ad ad

अन्तर्वार्ता


भरतपुरको मेयर जितेपछि केजरीवाललाई भेट्छु : विजय सुवेदी (अन्तर्वार्ता)

भरतपुरको मेयर जितेपछि केजरीवाललाई भेट्छु : विजय सुवेदी (अन्तर्वार्ता)

भरतपुर महानगरमा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी। तस्बिर : विक्रम राई/नेपालखबर


सागर न्यौपाने
बैशाख २७, २०७९ मंगलबार १३:५०, चितवन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको आमसभालाई सम्वोधन गरेको दिन नेपालखबरको टोली पनि कार्यक्रमस्थलमै थियो। सभा सकिएपछि एमालेका उम्मेदवार विजय सुवेदीसँग कुराकानीका लागि राति १० बजेतिर समय जुर्यो।

भरतपुरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालसँग  मेयर पदमा प्रतिस्पर्धा गरिरहेका सुवेदीसँग हामीले समसामयिक चुनावी परिस्थितिका बारेमा छोटो कुराकानी गरेका छौँ। 

प्रस्तुत छ भरतपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका दाबेदार सुवेदीसँगको कुराकानीको सम्पादित अंशः  

भरतपुरमा एमालेको भोट कति छ? 
राप्रपाको झण्डै १५ हजार बढी भोट छ भनेर भनिएको छ। त्यो हुनेबित्तिकै हाम्रो झण्डै ५४/५५ हजार मत हुन्छ। त्यसपछि अरु नयाँ ३५ हजार मतदाता नयाँ थपिनुभएको छ। तीमध्ये अधिकांशले हामीलाई मतदान गर्नुहुन्छ भन्ने लागेको छ।

अर्को कुरा, अघिल्लो पटक रेणुलाई भोट दिएका पनि कतिपय मतदाता हुनुहुन्छ, उहाँहरुले अहिले धारणा परिवर्तन गर्नु भएको छ र उहाँहरु हामीलाई मतदान गर्ने मनस्थितिमा हुनुहुन्छ। 

मतदाताले बाहिर मात्रै यहाँहरुलाई वचन दिनुभएको हो कि एमालेलाई नै दिनुहुन्छ भन्ने विश्वास छ?
लिखित प्रतिवद्धता केही छैन। उहाँहरुले मलाई मतदान गर्ने कुरामा समस्या छैन जस्तो लाग्छ। मत दिने भन्ने हामीलाई अहिले उहाँहरुले दिनुभएको सूचना हो। तर, मतदान गरेर जाँदा कसलाई दिए भन्ने व्यक्तिको व्यक्तिको स्वतन्त्रताको कुरा हो, कसैले हनन गर्न सक्दैन। 

चुनाव जित्नका लागि धेरै वटा ‘फ्याक्टर’ले काम गर्छन्। तपाई धेरै वटा चुनाव लडेर आउनुभएको मान्छे.... 
निर्वाचन भनेको माहोल मात्रैले जितिने कुरा पनि होइन। चुनाव जित्नका लागि चुनाव सम्बन्धी रणनीतिहरु हुनुपर्छ। सबै मतदातालाई मतदान गर्न ल्याउने काम गर्नुपर्छ र चुनावका लागि आफ्ना सम्पूर्ण मतदातालाई मतदान स्थलसम्म पुर्याउने गरी तयारी गर्न लगाउनुपर्छ। हाम्रा यी सबै कुरालाई हेरेर मतदान गर्ने मतदाताले आफ्नो धारणा बनाउनुहुन्छ। 

मैले यहाँलाई ‘फ्याक्टर’को कुरा सोधेको। धेरै उम्मेदवार हुनुहुन्छ, मत बाँडिन्छ नै। निर्णायक मतचाहिँ आफूले ल्याउँछु भन्ने आत्मविश्वास ब्यक्त गर्दै गर्दा कुन ‘फ्याक्टर’ छ, जसले तपाईलाई जितको आत्मविश्वास दिएको?
एउटा ‘फ्याक्टर’ चाहिँ नेकपा एमाले हो। अर्को राप्रपाको मत। त्यसपछि अर्को स्वाभाविक ढंगले नेपाली कांग्रेसको मत र माओवादीका पनि केही परिवर्तन चाहने मतदाताको मत पनि हो। 

नेपाली कांग्रेसको पनि भोट आउँछ भन्नुभयो। यसमा असन्तुष्ट पक्षको पनि मत जोड्नुभएको हो?
हैन। असन्तुष्ट पक्ष र सन्तुष्ट पक्ष भन्दा पनि देशमा साँच्चै विकास चाहाने, परिवर्तन चाहनेहरुको मत हो। किनकि, मैले काम गर्दा कसैमाथि पनि पक्षपात हुँदैन। सबैप्रति मेरो समान व्यवहार हुन्छ। पार्टीगत हिसावले मैले कसैलाई फरक व्यवहार गर्ने गरेको छैन। सबैको पार्टी र सिद्धान्तलाई सम्मान गर्छु। भरतपुर महानगरपालिका विकास ठूलो सम्भावना भएको यस्तो ठाउँ संसारमा बिरलै पाइन्छ। 

त्यसैले हामीले सम्भावना भएको ठाउँलाई भविष्यका सन्ततिका लागि सुरक्षित भरतपुर बनाएर हामीले समृद्ध, स्वच्छ, हरियाली र मानवीय भरतपुर महानगर बनाउने निधो गरेका छौँ। र निष्पक्ष एवं सक्रियतापूर्वक काम गर्ने जुन प्रतिवद्धता जाहेर गरेका छौँ, यसले गर्दा विभिन्न विचार समुहमा बाँधिएका व्यक्तिहरुमा पनि यसपटक विजय सुवेदीलाई जिताउनुपर्छ भन्ने सोचमा रहेको मैले पाएको छु। 

तपाईंको अनुभव सुन्न चाहेको, चुनावमा मत दिन्छु भन्ने सबैले दिन्छन्?
प्रत्येक मतदाताले म मत दिन्न चाहिँ भन्नुहुन्न। तर, उहाँहरुले मत दिनुहुन्छ कि हुन्न भन्ने कुरा उहाँको हाउभाउ र प्रस्तुतिबाट थाहा पाइन्छ। दिन्न भन्नुहुन्न, हुन्छ भन्नुहुन्छ। तर, हुन्छ भन्दा पनि उहाँको हाउभाउ हेरेर उहाँको मत आउँछ कि आउँदैन भनेर प्रष्ट छुट्याउन सकिन्छ। मत माग्दा उहाँहरुले देखाएको हाउभाउबाट म ढुक्क छु। महानगरको प्रमुख पदमा जित हासिल हुन्छ भन्ने कुरामा म ढुक्क छु। 

आइतबार क्याम्पाचौरमा भएको चुनावी सभामा तपाईले केजरीवालको एउटा प्रसंग उक्काउनुभयो....
प्रसंग के हो भने मैले एउटा कुरा के चाहेको छु भने मुलुकमा हामीले धेरै राजनीतिक परिवर्तनहरु गर्यौँ। राजनीतिक परिवर्तनपछि पनि मुलुकमा आर्थिक सामाजिक विकास हुन सकेन। अझै पनि संक्रमणकाल जस्तै छ। वास्तविक प्रजातन्त्र आएन।

किनभने, पार्टीले आफ्नो विचार अनुसार उम्मेदवार खडा गर्ने, व्यक्ति आफ्नो इच्छाअनुसार उम्मेदवार हुने र नागरिकले स्वेच्छाले मतदान गर्ने परिपाटी हो। तर, यहाँ जोरजर्बजस्ती कुनै पार्टीको, कार्यकर्ताको इच्छा विपरीत कसैलाई भोट हाल्न बाध्य पार्ने जस्तो स्थिति रहेको छ। त्यसकारण मेरो लक्ष्य भनेको भरतपुर महानगरपालिकालाई समृद्ध बनाउने हो। त्यसका लागि जसले जहाँ, जे सहयोग गर्छन्, हामी त्यो सबै लिन्छौँ। 

अर्को कुरा, भारतमा केजरीवालजीले जुन प्रकारका कामहरु गर्नुभएको छ, जसरी काम गर्नुभएको छ, त्यहाँ कुनै पनि प्रकारको भ्रष्टाचार हुँदैन। त्यहाँ व्यवस्थित तरिकाबाट सेवाको क्षेत्रलाई जुन प्रकारले विस्तार गरिएको छ, हाम्रो राजनीतिको मुख्य कुरा इण्डियासँग हाम्रो सामाजिक, सांस्कृतिक विभिन्न सम्बन्धहरु पनि छ। तर, मैले त्यो कुरा भन्दा पनि उहाँले जुन प्रकारको, जसरी विकास गर्नु भएको छ त्यो हेर्न मन छ, मलाई। त्यो देख्न मन छ। त्यसका कतिपय राम्रा पक्षहरू हामी ग्रहण गर्न सक्छौँ। यसको अर्थ चिनियाँहरुसँग पनि जे सहयोग लिन सक्छौँ, हामी लिन्छौँ। अरु देशसँग पनि लिन्छौँ। निर्वाचित भइसकेपछि हामी केजरीवाललाई भेट्दा उहाँसँग विकाससम्बन्धी जुन ज्ञान छ, हाम्रो पनि ज्ञानको दायरा ठूलो हुन्छ भन्ने मैले सोचेको छु। 

एउटा कुरा मनदेखि भनिदिनु न, यो चुनावी परिणामका बारेमा सोचिरहँदा कत्तिको बोझ र तनाव हुन्छ?
अब दुईवटा कुरा हुन्छन्। जब घरदैलोमा गइन्छ, घरदैलोमा ९०, ९७ वर्षका मानिसहरुले पनि आर्शिवाद दिनुहुन्छ। अरु सबै मान्छेसँग जुन प्रकारको भेट हुन्छ, हार्दिकताको व्यवहार हुन्छ, त्यसबाट आफूलाई बहुतै आनन्दको अनुभूति हुन्छ। त्यो स्वाभाविक कुरा हो। तर, अब जिम्मेवारी, महानगरपालिका निर्वाचित भइसकेपछि महानगरपालिकालाई कसरी राम्रो बनाउन सकिन्छ, कुन कुन विषय राम्रो बनाउन सकिन्छ भन्ने कुराको हिसावले पनि हेर्नुपर्ने हुन्छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा सम्बोधन गर्नुभयो। योभन्दा अगाडि गठबन्धनका तर्फबाट शीर्ष नेताहरुले सम्बोधन गर्नुभयो। चितवनले यसरी राष्ट्रिय नेताहरुलाई तान्नैपर्ने किन होला?
एउटा, नेकपा एमालेका अध्यक्ष केपी शर्माको सबै महानगरमा जाने योजना हो। सोही योजनाअनुसार यहाँ आउनुभएको हो। गठबन्धनका साथीहरुको योजना के हो, उहाँहरु नै जान्नुहोला। हाम्रो त यो नियमित प्रकृया नै हो। उहाँहरुले महानगरपालिका सबैलाई प्राथमिकता दिनुभएको छ। जहाँ–जहाँ महानगरपालिका छ, सबै ठाउँमा जानुभएको छ। त्यसकारणले यहाँ आएर यो महानगरलाई प्राथमिकता दिनु भएकै हो।

उहाँहरुले आफ्नो विचार राख्नुभएको छ, विकासको जिम्मेवारी म लिन्छु भन्नुभएको छ। चितवन देशको केन्द्र भागमा छ। विकासको बढी सम्भावना भएको ठाउँ पनि हो। त्यसैले भविष्यको राम्रो चितवन बनाउनका लागि नेतृत्वले प्राथमिकतामा राख्ने कुरा स्वाभाविक हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .