ad ad

अन्तर्वार्ता


देउवाविरुद्ध उम्मेदवारी दिन्छु, एमालेसँग तालमेल हुन्छ : कर्ण मल्ल (अन्तर्वार्ता)

देउवाविरुद्ध उम्मेदवारी दिन्छु, एमालेसँग तालमेल हुन्छ : कर्ण मल्ल (अन्तर्वार्ता)

कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल। तस्बिर : गोकुल जोशी/नेपालखबर


गोकुल जोशी
भदौ ७, २०७९ मंगलबार १९:४८, कञ्चनपुर

नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्ल प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवासँगको सम्बन्धका कारण बारम्बार चर्चामा आइरहने नेता हुन्।

नेपाल विद्यार्थी संघको राजनीतिमा रहँदा मल्लले वि.सं. २०४८ सालदेखि देउवाको सामिप्यता पाएका थिए। त्यसकै कारण मल्लले राजनीतिमा अवसर पाएर डडेल्धुरा कांग्रेसमा बलियो नेताका रुपमा दरिए।

०५२ सालमा देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा सहयोगीका रुपमा देउवासँगै बसेका मल्लले दुई कार्यकाल डडेल्धुरा कांग्रेसको सभापतिको जिम्मेवारी सम्हाले। ०७४ सालको चुनावमा डडेल्धुराबाट १ (२) बाट जितेर प्रदेश सांसद बनेका मल्ल कांग्रेसको अधिवेशन बेला आफूनिकट क्रियाशील सदस्यताको नाम काटिएपछि देउवासँग रुष्ट बने।

देउवाले माग सम्बोधन नगरी सभापति समेत रहेका मल्ललाई पेलेरै डडेल्धुरामा अधिवेशन गराएर आफूनिकटलाई सभापति बनाएपछि मल्ल टाढिएका थिए। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनले एमालेसँग मिलेर देउवालाई चुनौती दिए।

एमालेसँग मिलेपछि मल्ललाई दोस्रो पटक देउवाले साधारण सदस्य नरहने गरी कारबाही गरेका थिए। अहिले मल्ल नेपाली कांग्रेस बीपीमा प्रवेश गरेर वरिष्ठ उपसभापति बनेका छन्। संगठन विस्तारमा सक्रिय उनी आगामी प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबाट देउवालाई चुनौती दिने योजनामा छन्। 

यद्यपि उनले त्यसको औपचारिक घोषणा गरेका छैनन्। उनै मल्लसँग आगामी चुनावी योजना, पार्टीले गरिरहेको कामकारबाही लगायत विषयमा केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेका छौँ। प्रस्तुत छ कुराकानीको सम्पादित अंशः 

आजभोलि निकै दौडधूपमा हुनुहुन्छ, अहिले कांग्रेस बीपी के गर्दैछ? 
स्थानीय तहको निर्वाचन समीक्षा गरेर अहिले कांग्रेस बीपीले देशभर नै कमिटी विस्तार गरिरहेको छ। देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा आफ्ना निर्वाचन क्षेत्र कार्यालय स्थापना गर्ने, सबै जिल्ला र प्रदेशमा तदर्थ समिति बनाइरहेका छौँ। 

आगामी निर्वाचनबाट कांग्रेस बीपीलाई राष्ट्रिय पार्टी बनाउने लक्ष्यसहित त्यसअनुरुपको काममा लागेका छौँ। यसपटकको चुनावमा देशभर नै कांग्रेस बीपीले उम्मेदवारी दिने योजना बनाएको छ। 

स्थानीय तहको निर्वाचन परिणामलाई कसरी लिनु भएको छ? 
कुनै पूर्व तयारीबिना अचानक कांग्रेस बीपीको ‘करुवा’ चुनाव चिह्न लिएर जनताबीच गएका थियौं। बिनातयारी चुनावमा जाँदा पनि राम्रो परिणाम आएको छ। 

डडेल्धुरामा नेकपा (एमाले) सँग तालमेल गरेर चुनावमा सहभागी भयौँ। करुवा र सूर्य चुनाव चिन्हको समीकरण बनायौँ। त्यसलाई जुन ढंगले नेतृत्व तहबाट प्रभावकारी बनाउनु पथ्र्यो, त्यसमा हामी नेतृत्वकर्ता चुक्यौँ। 

त्यसमा मेरो पनि केही कमजोरी रह्यो होला। संगठन प्रभावकारी बनाउन नसक्दा अपेक्षाकृत परिणाम आउन सकेन। 

प्रधानमन्त्री जो नेपाली कांग्रेस सानेपाको सभापति हुनुहुन्छ। उहाँले डडेल्धुराका मतदातालाई रुखमा मतका लागि झुक्याउने, अल्झाउने, आश र त्रासमा मतदान गराउनु हुन्थ्यो, त्यसलाई निरन्तरता दिनुभयो।

उहाँले हरेक मतदाताको मूल्य नै तोक्नुभयो। जसरी दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डको टाउकाको मूल्य तोक्नुभएको थियो। त्यसैगरी डडेल्धुराका हरेक मतदाताको टाउकाको मूल्य तोकेर आफ्ना संरचना, आफन्त, कार्यकर्तामार्फत पैसा बाँड्नु भयो। 

शेरबहादुर देउवाज्यूले निर्वाचनताका पञ्चेश्वर, पश्चिम सेती बनाउने सपना फेरि उजागर गर्नुभयो। डडेल्धुरामा आधुनिक बसपार्क, अत्याधुनिक सभाकक्ष, सबै सडक चौडा बनाउने, एक वडामा ५ अर्बका दरले बजेट दिने, मेडिकल कलेज, टेक्निकल कलेज बनाउने, एयरपोर्ट बनाउने, त्यहाँका सबै नागरिकलाई रोजगार दिने आश्वासन दिनुभयो। 

गोदावरीमा तोकिएको सुदूरपश्चिमको राजधानी डडेल्धुरा ल्याउँछु मत देऊ भन्ने अभिव्यक्ति प्रधानमन्त्रीले दिनुभयो। मुलुकको अर्थतन्त्र, संविधानलाई चुनौती दिएर यस्ता आश्वासन देखाएपछि त्यसकै जालझेलमै परेर त्यहाँ सोझा साझा मतदाताले झुक्किएर मतदान गरेका हुन्। यसका बाबजुत हामीले स्थानीय तहको परिणाम सहजै ग्रहण गरेका छौँ।

मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तोकिएको छ, यो निर्वाचनमा पनि तपाईंले  भनेझैँ जालझेल भयो भने नि? 
हामी स्थानीय तहको निर्वाचन समीक्षा गरेर नयाँ रणनीतिका साथ चुनावमा जान्छौं। निर्वाचनमा उपयुक्त उम्मेदवार चयन गर्छौँ। यो भदौ २३ गतेभित्र सक्ने तयारी छ। भदौ २४ गते बीपी जयन्तीमा निर्वाचनसम्बन्धी योजना सार्वजनिक गर्ने छौँ। विगतका कमजोरी सुधार गर्दै अगाडि बढ्छौँ। 

स्थानीय निर्वाचनमा डडेल्धुरामा एमालेसँग तालमेल गर्नु भएको थियो। प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पनि तालमेल हुन्छ? 
त्यो स्वभाविक रुपमा हुन्छ। सत्ता गठबन्धनको नेतृत्व सानेपा कांग्रेसका सभापति शेरबहादुर देउवा गरिराख्नु भएको छ। उहाँले गठबन्धन किन पर्ने छ? 

उहाँले प्रचण्डको टाउकोको मूल्य तोक्नु भएको थियो। उनै प्रचण्डले कैलालीको मसुरियामा शेरबहादुर देउवालाई मार्न खोजेका थिए। 

यी दुवै मिल्नुको कारण के त? डा. बाबुराम भट्टराई, ‘एक मधेश, एक प्रदेश’ हुनु पर्छ भनेर आन्दोलन गर्ने उपेन्द्र यादवसँग मिल्नुको कारण के ? 

एमालेबाट ०४६/४७ को आन्दोलनमा सशस्त्र आन्दोलन गर्नुपर्छ भन्ने नेता माधवकुमार नेपाल एमाले फुटाएर एकीकृत समाजवादी खोलेपछि देउवासँगै मिल्नुपर्ने कारण के? 

यी सबैको एउटै कारण हो– देशलाई सिक्किमकरणतर्फ लैजानु। त्यसका तीनवटा उदाहरण देखिएका छन्, एमसीसी पास, एसपीपी गोप्य राख्नु र नागरिकता विधेयक संसदबाट पास गर्नु। त्यसको नेतृत्व शेरबहादुर देउवाजीले गरिराख्नु भएको छ। त्यसकै कारण देशभरका कांग्रेसका धेरै साथीहरु विद्रोह गरिरहेका छन्। 

देउवा र प्रचण्डले नै सत्ताकै नेतृत्व गरिराख्नु पर्ने के कारणले? देउवाजी प्रधानमन्त्री भएको १७ औं दिनमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिम्पियाधुरा, लिपुलेक र कालापानीभित्र सडक कालोपत्रे गर्दैछौँ, चीनको सीमानासम्म चाँडै पुग्दैछौँ भन्दै गरेको भूगोल नेपालको चुच्चे नक्सा भित्र पर्छ। त्यसमा उहाँ किन बोल्नुभएको छैन।

आफ्नो कार्यकालमा केपी शर्मा ओलीले जबरजस्त ढङ्गबाट संसदबाट सर्वसम्मत चुच्चे नक्सा पास गर्नु भयो। जसमा देउवा, प्रचण्ड, बाबुराम, माधव नेपाल, उपेन्द्र सबै नेताहरुले हस्ताक्षर गरेका छन्।

उनीहरुकै सहमतिमा केपी ओलीलाई विस्थापित गरेर कांग्रेसका सभापति देउवा प्रधानमन्त्री हुँदा भारतीय रक्षामन्त्रीले चुच्चे नक्साबारे बोल्दा उहाँहरु किन बोलिरहनु भएको छैन? 

देशको अर्थतन्त्रमा खुलेआम ब्रह्मलुट मच्चाएका छन्। त्यही अनुसारको बजेट बनाएका छन्। यही चिजको निरन्तरताका लागि हो गठबन्धन। यो राष्ट्र, जनता, नेपाली भूमि, जनताको स्वाभिमानविरुद्ध देउवाको गठबन्धन निर्वाचनमा जाँदैछ। 

स्वभावतः केपी ओलीजीले नेतृत्व गरिरहँदा उहाँका कमीकमजोरीबारे मैले पनि सडक र सदनमा प्रतिवाद गरेको हुँ। तर, जहाँ राष्ट्रियता, जनजीविका र स्वाभिमानको सवाल आउँछ, तुलनात्मक रुपमा यो गठबन्धनविरुद्ध केपी ओलीले नेतृत्व गर्दै गर्दा कांग्रेस बीपी लगायत दलहरु स्वभाविक रुपमा उहाँको नेतृत्वमा एक भएर निर्वाचनमा जाने सम्भावना देख्छु। 

तपाईं डडेल्धुराबाट देउवाविरुद्ध चुनाव लड्ने चर्चा छ नि? 
मैले प्रतिनिधि सभा चुनाव लड्ने वा नलड्ने अझै निश्चित भएको छैन। डडेल्धुराका नागरिकहरूसँग सल्लाह गरेर उहाँहरुको सुझावअनुसार अगाडि बढ्छु। 

यदि प्रतिनिधि सभामा उम्मेदवारी दिनुपर्ने अवस्था आए डडेल्धुराबाटै लड्छु। भदौ २४ गते बीपी जयन्तीका दिन उम्मेदवारी दिने वा नदिने घोषणा गर्छु। देउवाज्यू एमसीसी, एसपीपी र नागरिकता विधेयक ल्याएर विदेशी दलाललाई देश बेच्न लागिरहनु भएको छ। 

२०५१ सालको निर्वाचनबाट हालसम्म उहाँले पश्चिम सेती, पञ्चेश्वरको नारा लगाइरहनुभयो। सुदूरपश्चिमका सबैलाई रोजगारी दिन्छु भनेर ठगिरहनु भएको छ। त्यसैले यसपटक सबै मतदाता मिलेर देउवालाई हराउनुपर्छ, छैटौँ पटक प्रधानमन्त्री हुनुभयो भने उहाँले देश बेच्नुहुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .