सघाएँ। जनताको सुख दुःखमा साथ दिएँ।

तपाईंले हरिजीलाई राजनीतिक खेलाडी भन्नु भयो। तर, म त्यो मान्ने पक्षमा छैन। आफ्नो घर र आफूले निर्वाचन लड्ने क्षेत्रमा समेट्न नसक्ने मान्छेलाई कसरी राजनीतिक खेलाडी भन्ने? उहाँले आफ्नो वडालाई समेत आफ्नो निर्वाचन क्षेत्रमा पार्न सक्नु भएन। यसले पनि उहाँको क्षमता देखाउँदैन र? उहाँको घर भएको बरहथावा नगरपालिका-१५ पिप्राभित्ता अहिले सर्लाहीको ४ नम्बर क्षेत्रमा पर्छ। जब कि बरहथवा नगरपालिकाका अधिकांश वडा यो क्षेत्रमा पर्छन्। ठूलो पार्टीको ठूलो नेताले आफ्नो वडालाई आफू निर्वाचन लड्ने क्षेत्रमा समेट्न सक्नुपर्ने हो नि! उहाँमा त्यति सामान्य क्षमता पनि देखिएन। उहाँले यो क्षेत्रमा कुनै पनि विकास निर्माणका कामको अगुवाइ गर्न सक्नु भएको छैन। तपाईं हेर्दै जानुस्, दोब्बर भन्दा बढी मतान्तरले म यो क्षेत्रमा विजयी हुनेछु।

सर्लाही ३ को संघमा तपाईं वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार हुनुहुन्छ। तपाईंकै क्षेत्रको प्रदेशसभा ‘क’मा गठबन्धनका उम्मेदवार डिल्ली उप्रेतीविरुद्ध माओवादीकै जवाहरलाल कुशवाहाले बागी उम्मेदवारी दिनुभएको छ? यसले गठबन्धनको मत प्रभावित हुँदैन?
म गठबन्धनको साझा उम्मेदवार हुँ। प्रदेश तर्फ ‘क’ मा नेकपा एकीकृत समाजवादीका नेता डिल्ली उप्रेती र  ‘ख’ मा कांग्रेस नेता हरेश महतो हाम्रो आधिकारिक उम्मेदवार हुनुहुन्छ। गठबन्धनका सबै दलका आधिकारिक उम्मेदवारकै पक्षमा लाग्नु हुनेछ। माओवादीका मतदाता सबैले उहाँहरुलाई नै मतदान गर्नु हुनेछ। हामी सबै मिलेर अभियान सञ्चालन गर्ने छौँ। स्वतन्त्र उम्मेदवारको कारण मत प्रभावित हुन दिदैनौँ।

सर्लाही ३ मा तपाईंले चुनाव जित्ने आधार के–के छन्?
पहिलो आधार भनेको म वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुँ। दोस्रो आधार, यो क्षेत्रमा माओवादी आफैँ बलियो शक्ति हो। तेस्रो आधार, मैले यहाँ निरन्तर काम गरिरहेको छु। जनताका दुःख, कष्ट, अभाव र समस्या पर्दा घरदैलोमा पुगेको छ।

अघिल्लो निर्वाचनमा कांग्रेसको तर्फबाट संघमा झण्डै १५ हजार मत ल्याउने नेता हरेश महतोजी र निवर्तमान प्रदेश सांसद डिल्ली उप्रेतीजी पनि यतिबेला हामीसँगै हुनुहुन्छ। माओवादी, कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टीको साथ मलाई छ। गठबन्धनको मर्मअनुसार प्रदेशमा हामीले डिल्ली र हरेश जीलाई सघाउने, संघमा उहाँहरुले हामीलाई सहयोग गर्ने समझदारी छ। त्यसमा तलमाथि हुँदैन। र, हुन सक्दैन।

अर्कोतर्फ, म सर्लाही ३ को लागि नयाँ मान्छे होइन। म यहिँ जन्मिएको, हुर्किएको, यहिँको भूमि पुत्र हुँ। किसानको छोरा हुँ। म यहाँका जनतासँग परिचित छु। सुख, दुःखमा सँगै छु। मसँग सर्लाहीको विकासको ठोस योजना र दृष्टिकोण छन्। मेरो चुनाव जित्ने आधार भनेका यिनै हुन्।

तपाईं निर्वाचित हुनुभयो भने सर्लाहीको विकास योजना के छन्?
सर्लाहीबाट धेरै नेताहरु मन्त्री र सांसद हुनुभयो। मेरो विचारमा सबैभन्दा धेरै मन्त्री र सांसद पाउने जिल्ला नै सायद सर्लाही नै होला। तर, उहाँहरुले यहाँको विकासको लागि केही कामै गर्न सक्नु भएन। यो मैले कसैप्रति आरोप लगाएको मात्रै होइन, यहाँको वास्तविक यथार्थ नै यही हो।

हाम्रो नेतृत्वले कसरी काम गर्छ तपाईंहरुले बागमती नगरपालिकालाई हेरे हुन्छ। १० वर्षअघि बागमती कस्तो थियो, आज कस्तो बनेको छ, हामी सबैले देख्न सक्छौं। भरत थापाजी बागमतीको नेतृत्वमा आएपछि यहाँको भौतिक विकासले तीव्रता पाएको छ। अहिले स्वदेश तथा विदेशमा पनि मानव निर्मित भरत तालको चर्चा छ। दैनिक हजारौँ मानिस यहाँ घुम्न आउँछन्।

हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले पनि अहिले विकासका त्यस्तै स्पष्ट भिजन लिएर आउनु भएको छ। जनताको मन जित्न बोलेर होइन काम गरेर देखाउनु पर्छ। कामका योजना हामीसँग छन्। भौतिक विकास, शिक्षा, स्वास्थ्य र नागरिकको दैनिक जीविकालाई केन्द्रमा राखेर सर्लाहीमा विकास निर्माण र रोजगारीको क्षेत्रमा हामी कामको नेतृत्व गर्ने छौँ। बरहथवा नगरपालिका वडा नम्बर ११ मा मेरै पहलमा धर्मशाला र मधेस प्रदेशकै नमूना संग्रहालय बन्दैछ। म निर्वाचित भएपछि सर्लाहीमा तपाईंहरुले विकासको नमूना देख्न पाउनु हुनेछ। त्यो विश्वास म दिलाउन चाहन्छु।

अघिल्लो निर्वाचनमा तपाईंले धेरै खर्च गर्नुभयो। यो निर्वाचनमा पनि चुनाव जित्न तपाईं त्यसैगरी खर्च गर्दै हुनुहुन्छ भन्ने हल्ला विपक्षीहरुले चलाएका छन् नि। यसको खण्डन कसरी गर्नुहुन्छ?
कहाँबाट ल्याउनु धेरै खर्च गर्ने रकम? हल्ला गर्नेको मुख थुन्न सकिँदैन। अघिल्लो निर्वाचनमा पनि मैले धेरै खर्च गरेको होइन। निर्वाचन आयोगले तोकेको खर्चको सीमा भित्रै रहेर सबैले चुनाव लड्नुपर्छ। कसैले धेरै खर्च गरेर चुनाव जित्ने सोचेको छ भने त्यो दिवा सपना मात्रै हो। पैसा खर्च गरेर जनताको मन जित्न सकिँदैछ।

गएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा माओवादीले पाएको मत तपाईंको जितको लागि पर्याप्त हुन्छ?
यो क्षेत्रमा माओवादी केन्द्र बलियो छ, तर जितको लागि त्यो मत मात्रै पर्याप्त हुँदैन। म गठबन्धनको साझा उम्मेदवार हो। स्थानीय तह चुनावमा गठबन्धनका दलले पाएको मत भन्दा धेरै मत यो निर्वाचनमा मैले प्राप्त गर्ने छु। मेरो अनुमानमा विपक्षी उम्मेदवार भन्दा दोब्बर बढी मतान्तरले म विजयी हुने छु। त्यो भनेको ५१ हजार भन्दा धेरै मत मेरो पक्षमा खस्ने छ।

गठबन्धनका अन्य दलका नेता कार्यकर्ताको सहयोग तपाईंलाई कस्तो छ? गठबन्धनका दलको मत तपाईंले पाउनु होला?
गठबन्धनका सबै दलबीच यो क्षेत्रमा राम्रो सहकार्य छ। हामी सबै एक ढिक्का चुनावमा गएका छौँ। गठबन्धन दलको शतप्रतिशत मत मेरो पक्षमा खस्ने विश्वास मैले लिएको छु। स्वतन्त्र मतदाता पनि मेरो पक्षमा खुलेर लाग्नु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .