ad ad

अन्तर्वार्ता


नागेश कोइरालालाई प्रश्न : अबको पाँच वर्षपछि विराटनगर कस्तो होला?

भन्छन् : एक घण्टामै सेवा लिएर घर फर्किने व्यवस्था मिलाउँछु
नागेश कोइरालालाई प्रश्न : अबको पाँच वर्षपछि विराटनगर कस्तो होला?

सुमन पुरी
जेठ ७, २०७९ शनिबार १५:११, विराटनगर

विराटनगर महानगरपालिकाको मेयरका रुपमा नागेश कोइराला पदभार ग्रहण गर्दैछन्। नेकपा एमालेका सागर थापालाई हराएर मेयर बनेका उनले युनिभर्सिटी अफ बावियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। २०५४ सालमा नेपाल तरुण दल मोरङको कोषाध्यक्ष भएका उनी २०५६ सालमा सभापति भए।  २०६६ सालमा नेपाली कांग्रेस मोरङको कोषाध्यक्ष र २०७२ सालमा सचिवमा निर्वाचित भएका  कोइराला अहिले भने मोरङका उपसभापति समेत छन्। 

रोटरी क्लब अफ विराटनगर मिट टाउनको अध्यक्ष र राउण्ड टेवल–५ विराटनगरको अध्यक्षको जिम्मेवारी पूरा गरेका कोइराला महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्ष भइसकेका छन्। वि. सं. २०३० साल जेठ ३१ गते विराटनगरमा जन्मिएका कोइरालाको कोइराला परिवारसँग राजनीतिक सँगै पारिवारीक सम्बन्ध समेत छ। उनी निर्वाचन अगाडि पनि आफूसँग विराटनगर बनाउने ठूला र महत्वपूर्ण योजना नभएको बताउँथे। 

उनको महत्वाकांक्षी योजना भनेको विराटनगरमा मेट्रो सिटी अस्पताल मात्रै हो। महानगरको शिक्षा, स्वास्थय, खानेपानी र सरसफाइको अवस्था सुधार्ने भन्दै मत माग्दै हिँडेका कोइराला निर्वाचन जितेपछि पनि आफ्नो प्राथमिकता यही भएको दोहोर्‍याइरहेका छन्। उनले महानगरमा करको दर घटाउने र दायरा बढाउने आफ्नो पहिलो योजना भएको बताइरहेका छन्। 

विराटनगरका नवनिर्वाचित मेयर नागेश कोइरालासँग नेपालखबरले कुराकानी गरेको छ।

महानगरको मेयर बन्नु भयो, अब पहिलो काम के हुनेछ? 
मैले पहिले पनि भनिसकेको छु । मेरो पहिलो काम भनेको करको दायरा बढाउने र दर घटाउने हो। महानगरवासीलाई अत्यधिक करको भार लगाइएको छ। महानगरको कर वैज्ञानिक छैन।

व्यपार व्यवसाय गर्नेले त जसोतसो कर तिरिरहेको छ। बैंकमा ऋण खानेहरू बाध्य भएर कर तिर्न महानगर आइरहेका छन्। 

कर रहरले होइन, बाध्यताले तिर्नु परेको छ। यसबाट नागरिक आजित छन्। चुनाव प्रचारका बेला जनतामाझ जाँदा सबैको गुनासो यही छ। 

आम्दानी नहुने तर जग्गा जमिन मात्रै हुने मान्छे महानगरको अस्वाभाविक करका कारण समस्यामा परेका छन्। मेरो पहिलो काम नै विज्ञ टोली राखेर करको दर घटाउने र दायरा बढाउनेमा हुने छ। 

महानगरको विकासका लागि राजश्व चाहिन्छ। यसका लागि अनेक विकल्पहरु छन्। करको दायरा बढाउने ठाउँहरु धेरै रहेको मैले देखेको छु। 

मानिसलाई रहरले कर तिर्न सक्ने अवस्था बनायो भने आफैँ आउँछन्। हामी कर तिर्न प्रोत्साहन गर्ने नीति ल्याउँछौ। 

यसका लागि सबैसँग समन्वय, छलफल गर्ने र योजना बन्ने छ। महानगरको मेयर हुनेबित्तिकै एकल निर्णय गर्ने होइन, सबै कुरा सुनेर निर्णय गर्ने थालनी गर्छु। 

विराटनगरमा डुबानको ठुलो समस्या छ। डुबानको समस्या समाधान गर्ने काम मेरो प्राथमिकतामा रहनेछ। 

जबसम्म डुबानको समस्या समाधान हुन सक्दैन, तबसम्म विराटनगरको विकासले गति लिन सक्दैन भन्ने मेरो बुझाइ हो। प्राथमिकताका साथ डुबान समस्या समाधानमा काम गर्छु। 

तपाईंले कर  घटाउने कुरा गरिरहनु भएको छ। करको दर बढ्दा त महानगरलाई आवश्यक पर्ने आन्तरिक राजश्व संकलन १ अर्ब पुग्न सकेको छैन? 
महानगरमा राजश्व बढाउने अनेक विकल्पहरु छन्। ती विकल्प अहिले खोजी नै गरिएन। खाली व्यापारीलाई न्याक्ने काम मात्रै भयो। कसैले व्यापार वा व्यवसायका लागि लोन लियो भने मात्रै ऊ बाध्य भएर कर तिर्न महानगरपालिका आउँछ। 

विराटनगरमा यस्ता नागरिक हुनुहुन्छ जो बुबा हजुरबुबाले बनाएको घरमा बस्दै आउनु भएको छ। जसको आम्दानीको श्रोत छैन। आम्दानीको श्रोत नभएको कारण कर तिर्न सकिरहनु भएको अवस्था छैन। 

त्यस्ता नागरिकलाई कसरी विराटनगर महानगरपालिकामा कर तिर्नसक्छ भनेर अध्ययन गर्ने र कर तिर्ने वातावरण बनाउने विषय महत्वपूर्ण हो। 

सस्तो कर हुने हो भने त्यस्ता नागरिकलाई सहजै करको दायरामा ल्याउन सकिन्छ। करको दायरा बढाउने र करको दर घटाउने हो भने नागरिक उत्साहित हुन्छन् जस्तो लाग्छ। 

उत्साहित भएर कर तिर्न आउने हो भने महानगरको राजश्व अहिलेको भन्दा दोब्बर बढ्छ। यो मेरो दावी हो।  अहिले करको दायरामा नआएकाहरु कति होलान्। 

दायरामा आए पनि कर नतिर्ने कति होलान्? महानगरले यस बारेमा काम थाल्छ। र, करको दर घटाएर पनि राजश्व वृद्धि हुन्छ। 

यहाँले यसो भनिरहँदा कार्यपालिकामा तपाईंको  बहुमत पुग्दैन। उपप्रमुख लगायत वडाअध्यक्षहरूमा एमालेको बहुमत छ। यस्तो अवस्थामा योजना कसरी कार्यान्वयन गराउने?  
जति पनि जितेर आउनु भएको छ। सबै महानगर बनाउने योजनाका साथ आउनु भएको छ। हिजो उहाँहरु एमालेको प्रतिनिधि हो। म कांग्रेसको प्रतिनिधि हो तर आजबाट भने हामी महानगरका प्रतिनीधि हौँ। महानगर बनाउने कुरामा कसैले अवरोध गर्नुहुन्छ भन्ने मलाई लाग्दैन। यसरी एकले अर्कालाई अवरोध गरेर त्यसरी स्थानीय तह चल्छ भन्ने मान्यता राख्दिनँ। 

स्थानीय तह भनेको स्थानीय मुद्दा, स्थानीय आवश्यकताका विषयसँग जोडिएका एजेण्डा र  नागरिकका समस्यालाई समाधान गर्नेसँग सम्बन्धित छ। 

स्थानीय मुद्दामा यो मान्छे जाँदा त्यसले राम्रोसँग काम गर्न सक्छ भन्ने ठानेर मत दिएर पठाउनु भएको छ।  निर्वाचित भएर आउनु भएका सबै जनासँग हातेमालो गरेर अघि बढ्ने छु। 

गठबन्धनका साथीहरुले निर्वाचनका बनाएका घोषणापत्र मैले, हामीले बनाएका संकल्प पत्र र एमालेका साथीहरुको घोषणापत्र सबैलाई समेटेर अगाडि बढ्ने छु। 

यसरी हातेमालो गरेर अगाडि बढ्दा मात्रै विराटनगरको पुरानो रुप औद्योगिक नगरी, शैक्षिक नगरी, मेडिकल हबको नगरीको पहिचान स्थापित गर्न सक्छ। 

स्वस्थ खानेपानी पिउने नगरीको रुपमा हामीले अघि सारिएका विषयहरु अघि बढ्दै गर्दा मलाई सबै जनाको साथ र सहयोग रहन्छ। 

यो विषय एउटा प्रमुखको मात्र होइन, यो विषय, उपमेयरको, एउटा वडा अध्यक्ष हुँदै वडा सदस्य र नागरिकको विषय हुने भएकोले सबैको साथ हुनेछ। 

महानगरको सेवा प्रवाह स्थानीय सरकार बन्दा पनि सुधार भएन भन्ने आरोप नागरिकको छ। यहाँ मेयर भएपछि कसरी सुधार्नु हुन्छ?
म नागरिकका गुनासाको आधारमा अघि बढ्नु पर्छ। यो काम गर्नको लागि मलाई करिब ६ महिना जति लाग्न सक्छ। 

महानगरपालिकाभित्र अहिले पनि एक खालका मान्छेहरु बसेका छन्। उनीहरुले तत्काल त्यस्ता कामहरु गर्न नदिन सक्छन्। त्यसले गर्दा त्यहाँ भित्रको अबस्थालाई हेरेर नागरिकको सेवालाई बढीमा एक घण्टा भित्र सेवा लिएर घर फर्किने खालको वातावरण बनाउने मेरो योजना छ। 

विराटनगर महानगरपालिकाभित्र हुने भ्रष्टाचार र अनियमिततालाई शून्य बनाउने मेरो प्रयास रहने छ । त्यहाँभित्र अनियमित रुपमा भएका लिकेजलाई बन्द गर्ने र त्यस्ता रकमले  विकास निर्माणसँगै सामाजिक कार्यमा खर्च गर्ने मेरो सोच छ। 

समस्यामा भएका नागरिकलाई सहजीकरण गर्नको लागि सचिवालयलाई बलियो बनाउने र सहजीकरण गर्ने खालको काम तत्काल शुरु हुन्छ। 

सहज रुपमा नागरिकले प्रवेश गरेर हरेक सेवामा सहज रुपमा पहुँच पुग्ने गरि सेवा लिएर जाने वातावरण बनाउने छौँ।  

अबको पाँच वर्षपछि महानगर कस्तो हुन्छ? 
विराटनगरवासीले घरबाट बाहिर निस्किएर बजार जाँदै गर्दा उहाँहरुले महसुस गर्ने खालको विराटनगर बनाउने हो।

फोहोरको दिगो ब्यवस्थापन गर्नुछ। पुन प्रयोग हुने फोहोरलाई पुनर्प्रयोगमा ल्याउने, सड्ने फोहोरलाई त्यही अनुसारको व्यवस्थापन नीति बनाएर करिव १ वर्षभित्र फोहोर व्यवस्थापन गर्छु।

डुबान समस्या समाधानका लागि पालिका, नेपाल सरकारको बजेट पर्याप्त नहुने अवस्थामा  अनुदान खोजेर दातृ निकायसँग समन्वय गर्दै काम थालिने छ। विराटनगरवासीलाई करको भार नहुनेगरी काम गरेर देखाउने योजना बनाउँछौँ।

महानगरमा खानेपानीको व्यवस्था हुन्छ। ५ वर्षभित्र गरिबले सस्तो दरमा उपचार पाउने सुविधासम्पन्न मेट्रो सिटी अस्पताल बन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .