ad ad

अन्तर्वार्ता


मधेशमा बहुमत सिट चाहिन्छ, पेल्न खोजे गठबन्धन छाड्छौँ : रामसहाय प्रसाद यादव (अन्तर्वार्ता)

राजनीतिक भविष्यका लागि तालमेलका सबै विकल्प खुल्ला
मधेशमा बहुमत सिट चाहिन्छ, पेल्न खोजे गठबन्धन छाड्छौँ : रामसहाय प्रसाद यादव (अन्तर्वार्ता)

जसपा नेता एवम् सत्ता गठबन्धन कार्यदलका सदस्य रामसहायप्रसाद यादव।


सागर न्यौपाने
भदौ २४, २०७९ शुक्रबार १५:४२, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले २३ भदौमा मधेश प्रदेशको पर्सा पुगेर प्रतिनिधि सभा र प्रदेश सभामा सम्मानजनक सिट नपाए धेरै सोच्न बाध्य हुने बताए।

सत्ता गठबन्धनको एक घटक जसपाले मधेश प्रदेशमा धेरै सिट दाबी गरेको नेपाली कांग्रेसको आरोप छ।

कांग्रेसका नेताहरु मधेश प्रदेशमा ६० प्रतिशत सिट आफैंले पाउनुपर्ने पक्षमा छन्। अहिले उनीहरु गठबन्धनमा त्यहीअनुसार लबिङ पनि गरिरहेका छन्।

तर, आफ्नो राजनीतिक आधार क्षेत्र नै मधेश भएकोले धेरै सिट आफैँले पाउनुपर्ने जसपाको प्रस्ताव छ।

गठबन्धनले बनाएको कार्यदल बैठकमा जसपाले ३२ सिट दाबी गरेको छ। तर, अहिलेसम्म उसलाई त्यो संख्या दिने विषयमा सहमति जुटेको छैन।

जसपाले भने सम्मानजनक सिट नपाए गठबन्धन छोड्ने सक्ने संकेत गरिसकेको छ।

गठबन्धनले बनाएको कार्यदलले २३ भदौमा शीर्ष नेताहरुलाई रिपोर्ट बुझाएको छ। कुनै सिट संख्या पनि टुंगो लगाउन नसकेपछि कार्यदलले रिपोर्ट मात्रै बुझाएको हो।

सहमति जुटाउन आज (२४ भदौ) मा शीर्ष नेताहरुसहित कार्यदलको बैठक बस्दैछ। 

जसपाले मागेको सिट कति हो? किन कुरा मिल्न सकेको छैन? यही विषयमा नेपालखबरले जसपाका नेता तथा कार्यदल सदस्य रामसहायप्रसाद यादवसँग गरेको संक्षिप्त कुराकानी :

सत्ता गठबन्धनमा जसपाकै कारण कुरा मिल्न नसकेको कांग्रेसले बताइरहेको छ, तपाईँहरुले नमान्नुभएकै हो? 
हाम्रो कारण यो गठबन्धन बनेको हो। हाम्रै पहलले गठबन्धनमा कांग्रेस, माओवादी र नेकपा एमालेको विद्रोही समूह (नेकपा एकीकृत समाजवादी) पनि मिसिएको हो। नमिल्ने भए हामी गठबन्धन बनाउन प्रयत्न गर्ने थिएनौं। हामीले भनेको के हो भने, सम्मानजनक सिट बाँडफाँट गरेर सहमतिबाट चुनावमा जाऊँ। सबै मिलेर धेरै सिट जित्नुपर्छ। 

त्यसो भए जसपाले प्रतिनिधि सभामा कति सिट दाबी हो त?
हामीले दाबी गरेको ३२ सिट हो। हाम्रो आधार क्षेत्र सबै हेर्दा त्यति चाहिन्छ भन्ने हो। 

तर, फेरि सहमतिमा आउँदा त मिल्नुपर्छ । मिलेर चुनावमा जाने भएपछि यति नै चाहिन्छ भनेर भएन, समझदारी बन्नुपर्छ । 

भन्नाले तपाईंहरु जति पनि घट्न तयार हो?  
जति पनि भन्ने कसरी हुन्छ? हाम्रो सांगठनिक अवस्था, स्थानीय तहमा पाएको मत, अघिल्लो (२०७४) को प्रतिनिधि सभामा जितेको सिट सबैलाई आधार बनाएर संख्या मिलाउने हो। समझदारीमा आउँदा केही तलमाथि हुनसक्छ।

तर, कांग्रेसले त तपाइँहरुकै कारण मिलेन, उहाँहरुले धेरै दाबी गर्नुभयो, त्यो दिन सकिँदैन भनेको रहेछ होइन? 
कांग्रेसले दिने हो र? कांग्रेसको पकेटमा छ र? गठबन्धनमा कांग्रेस पनि एउटा घटक हो । उसले यति सिट दिने, उति लैजाऊँ भन्ने अधिकार कसरी पाउँछ? कांग्रेसको छुट्टै अधिकार के छ र गठबन्धनमा? यसरी कुनै पनि दललाई यति लैजाऊ, उति लैजाऊ भन्न उसले पाउँदैन, मिल्दैन। गठबन्धनमा भएकाले कांग्रेसले मिलाउने इनिसियसन लिने हो, आदेश दिने, होइन।

सबै मिलेर सहमतिमा सिट बाँडफाँट गरेर चुनावमा जाने र पछि सरकार बनाउने भनेको पो हो त। यो त जेनेरल अन्डरस्ट्यान्डिङ हो । 

तपाईंहरुले ३२ सिट नै मागेपछि कांग्रेस बिच्किए जस्तो छ है? 
हाम्रो संगठनात्मक अवस्था हेरेर भनेका हौँ। हामीले सबै प्रदेशमा भनेका पनि छैनौँ। प्रदेश १ मा दुईवटा र मधेश प्रदेशमा बहुमत सिट हामीलाई चाहिन्छ। मधेशमा हाम्रो राजनीतिक आधार गठबन्धनमध्ये सबैभन्दा बढी हाम्रो बलियो छ। 

त्यहाँ हाम्रो पार्टीको संगठनात्मक अवस्था बलियो छ। स्थानीय तहको चुनावमा हामीले जितेको संख्या, अहिलेको हाम्रो अवस्था हेर्नुपर्यो। मधेश प्रदेशमा हामी बलियो मात्रै होइन, पहिलो पनि छौँ। यही बलियो आधार भएर मिलेर जानुपर्ने भनेका छौँ। हामीले हाम्रो प्रस्ताव र पोजिसनबारे कार्यदल र शीर्ष नेताको बैठकमा राखिसकेका छौँ। आज बैठक बस्दैछ । हेरौँ।

अहिलेसम्मको शीर्ष बैठकमा पनि कुरा मिल्ने अवस्था देखिएको छैन, होइन र?  
सहमतिको प्रयास आजको बैठकमा पनि हुन्छ। शीर्ष नेतृत्वले मिलाउँछौँ भन्नुभएको छ। केही न केही पहल होला।

भएन भने जसपाले के गर्छ?
हामीसँग धेरै विकल्प छ। गठबन्धनमै सहमति जुटाउने प्रयास हुन्छ। हदैसम्म लचक हुन्छौं, तर हदै भनेको हामीलाई पेल्ने मात्रै होइन।

पेल्न खोजे र सम्मानजनक सिट पाएनौं भने मधेश हाम्रो आधार क्षेत्र हो, हामीसँग अरु थुप्रै विकल्प छन्।  हामी जस्तोसुकै विकल्पका लागि तयार छौं। तर, गठबन्धन हाम्रो पहलमा बनेकोले यहीँबाट कुरा मिलाउने प्रयत्न गर्छौँ।

लचक हुने कुरा गर्नुभयो, तपाईँहरू कतिसम्म झर्न तयार हो? 
भित्तामा पुर्‍याउने र पेलिनेगरी, आफ्नै संगठन कमजोर बनाउन लचक हुँदैनौँ। राजनीतिक हैसियत खोज्न थालिए हैसियत देखाउन तयार छौँ। हाम्रो राम्रो हैसियत मधेश र प्रदेश १ मा छ । पेल्न खोजे त राजनीतिक भविष्यका लागि धेरै विकल्पमा जानुपर्छ। 

हामीले गठबन्धनबाट चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छौँ । स्थानीय चुनावमा गठबन्धनबाट जाँदा राम्रो नतिजा आएको छ, त्यो पनि हेरौँ। हाम्रो कुरा यति हो– सिट बाँडफाँट सम्मानजनक हुनुपर्यो। 

गठबन्धनभित्र मिलेको छैन, एमालेसँग कुरा भइरहेको होला नि?
अहिलेसम्म एमालेसँग कुरै भएको छैन, कहीँ कतै कुरा भएको जानकारी पनि छैन। 

पार्टीबाट निर्णय भएर गठबन्धनमा छौँ त्यसबाहेक एमालेसँग चुनावको विषयमा केही छलफल भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .